काठमाडौँ
००:००:००
३ पुष २०८२, बिहीबार

१४ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। काठमाडौँको पशुपति क्षेत्रमा नवदुर्गा (न्याँलाकेगु) जात्रा प्रारम्भ भएको छ।

बाला चर्तुदशीपछिको नवमी र दशमीका दिन पहिलोपटक पाशुपत क्षेत्रको जय बागेश्वरी प्राङ्गणमा नृत्य प्रदर्शन गर्ने गरिएको छ। यसरी जय बागेश्वरीबाट सुरु यस नाच विभिन्न समयमा विभिन्न स्थानमा प्रदर्शन गरिन्छ। सबैले नवदुर्गा जात्रा भनेर चिन्ने यो परम्परा, भक्तपुर नगरको मानव सभ्यतामा आधारित नवदुर्गा भवानीको ङा लाकेगु जात्रा हो। यो नेपालकै लामो जात्राको रुपमा परिचित छ।

यस्ता परम्परा आपसी सांस्कृतिक सहभाव र सद्भावका अद्वितीय उदाहरण हुन्। जात्रा सञ्चालनका विषयमा प्रतिक्रिया दिँदै महानगरपालिकको सम्पदा तथा पर्यटन समितिका संयोजक एवं वडा नम्बर ८ का अध्यक्ष आशामान संगत भन्छन्, “जात्रा सञ्चालनका लागि वडाबाट आर्थिक सहयोग प्रदान गर्ने गरेका छौँ। तर, यसले पुग्दैन। स्थानीय श्रद्धालुबाट पनि आर्थिक सहयोग प्राप्त हुने गरेको छ। जात्रा व्यवस्थापनमा जय बागेश्वरी युवा क्लबले काम गर्ने गरेको छ।”

संगतका अनुसार ११ वर्षसम्म हरेक वर्ष नियमित रुपमा जात्रा सञ्चालन हुन्छ। १२औँ वर्षमा नवदुर्गाको जात्रा हुँदैन। यसको ठाउँमा ललितपुरमा ल्याइने हरिसिद्धिको नाच प्रदर्शन हुन्छ।

जय बागेश्वरीमा नाचका लागि भक्तपुरबाट आएका देवगणहरुको पशुपतिनाथ र पशुपति परिसरमा भएका देवगणसँग भेट भएको छ। यसक्रममा जय बागेश्वरीमा मूल पुजारीले नवदुर्गालाई पूजा दिएर भैरवलाई जल र प्रसाद अर्पण गरेका थिए। पशुपतिको मूल चोकमा देवगणको नाच गरेर भेट गर्ने, गुजेश्वरी देवतालाई नाचका रुपमा भेट गर्ने, दक्षिणतर्फको शिवालय चोकमा मु बां लिकेगु जात्रा गर्ने र पशुपति क्षेत्र विकास कोषबाट पूजा लिने चलन छ। यससँगै जय बागेश्वरीमा नाच प्रदर्शन भएको छ। यी संस्कार हिजो सकिएका छन्।

यी संस्कारसँगै यस वर्षको पहिलो ख जुयगु (बास बस्ने) काम जयबागेश्वरीमा भएको छ।

आज बाराही, महाकालीसहित विभिन्न नाच प्रदर्शन हुनेछन्। श्वेत भैरवले माछा मार्ने नृत्य आजको प्रमुख आकर्षण हुनेछ।

राजा आनन्द देवले भक्तपुर सहरको स्थापना गर्दा आठ दिशामा अष्टमातृका र केन्द्रमा भैरव स्थापना गरेर राज्य बसालेका थिए। तिनै अष्टमातृका देवगणको संयुक्त रुप नै नवदुर्गा भवानीको मूल स्वरुप हो। वर्षभरि आठ महिना मुकुन्डोसहित र चार महिना मुकुन्डोरहित हुने यस जात्राका मुख्य देवगणहरु भैरव, महाकाली, बाराही, कुमारी, गणेश, ब्रह्मायणी, महेश्वरी, वैष्णवी, इन्द्रयणी, दुम्म, सिम्म, श्वेत भैरव, महादेव गरी १३ वटा मुकुन्डोसहितका देवगण हुन्छन्।

तीन थरीका बाजामा तीनजना बाद्यगण, धोमा पोमी, दतिमा पोमी (महालक्ष्मी) र झिमा पोमी गरी तीनजना भण्डारी र एक नकींसहितका देवगण यस जात्राका मुख्य पात्र हुन्।

नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्थाका सल्लाहकार नारायणमान वनमालाका अनुसार जात्राको मूल थलो भक्तपुर नगर हो। नगरका २३ ठाउँमा जात्रा चलाइन्छ। यससँगै काठमाडौँको जय बागेश्वरी, टोखा, साङ्ग्ला, चपली, टुपेक, गोकर्णमा जात्रा चलाउने गरिएको छ। हाडीगाउँमा १२ वर्षमा चलाइन्छ। काठमाडौँकै साँखु र काभ्रेको साँगा, नाला, धुलिखेल, श्रीखण्डपुर, बनेपा, पनौतीमा चलीआएको छ।

जात्रामा महालक्ष्मीको मूर्ति अगाडि ल्याइन्छ। यसलाई बोलीचालीको भाषामा सिफा द्योः भन्ने गरिन्छ। यस मुकुटमा महालक्ष्मीको आकृति कोरिएको हुन्छ। जात्राका सबै नाच देवीका अगाडि नाचिन्छ।

नाच र विशेषता
नाच प्रदर्शनको पहिलो क्रममा भैरवनाथको नाच देखाइन्छ। जसमा सबै देवगण हुन्छन्। सबैले आफ्नो ठाउँबाट नाच प्रदर्शन गर्छन्। दैत्य संहारमा आधारित यो नाचमा भैरवले दैत्यको संहार गरेर मानव जीवनलाई सामान्य बनाएको कथा हुन्छ।

नवदुर्गा देवगण जात्रा तथा मन्दिर व्यवस्थापन संस्थाका सचिव लक्ष्मीप्रसाद वनमालाका अनुसार पहिलो चरणको नाचपछि भैरवसँगै महाकालीको प्रवेश हुन्छ। जसमा भैरव र महाकालीको दाम्पत्य जीवनको आशय, आपसी प्रेम, आपसी भोग प्रदर्शन गरिन्छ। नाचमा पालैपालो सबै देवगणको महापात्र भोग र नाच प्रस्तुत हुन्छ। यसै समयमा कुमारी देवी (सरस्वती) नाचको विषेश महत्व रहेको छ। आफू छोरीचेली भइकन पनि आफूलाई अन्तिममा मात्र महापात्र भोग गराइयो भनेर देवीले गरेको विरह नाचको विशेषता हो। यस नाचलाई ‘कुमारी तुलेगु’ भनिन्छ।

पहिलो चरणको नाचपछि पूर्ण गणेशको मंगल सिद्धि नाच, क्रमशः ब्रह्मयणी, महेश्वरी, कुमारीको नाच र वैष्णवीको धान रोप्ने नाच प्रदर्शन हुन्छ। यी प्रस्तुतिसँगै पहिलो दिनका नृत्यसँगै प्रस्तुतिहरु समापन हुन्छन्।

दोस्रो दिन बिहानै बाराही देवीको नाच प्रदर्शन गरिन्छ। यो नाचबाट धनधान्यको लाभ होस् भन्ने कामना गरिन्छ।

न्याँलाकेगु जात्राको अर्को आर्कषण भनेको सिम्मदुम्म नाच हो। अघिलो दिन सानासाना बालक देवगणहरुले यस दिन बाराही र कुमारीद्वारा दुम्म र सिम्मको रुप लिन्छन्। हिजोका साना गण आज ठूलो भएर भक्तजनबाट दक्षिणा लिन र आशीर्वाद दिन आएको भन्दै नाच देखाइन्छ।

श्रीमान-श्रीमतीबीचको माया, श्रीमानको कर्तव्य, नारीको दायित्वका कथा यस नाचमा देख्न सकिन्छ। यो नाचको ‘ङा लाकेगु’ भाग रोमाञ्चक हुन्छ। दुम्मले माछा समाएर आफ्नी श्रीमती सिम्मलाई खुसी पार्न जिस्क्याउने, भक्तलाई माछाको प्रतीक मानेर लखेट्ने, समाउने भएकाले यो क्षण रोमाञ्चक हुन्छ।

महाकाली नाच महत्त्वपूर्ण भाग हो। यस नाचमा जात्राका मुख्य आकर्षण ‘श्वेत भैरव’ को भूमिका देखाइन्छ। किंवदन्तीअनुसार ‘मुर’ नाम गरेको दैत्यले तीनै लोकमा दु:ख दिएपछि महाकाली स्वयंले दैत्य स्वर्ग, मर्त्य र पाताल जताजता जान्छ, त्यतैत्यतै गएर दैत्यको संहार गरेको कथा नाचमा देखाइन्छ। दैत्यको संहार पछि पनि महाकालीले क्रोध नियन्त्रण गर्न नसकेर सर्वत्र भयावह अवस्था सिर्जना भएको नाचमा देखाइन्छ।

बाजा
नवदुर्गा भवानीको नृत्यमा मुख्य तीनवटा बाजा बजाइन्छ।

यसमध्येको प्रमुख बाजा खिं हो। ढिन्ताल शब्द र सुरमा हुने नवदुर्गा नाच यही बाजाको सुरमा नाचिन्छ। यस बाजालाई नन्दी महाकालका रुपमा पुजिँदै आएको छ। चण्डी नारायणका रुपमा पुजिने तं बाजा मन्त्र संगीतको लयमा नाचिने नाचका क्रममा बजाइन्छ। भृङ्गी महाकालका रुपमा पुजिने क्या बाजा नवदुर्गा नाचमा मात्र बजाइने बाजा हो।