काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

‘मुलुक गम्भीर संकटमा छ‚ त्यसबाट मुक्त हुन राष्ट्रिय एकता आवश्यक छ’

१४ मंसिर २०८२
अ+
अ-

पोखरा। नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहालले मुलुक गम्भीर राष्ट्रिय संकटमा रहेकाले त्यसबाट मुक्त गर्नुपर्ने बताएका छन्। पोखराको चिप्लेढुंगामा आइतबार आयोजित एकता सन्देश सभामा उनले देशको राष्ट्रिय स्वाधीनता र सुरक्षा कमजोर बन्दै गएकाले सम्पूर्ण देशभक्त, वामपन्थी र कम्युनिस्ट शक्ति एकजुट हुनु अत्यावश्यक भएको बताए।

उनले एमाले र कांग्रेसका ‘दुईतिहाइ’बाट जनताले के हासिल गर्न सके भन्ने प्रश्न उठाउँदै कांग्रेस एमालेका कारण राष्ट्र संकटमा फसेको टिप्पणी गरे। “हामीले राष्ट्र झन्डै धरापमा पुगेको देख्यौँ। सरकारमा हुँदा भ्रष्टाचारविरुद्ध लड्न खोज्यौँ। तर सरकारबाट हटाइयो। भ्रष्टाचारविरुद्ध लड्ने पनि दिइएन। हामीलाई भ्रष्टाचार र राष्ट्रिय स्वाधीनताका लागि लड्न शक्ति पुगेन,” उनले भने।

‘कम्युनिस्ट एकताको अभियान चुनावका लागि मात्रै होइन’
उनले सुरु गरिएको ‘एकता अभियान’ चुनाव जित्ने उद्देश्यका लागि मात्र नभई राष्ट्रको रक्षा, स्वाधीनता संरक्षण र समृद्धिको आधार निर्माणका लागि भएको स्पष्ट पारे। “चुनाव त हामी जित्छौँ, जित्छौं। तर राष्ट्र बचाउन जनताको राष्ट्रिय एकता अनिवार्य छ,” दाहालले भने।

‘चुनाव २१ फागुनमै हुनुपर्छ’
आगामी २१ फागुनमा तोकिएको निर्वाचन हुनै पर्ने भन्दै दाहालले वर्तमान सरकारलाई चुनावी वातावरण निर्माणमा सक्रिय हुन आग्रह गरे। उनका अनुसार सरकार सम्बन्धित पक्षसँग निरन्तर छलफलमा रहेको र चुनाव निश्चित हुने विश्वास दिलाए।

“सरकारले जसको जनाधार बढी छ, उसैलाई बेवास्ता गरेर चुनावी वातावरण बनाएन भने त्यो ठीक हुँदैन। यो सरकार मैले र माधव नेपालले रातभर बसेर सहमति गरेर बनेको हो,” दाहालले भने।

देशमा जनता संगठित र सचेत नभए पुनः ठूलो संकट उत्पन्न हुने चेतावनी पनि उनले दिए। “यदि जनता जागरुक भएनन्, राष्ट्रियताको भावना बलियो बनाएनन् भने देशमा फेरि संकट आउन सक्छ,” दाहालको भनाइ थियो।

सभामा सहभागी कार्यकर्ताले प्रचण्डले उठाएको राष्ट्रिय स्वाधीनता, एकता र चुनावसम्बन्धी मुद्दालाई देश राजनीतिक रूपले संवेदनशील मोडमा पुगेको संकेतका रूपमा लिएका छन्।