मधेस राजनीति
मधेसका मुख्यमन्त्रीले विश्वासको मत लिन नसके अर्को सरकार बनाउन सर्वोच्चको परमादेश
काठमाडौं। सर्वोच्च अदालतले मधेस प्रदेशमा मुख्यमन्त्रीमा नियुक्ति भएका सरोजकुमार यादवलाई चौबीस घण्टाभित्र विश्वासको मत लिन आदेश गरेको छ। न्यायाधीशहरू हरिप्रसाद फुयाल र नित्यानन्द पाण्डेयको संयुक्त इजलासले आज (सोमबार) परमादेश जारी गरेको हो।
यदि विश्वासको मत लिन नसकेमा अर्को विकल्प अपनाउन आदेशमै उल्लेख छ। विश्वासको मत लिन नसकेमा दुई वा दुईभन्दा बढी दलको समर्थनमा अर्को मुख्यमन्त्री नियुक्तिको बाटो देखाउँदै आदेश गरेको छ। संविधानको धारा १६८(२) बमोजिम सरकार गठन वा मुख्यमन्त्री नियुक्त हुन सक्ने विकल्पतर्फ पर्याप्त अभ्यास नगरी संविधानको धारा १६८ (३) बमोजिम यादव मधेस प्रदेश सरकारको मुख्यमन्त्री पदमा नियुक्त भई शपथ लिएका थिए।
मधेस प्रदेशसभाका ७३ जना (बहुमत) सदस्यले संविधानको धारा १६८(२) बमोजिमको प्रक्रिया बमोजिम सरकार गठनको माग गर्दै सर्वोच्चमा रिट दर्ता गरेका थिए। “मुख्यमन्त्री नियुक्तिको विषय यथाशीघ्र टुङ्गो लगाउन वाञ्छनीय देखिएकाले प्रस्तुत आदेश प्राप्त भएको मितिले चौबीस घण्टाभित्र मुख्यमन्त्रीमा नियुक्त सरोजकुमार यादवलाई संविधानको धारा १६८(४) बमोजिमको विश्वासको मत लिने प्रस्ताव‚” सर्वोच्चद्वारा जारी आदेशमा भनिएको छ‚ “प्रदेश सभामा निर्णयार्थ पेस गरी/गराई विश्वासको मत प्राप्त गरेमा सोहीबमोजिम र प्राप्त गर्न नसके संविधानको धारा १६८(२) बमोजिम सरकार गठन वा मुख्यमन्त्री नियुक्त हुने विकल्प समेतका विषयमा आवश्यक र उपयुक्त पहल गरी अर्को सरकार गठन वा मुख्यमन्त्री नियुक्ति गर्नू ।”