काठमाडौँ
००:००:००
४ पुष २०८२, शुक्रबार

१४ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। गोरखापत्र संस्थानले ‘गोरखापत्र एकेडेमी’ सञ्चालन गर्ने भएको छ। नेपाली पत्रकारिताको ऐतिहासिक विरासत बोकेको संस्थानले पत्रकारिता क्षेत्रको गुणस्तर तथा व्यावसायिकता अभिवृद्धि गर्न नेतृत्वदायी भूमिका निर्वाह गर्ने उद्देश्यसहित गोरखापत्र एकेडेमी स्थापनाको निर्णय गरेको हो।

पत्रकारिता क्षेत्रको लागि आवश्यक पर्ने जनशक्ति विकास, समसामयिक विषयमा अध्ययन अनुसन्धान, तालिम, पुस्तक, जर्नल प्रकाशनलगायत कार्य सञ्चालनका लागि एकेडेमी सञ्चालन गर्न लागिएको संस्थानले जनाएको छ। संस्थानका महाप्रबन्धक लालबहादुर ऐरीको अध्यक्षतामा बसेको संस्थान सञ्चालक समितिको १२ मंसिरमा बसेको बैठकले गोरखापत्र एकेडेमी स्थापना गर्ने निर्णय गरेको संस्थानका योजना विभागका निमित्त निर्देशक ताराबहादुर बस्यालले जानकारी दिए।

गोरखापत्र संस्थान ऐन, २०१९ को दफा १७ (६) ले संस्थानको काम कर्तव्य र अधिकार तोकेको छ। महाप्रबन्धक ऐरीको अवधारणाअनुसार स्थापित एकेडेमी उक्त दफाले तोकेको सीमाभित्र रहेर सञ्चालन गरिने बस्यालले जानकारी दिए।

बैठकले गोरखापत्र एकेडेमी सञ्चालनसम्बन्धी कार्यविधि, २०८२ समेत स्वीकृत गरेको छ। कार्यविधिअनुसार एकेडेमीले संस्थानका प्रकाशनको गुणस्तर सुधार तथा जनशक्तिको व्यावसायिक क्षमता विकासका कार्य गर्नेछ। त्यस्तै पत्रकारिताको व्यावसायिक विकासका लागि मिडिया तथा डिजिटल साक्षरता अभिवृद्धि गर्ने, गोरखापत्र संस्थानको आम्दानी अभिवृद्धि गर्न दिगो स्रोत पहिचान गर्ने, सरकारको नीति तथा कार्यक्रम र संवैधानिक निकायका काम कर्तव्य पूरा गर्ने सिलसिलामा उक्त निकायको सहमति र आर्थिक सहभागितामा तालिम सञ्चालन गर्नेलगायत कार्य गर्ने पनि कार्यविधिमा उल्लेख गरिएको छ।

संस्थानका महाप्रबन्धक ऐरीले एकेडेमीमार्फत पत्रकारिताको विस्तारित आयामहरुमा समग्र सञ्चारकर्मीको क्षमता विकास, पाठ्यक्रममा आधारित तालिम तथा प्रशिक्षण कार्यक्रम सञ्चालन गरिने बताए। उनले डिजिटल तथा आमसञ्चार साक्षरता, अध्ययन अनुसन्धान र प्रशिक्षण कार्यक्रम सञ्चालन गर्न एकेडेमी स्थापना गरिएको जानकारी दिए।

एकेडेमी सञ्चालन गर्न संस्थानका अध्यक्ष तथा महाप्रबन्धक संरक्षक रहने गरी एक कार्यदल गठन गरिनेछ। एकेडेमीलाई आवश्यकताअनुसार विषयगत विज्ञ, प्रशिक्षक र परामर्शदाताको ‘रोस्टर’ तयार गरिनेछ। त्यस्तै एकेडेमीले आफ्नो जिम्मेवारी पूरा गर्ने क्रममा सम्बन्धित सरकारी निकाय, विश्वविद्यालय, पत्रकार महासंघ, विशेषज्ञ एवं निजी संस्थाहरुसँग कार्य समन्वय गर्ने, डिजिटल अर्काइभ, ई-लाइब्रेरी, अनलाइन तालिम, डिजिटल प्रकाशन प्रणालीको सुधार तथा विस्तार गर्नेलगायत जिम्मेवारी पूरा गर्ने संस्थानले जनाएको छ।