काठमाडौँ
००:००:००
३ पुष २०८२, बिहीबार

कांग्रेस

कार्यवाहकलाई नटेरेपछि फेरि अस्थायी भूमिकामा

१५ मंसिर २०८२
२८ असोजमा भएको कांग्रेस केन्द्रीय समिति बैठकमा सभापति शेरबहादुर देउवा र कार्यवाहक सभापति पूर्णबहादुर खड्का। तस्बिर : बिक्रम राई
अ+
अ-

१४ मंसिरमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो निवासमा नेताहरूलाई बोलाएर अनौपचारिक बैठक गरे। कार्यकारी भूमिकाबाट निवृत्त भएको घोषणा गरिसकेका देउवाको सक्रियतामा भएको यस बैठकले कांग्रेसको १५औँ महाधिवेशन पुसभित्रै सक्ने सहमति जुटायो। सोमबार पार्टीको केन्द्रीय कार्यालय सानेपामा भएको केन्द्रीय कार्यसमिति बैठकमा त्यही अनौपचारिक सहमतिअनुसार महाधिवेशनको कार्यतालिका पेस भयो। सोहीअनुसार २६ देखि २८ पुसमा महाधिवेशन गर्ने निर्णय भएको छ।

देउवाले ११ मंसिरदेखि नै कार्यवाहक सभापति पूर्णबहादुर खड्का, नेता डा. शेखर कोइराला, उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासहित नेताहरूसँग महाधिवेशन केन्द्रित छलफल चलाइरहेका छन्। जेन-जी आन्दोलनपछि नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापति तोकेर पार्टीको सक्रिय राजनीतिबाट अलग भएको घोषणा गरेका सभापति शेरबहादुर देउवा सिंगापुरबाट फर्केलगत्तै फेरि सक्रिय भएका हुन्।

आन्दोलनका क्रममा २४ भदौमा देउवा र उनकी पत्नी आरजु राणा देउवालाई कुटपिट भएको थियो भने उनीहरूको घरसमेत जलाइएको थियो। प्रदर्शनकारीको आक्रमणबाट घाइते भएका देउवा दम्पती करिब एक महिना अस्पतालमै थिए।

आन्दोलनपछिको राजनीतिक परिस्थितिलाई आत्मसात् गरेका देउवाले २८ असोजको नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकमा १३ पृष्ठ लामो लिखित मन्तव्य दिँदै भनेका थिए, ‘… मेरो स्वास्थ्यका कारणले म पार्टीका उपसभापति श्री पूर्णबहादुर खड्कालाई कार्यवाहक सभापतिका रूपमा काम गर्ने गरी तोकेको छु।’

खड्काका स्वकीय सचिव गौतम बिसीका अनुसार देउवाले खड्कालाई लिखित रूपमै कार्यवाहकको जिम्मेवारी दिएका हुन्। नेपाली कांग्रेसको वेबसाइटमा पनि खड्कालाई कार्यवाहक सभापतिकै रूपमा देखिन्छन्। तर, पार्टी राजनीतिमा देउवाको पुनः सक्रियता देखिने अरू केही तथ्यहरू पनि छन्। जस्तो– आउँदो ११ माघको राष्ट्रिय सभा निर्वाचन र २१ फागुनको प्रतिनिधिसभा निर्वाचन लागि निर्वाचन आयोगमा दल दर्ता गर्दा देउवाकै नाम र हस्ताक्षर छ।

नेपाली कांग्रेसको विधान २०१७ (दशौँ संशोधन)को दफा २६ (१)मा ‘केन्द्रीय सभापतिले राजीनामा दिन चाहेमा उपसभापति मार्फत केन्द्रीय कार्य समितिमा प्रस्तुत गर्नु पर्ने’ र उपदफा २ मा ‘केन्द्रीय कार्य समितिले राजीनामा स्विकृत गरेमा उपसभापतिले कार्यवाहक सभापति भई कार्यभार सम्हाल्नेछ र छ महिनाभित्रमा विशेष केन्द्रीय महाधिवेशन बोलाई केन्द्रीय सभापतिको निर्वाचन गरिनेछ’ भन्ने उल्लेख छ।

विधानमा यसबाहेक कार्यवाहक तोक्ने अन्य व्यवस्था उल्लेख छैन। तर, देउवाले २८ असोजको आफ्नो मन्तव्यमा स्वास्थ्यका कारण देखाएर खड्कालाई कार्यवाहक तोकेका थिए। र, यसरी कार्यवाहक तोकेको यो पहिलोपल्ट पनि होइन। बीपी कोइराला नेपाल फर्किएपछि जतिसुकै बेला पक्राउ पर्ने अवस्था थियो। त्यो बेला उनले कृष्णप्रसाद भट्टराईलाई कार्यवाहक तोकेका थिए। त्यस्तै, गिरिजाप्रसाद कोइरालाले पनि आफू सभापति रहेरै सुशील कोइरालालाई कार्यवाहक तोकेका थिए।

देउवा सिंगापुरबाट फर्किंदासमेत महाधिवेशन विवाद ज्युँका त्युँ देखिएपछि उनले आफ्नो भूमिका बढाएका हुन्।

कांग्रेस नेता मीन विश्वकर्माका अनुसार पार्टीभित्र कार्यवाहक दिने व्यवस्था तीन प्रकारका छन्। जसमा एउटा सभापतिले राजीनामा दिएमा वा कुनै कारणले पद रिक्त भएमा उपसभापति स्वतः कार्यवाहक हुने विधानले तोकेको व्यवस्था, दोस्रो, सभापति विदेश भ्रमणमा जाँदा कार्यवाहक दिने व्यवस्था र तेस्रो, स्वास्थ्य समस्या भई दैनिक रूपमा कामकारबाही गर्न नसक्ने अवस्थामा सभापतिले नै कार्यवाहक तोकिदिने व्यवस्था। “हाल खड्कालाई तेस्रो व्यवस्थाअन्तर्गत अर्थात् स्वास्थ्य समस्याका कारण दैनिक काम गर्न नसक्ने अवस्थाले कार्यवाहक दिइएको हो,” विश्वकर्मा भन्छन्।

यस्तो अवस्थामा सभापतिले ‘म स्वस्थ भएँ, काम गर्न सक्षम भएँ’ भनेर आएको खण्डमा आफैँ सक्रिय हुन सक्छन्। नेता विश्वकर्माका अनुसार अहिलेको अवस्था भने त्यस्तो होइन। उनी थप्छन्, “देउवा अहिले सभापतिका रूपमा होइन, अभिभावकीय रूपमा मात्र सक्रिय बन्नुभएको हो। कार्यवाहक सभापति पूर्णबहादुर खड्का नै हुनुहुन्छ।”

१५ मंसिरमा बसेको कांग्रेस केन्द्रीय कार्यसमिति बैठक। तस्बिर : नेपाल फोटो लाइब्रेरी

कांग्रेसभित्र महाधिवेशनको विषयलाई लिएर विवाद उत्कर्षमा छ। पार्टीभित्रको एउटा पक्ष नियमित महाधिवेशन गर्न सम्भव नदेखिएकाले तुरुन्तै विशेष महाधिवेशन गरेर अघि बढ्नुपर्ने पक्षमा छ भने संस्थापन पक्ष विशेष महाधिवेशन गरे फुट आउने भन्दै नियमित महाधिवेशनकै पक्षमा देखिन्छ। सभापति देउवाले कार्यवाहक सभापति खड्कालाई महाधिवेशनको विवाद टुंग्याउने जिम्मेवारी दिएका थिए।

देउवा सिंगापुरबाट फर्किंदासमेत महाधिवेशन विवाद ज्युँका त्युँ देखिएपछि उनले आफ्नो भूमिका बढाएका हुन्। देउवासँगको छलफलपछि कांग्रेस नेताहरू पुस मसान्तसम्ममा नियमित महाधिवेशन नै सम्पन्न गर्ने सहमतिमा पुगेका छन्। सुरुमा संस्थापन पक्ष चुनावअघि महाधिवेशन गर्न नसकिने अडानमा थियो। चुनावपछि मात्र महाधिवेशन हुने अवस्थामा टिकट वितरणमा अहिलेकै संस्थापनको हालीमुहाली हुने भन्दै संस्थापनइतर पक्ष विरोधमा थियो। जसरी भए पनि चुनावअघि नै नियमित महाधिवेशन र सम्भव नभएमा विशेष महाधिवेशन गर्नुपर्नेमा उनीहरूको जोड थियो।

संस्थापनपक्षीय नेता विश्वकर्मा कार्यवाहक सभापति खड्काले विवाद मिलाउने प्रयास गरे पनि कतिपय नेताले उनका कुरा नमानेपछि देउवा विवाद मिलाउने उद्देश्यले सक्रिय भएको बताउँछन्।

पार्टीमा इतर पक्षका नेता गुरुराज घिमिरेको नेतृत्वमा विशेष महाधिवेशन माग गर्दै हस्ताक्षर अभियानै सञ्चालन भएको थियो। ५४ प्रतिशत महाधिवेशन प्रतिनिधिको हस्ताक्षर संकलन गरेर पार्टीमा बुझाइएको थियो। तर, पछिल्लो समय देउवाले चुनावअघि नै नियमित महाधिवेशन गर्ने वातावरण बनाएपछि विशेष महाधिवेशन माग्दै आएका नेताहरू पनि शान्त भएका छन्। किनभने, चुनावअघि नै महाधिवेशन भएमा देउवा सभापति रहनेछैनन्। त्यसपछि टिकट वितरणमा पनि उनको प्रमुख भूमिका रहनेछैन।

नेता घिमिरे पनि कांग्रेसमा सभापतिले स्वास्थ्य समस्याका कारण र व्यावहारिकताका हिसाबले कार्यवाहक तोक्ने प्रचलन पहिलादेखि रहेकाले अन्यथा मान्न नहुने बताउँछन्। भन्छन्, “यस्तो अवस्थामा सभापतिले फेरि सक्रिय हुन्छु भन्ने बाटो त खुला छ, तर उहाँले आफू नफर्किने भनिसक्नुभएको छ। महाधिवेशनपछि त उहाँ सभापति पनि रहनुहुन्न।”

उनी आफूहरूले नियमित महाधिवेशन हुन नसक्ने अवस्थामा विशेष महाधिवेशन माग गरेको खुलाउँछन्। “उहाँहरूले नियमित नै गर्न सकिने भन्नुभएको छ। अहिलेको अवस्थामा पुस मसान्तसम्म नियमित वा विशेष जुन भए पनि महाधिवेशन हुन्छ। त्यसैले देउवाको अहिलेको सक्रियतालाई सकारात्मक नै मानेका छौँ,” घिमिरे भन्छन्।

संस्थापनपक्षीय नेता विश्वकर्मा कार्यवाहक सभापति खड्काले विवाद मिलाउने प्रयास गरे पनि कतिपय नेताले उनका कुरा नमानेपछि देउवा विवाद मिलाउने उद्देश्यले सक्रिय भएको बताउँछन्। देउवाको सक्रियतापछि महाधिवेशनको विवाद लगभग मिलिसकेको दाबी गर्दै उनी भन्छन्, “चुनावअघि नै नियमित महाधिवेशन हुन्छ, त्यो महाधिवेशन सभापति देउवाले उद्घाटन गर्नुहुन्छ, खड्काको सभापतित्वमा अधिवेशन सम्पन्न हुन्छ। अरू केही विवाद छैन।”