काठमाडौँ
००:००:००
३ पुष २०८२, बिहीबार

१६ मंसिर २०८२
प्रतीकात्मक तस्बिर।
अ+
अ-

काठमाडौँ। काठमाडौँको केशरमहलस्थित सडकमा कारको ठक्करबाट एक भारतीयको मृत्यु भएको छ। दुर्घटनामा दुईजना घाइते भएका छन्।

बा. प्र. ०१-०३० च २३४८ नम्बरको कारको ठक्करबाट घाइते हुनेमा एकजना ट्राफिक प्रहरी पनि छन्। कारचालक पनि घाइते भएका छन्।

लैनचौरस्थित केशरमहलनजिकै सडकमा कारको ठक्करबाट ज्यान गुमाउनेमा सडककिनारमा पैदल हिँडिरहेका ३४ वर्षीय भारतीय शेख साकिर रहेको प्रहरीले जनाएको छ। काठमाडौँको धोबीचौरमा बस्दै आएका साकिर नेपालमा विगत १० वर्षदेखि घर निर्माणको काममा संलग्न थिए। उनको ट्रमा सेन्टरमा उपचारका क्रममा मृत्यु भएको हो।

दुर्घटनामा ट्राफिक प्रहरी प्रभाग दरबारमार्गमा कार्यरत ट्राफिक प्रहरी हवल्दार परशुराम ठाकुर र कार चालक सुरेशराज कालिका घाइते भएका छन्। ड्युटीमै रहेका ठाकुरको दुवै खुट्टा र छातीमा गहिरो चोट लागेको छ। उनको राष्ट्रिय ट्रमा सेन्टरमा प्रारम्भिक उपचार गरिएको र पछि नेपाल प्रहरी अस्पतालमा रिफर गरिएको छ।

काठमाडौँ महानगरपालिका १६ बस्ने ६६ वर्षीय कारचालक सुरेशराजको पनि उपचार भइरहेको प्रहरीले जनाएको छ।

कारले दुई जनालाई ठक्कर दिएर केशरमहलको पर्खालमा ठोक्किएको थियो। प्रहरीका अनुसार घटनाबारे थप अनुसन्धान भइरहेको छ।