काठमाडौँ। बेरोजगार युवायुवतीलाई विदेश पठाइदिने भन्दै ठगी गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा दमक नगरपालिका ३‚ झापा घर भई अहिले बूढानीलकण्ठ नगरपालिका ३‚ काठमाडौँ बस्ने ३० वर्षीय प्रवेश पोखरेल र मण्डनदेउपुर नगरपालिका ९‚ काभ्रे घर भई अहिले कागेश्वरी मनोहरा नगरपालिका ९‚ काठमाडौँ बस्ने ४५ वर्षीय ईश्वर राना छन्।
दुवैलाई काठमाडौंका अलग-अलग स्थानबाट आइतबार पक्राउ गरिएको काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक काजीकुमार आचार्यले बताए।
पक्राउ परेकामध्ये पोखरेलले अल्बानिया पठाइदिने बहानामा एकजना पीडितबाट आठ लाख ७० हजार र रानाले क्रोएसिया पठाइदिने भन्दै एक जनाबाट ११ लाख रुपैयाँ ठगी गरेको उजुरी छ। आचार्यका अनुसार रकम लिएर लामो समय सम्पर्कविहीन भएपछि पीडित प्रहरीमा उजुरी गर्न पुगेका थिए।
पक्राउ परेका दुवै जनालाई प्रहरीले सोमबार वैदेशिक रोजगार विभाग ताहाचल पठाएको छ।