काठमाडौँ। प्रतिनिधिसभा सदस्य निर्वाचनको समानुपातिक प्रणालीतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना भएको छ। निर्वाचन आयोग बहादुर भवन कान्तिपथमा सोमबार कार्यालय स्थापना भएको हो।
कार्यालयको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले उद्घाटन गरे। २१ फागुनमा हुने निर्वाचनको समानुपातिकतर्फको निर्वाचन अधिकृतको कार्यालय स्थापना भएसँगै आयोगको १२ मंसिरको निर्णयअनुसार समानुपातिकतर्फको निर्वाचन अधिकृत तोकिएका आयोगका सचिव महादेव पन्थले सोमबारै जिम्मेवारी सम्हालेका छन्।
समानुपातिक निर्वाचन प्रणालीतर्फ सहायक निर्वाचन अधिकृतका रूपमा आयोगका सहसचिव यज्ञप्रसाद भट्टराई तोकिएका छन्। समानुपातिक निर्वाचन व्यवस्थापनका लागि ४१ कर्मचारी खटिनेछन्।
अर्थमन्त्री रामेश्वरप्रसाद खनाल र कानुनमन्त्री अनिलकुमार सिन्हाले सोमबारै निर्वाचन आयोगमा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त र आयुक्तहरूसँग निर्वाचन पूर्वतयारीको अवस्था र आगामी दिनमा निर्वाचन सम्पन्न गर्न सरकारले आयोगलाई उपलब्ध गराउनुपर्ने सहयोगका विषयमा छलफल गरेका थिए। छलफलमा अर्थमन्त्रीले निर्वाचन सम्पन्न गर्न आयोगलाई आवश्यक पर्ने बजेटको अभाव हुन नदिने प्रतिबद्धता जनाए।
उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसमेतको कार्यभार सम्हालेका कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सिन्हाले निर्वाचन सम्पन्न गर्नका निम्ति आवश्यक कानुनी सहायता उपलब्ध गराउने बताए।