एनपीएल

‘प्लेअफ’ मा पुग्न अरू टोलीको नतिजामा निर्भर

१६ मंसिर २०८२
चितवन राइनोजविरुद्धको खेलका क्रममा जनकपुर बोल्ट्सका खेलाडी। तस्बिर : नेपाल प्रिमियर लिग
अ+
अ-

क्रिकेटमा अन्तिम बल र अन्तिम खेलसम्म नतिजा फेरिन सक्छ भन्ने उक्ति फेरि एकपटक प्रमाणित भएको छ। कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा जारी नेपाल प्रिमियर लिग (एनपीएल)मा जनकपुर बोल्ट्सले मंगलबार यस्तै अनुभूति गरायो।

लगातार चार खेलमा हार बेहोरेर प्रतियोगिताबाट बाहिरिने अवस्थामा पुगेको जनकपुर ‘गर या मर’ को अवस्थामा पाँचौँ खेलमा उत्रिएको थियो। तर, उसले उत्कृष्ट पुनरागमन गर्दै चितवन राइनोजविरुद्धको खेल मात्र जितेन, प्लेअफमा पुग्ने सम्भावनालाई जीवित राखेको छ– त्यो पनि ६ विकेटको सानदार जित निकाल्दै।

लिग चरणको खेल अन्तिमतिर धकेलिँदै गर्दा साबिक विजेता जनकपुर बोल्ट्स ‘हेभिवेट’ जस्तो नभएर निरन्तर दिशा खोजिरहेको कमजोर टोलीझैँ देखिन थालेको थियो। गत सिजन संयमित खेल, स्थिर मिडल अर्डर र आक्रामक योजनाले लिगमा लगातार पाँच खेल जित्दै फाइनलको यात्रा तय गरेको जनकपुरले उपाधि पनि हात पारेको थियो। तर, दोस्रो संस्करणमा उसको खेल उल्टो दिशामा बगिरहेको थियो।

काठमान्डु गोर्खाजविरुद्ध पाँच विकेटको हारदेखि सुरु भएको उसको दुर्भाग्यको शृंखला चार खेल सकिँदा अंकतालिकाको पुछारमा रहेर प्रतियोगिताबाटै फर्किनुपर्ने जोखिममा पुगेको थियो।

तर, प्रशिक्षक अनिल मण्डलले सम्भावनाको ढोका ढकढक्याउने आत्मविश्वास देखाए। चितवनविरुद्धको खेलअघि उनले भनेका थिए, “टिम प्रतियोगिताबाट बाहिरिएको छैन। हाम्रो ध्यान बाँकी तीन खेल जित्ने र नेट रन रेट सुधार गर्नेमा छ। खेलमा फर्किन अर्को खेलदेखि निर्दयी खेल खेल्नुपर्नेछ।”

आखिर उनले भनेजस्तै भयो पनि। चितवनविरुद्ध १७७ रनको चुनौतीपूर्ण लक्ष्य पछ्याएको जनकपुरले १७.३ ओभरमा चार विकेट गुमाउँदै १८० रन बनाएर आफूलाई पुनः प्रतियोगितामा फर्कायो। जारी प्रतियोगितामा जनकपुरले बनाएको यो नै सबैभन्दा धेरै योगफल हो।

जनकपुर बोल्ट्सका खेलाडी। तस्बिर : नेपाल प्रिमियर लिग

जितसँगै जनकपुरले पाँच खेलबाट दुई अंक जोड्दै खाता खोलेको छ। लुम्बिनी लायन्स र कर्णाली याक्सविरुद्ध खेल्न बाँकी जनकपुरलाई ‘प्लेअफ’ मा पुग्न अब फराकिलो जितसँगै अन्य टोलीको नतिजामा पनि निर्भर रहनुपर्नेछ। यद्यपि, जितले केही आशा थपेको अनुभवी ब्याटर अनिलकुमार शाह बताउँछन्। “चार खेल हारेपछि जित्नुपर्ने र अन्य टोलीको नतिजामा पनि भर पर्नुपर्छ थाहा थियो। तर, त्यता ध्यान दिएनौँ। आफ्नो र टिमको खाता खोल्नुपर्ने थियो, खोल्यौँ,” खेलपछि उनी भन्छन्।

‘ब्रेक’ ले पुनरागमन गराएको अनिल

पहिलो संस्करणमा जनकपुरको ब्याटिङ र बलिङ दुवै बलियो थियो। उसलाई पहिलो संस्करणमै उपाधि दिलाउन श्रीलंकाली मूलका अमेरिकी विकेटकिपर–ब्याटर लाहिरु मिलन्थाले बलियो साथ दिए। १० खेल खेलेका उनले दुई अर्धशतकसहित २९३ रन बनाएका थिए, जुन प्रतियोगिताकै सर्वाधिक थियो।

उनी मात्र होइन, अलराउन्डर जिम्मी निशम, आसिफ शेख, हर्ष ठाकर र कप्तान अनिल पनि उत्तिकै चले। तर, यस संस्करणमा लाहिरु सुरुआती खेलदेखि नै ‘फ्लप’ छन्। उनले दुई इनिङ्समा मात्र ३० रन बनाउन सके। बाँकी खेलमा ‘ड्रप’ छन्। यता, निशम भने गोलाप्रथामा पोखरा एभेन्जर्समा लाग्दा हर्ष नेपाल आउन मानेनन्। त्यसपछि केही नयाँ विदेशी खेलाडी थपेको जनकपुरको हितमा नतिजा निस्किएको छैन।

जनकपुर यसपल्ट पूर्णतया कृष्ण सञ्जयमूर्ति र माज सदाकतमा निर्भर देखिन्छ। बाँकी ब्याटर चल्न सकेका छैनन्। मंगलबार भने यी दुई मात्र चलेनन्, अनिल र आदित्य महताले पनि चिरपरिचित शैलीमा ब्याटिङ गर्दै जनकपुरलाई पहिलो जित दिलाए। साहले ३६ बलमा चार चौका र तीन छक्कासहित ६१ रन बनाए। माजले ६३ रनको योगदान दिँदा आदित्य १८ रनमा अविजित रहे। प्रतियोगितामा माज र अनिल दुवैको पहिलो अर्धशतक थियो।

तस्बिर : नेपाल प्रिमियर लिगको फेसबुक

जारी सिजनमा जनकपुरको उतारचढावले एउटा स्थायी विवाद फेरि सतहमा ल्याएको छ। त्यो हो, कप्तानको जिम्मेवारी विवाद। पहिलो संस्करणमै मार्की खेलाडी आसिफ शेख र अनिलबीच नेतृत्वको विषयलाई लिएर ठूलो चर्चा चलेको थियो। अधिकांश फ्रेन्चाइज मार्की खेलाडीलाई नै कप्तान बनाउँदै अक्सनमा होमिएका थिए। तर, जनकपुरले अन्तिम समयमा अनिललाई कप्तान बनायो। यसले ‘ड्रेसिङ रूम’ मा समेत नकारात्मक हल्ला फैलिएको थियो। त्यो बेला अनिलले कप्तानीको मुद्दालाई अफवाह भन्दै खेलबाटै जवाफ दिएका थिए।

तर, यसपालि त्यसो हुन सकेको छैन। अझ सुदूरपश्चिम रोयल्सविरुद्धको खेलमा उनलाई ‘ड्रप’ गरिएपछि कप्तानसम्बन्धी पुरानो विवादले पुनः चर्चा पाएको छ।

यस विषयमा हालसम्म कुनै प्रतिक्रिया नजनाएका अनिलले पहिलो खेलको जितपछि भने, “कप्तान नभए पनि म खेलाडीका रूपमा खेल्न तयार थिएँ। मेरो राम्रो भइरहेको थिएन। त्यसैले व्यवस्थापनले पनि ब्रेक दिएको हो।”

अबको यात्रा कस्तो होला?

पोखराबाहेक अन्य सबै टोलीले पाँच वा सोभन्दा बढी खेल खेलिसकेका छन्। साबिक उपविजेता सुदूरपश्चिम अपराजित रहँदै १० अंकसहित शीर्षस्थानमा रहेर प्लेअफ पुग्ने पहिलो टोली बनिसकेको छ। अब प्लेअफका बाँकी तीन स्थानका लागि सात टोली प्रतिस्पर्धामा छन्।

काठमान्डु गोर्खाजले ६ खेलबाट आठ अंक पुर्‍याउँदा एक खेल कम खेलेको विराटनगरको पनि उत्ति नै अंक छ। जनकपुरसँग हार खेपेको चितवन र जनकपुरसँग खेल्न बाँकी रहेको लुम्बिनीको समान चार अंक छ। कर्णाली, जनकपुर र पोखराको भने समान दुई अंक मात्रै छ। जनकपुरले बाँकी दुई खेल जिते पनि ६ अंक मात्रै जोड्नेछ। त्यो भनेको हालको अंकतालिकामा चौथो स्थान हो। तर, हाल चौथो स्थानमा रहेको चितवनले भने दुई खेल खेल्न बाँकी नै छ। त्यसमाथि पोखराले कर्णालीसँगै काठमान्डु र चितवनसँग खेल्न बाँकी रहँदा जनकपुर प्लेअफमा पुगिहाल्छ भन्ने अवस्था पनि रहँदैन।

जनकपुर बोल्ट्सका खेलाडी। तस्बिर : नेपाल फोटो लाइब्रेरी

अनिल यो कुरा स्विकार्छन्। “दुई वटा खेल खेल्न अझै बाँकी छ। त्यो जितौँ अनि त्यसले कता पुर्‍याउँछ भनेर थाहा हुन्छ,” उनी भन्छन्।

अब के?

जनकपुरलाई ब्याटिङमा मात्र होइन, बलिङमा पनि उत्तिकै साथ छैन। दु:खद कुरा, पहिलो संस्करणमा सर्वाधिक १७ विकेट लिएका ललितनारायण राजवंशी चल्न सकेका छैनन्। मुख्य बलर नै चल्न नसकेपछि उनी ‘ड्रप’ छन्। उनको अनुपस्थितिमा अनिल आफैँले बलिङको मोर्चाबन्दी सम्हालिरहेका छन्। तर, अपेक्षित नतिजा आइरहेको छैन।

अहिलेसम्म कृष्णमूर्तिले १४ ओभर बलिङ गर्दै सर्वाधिक पाँच विकेट लिएका छन्। उनीबाहेक माज, अनिल र रूपेश सिंहले समान तीन विकेट लिएका छन्। यस्तो अवस्थामा जनकपुरले जित्नैपर्ने खेलमा दुई विकेट लिएका ललितलाई ‘ड्रप’ गरेको थियो। उनको अनुपस्थितिमा चितवनका ओपनर डाभिड मलान र अर्जन साउदले खुलेर खेले। उनीहरूले अर्धशतक पनि पूरा गरे। मलानले ५४ बलमा चार चौका र पाँच छक्कासहित ८० र अर्जुनले ३९ बलमा चार चौका र तीन छक्कासहित ५२ रनको इनिङ्स खेले।

यता, कप्तान कुशल मल्लले पनि १४ बलमा दुई चौका र दुई छक्कासहित ३० रनको आक्रामक इनिङ्स खेले। प्लेअफ खेल्ने झिनो आशा बोकेको जनकपुरलाई बाँकी खेल जित्न दबाब हुने निश्चित छ। यस्तोमा ललितको पुनरागमन के होला? यसबारे पनि चासो रहन्छ नै।

तर, यी सबै कुरा व्यवस्थापनको हातमा छ। अनिल भन्छन्, “खेल्न उत्रिएपछि सबैले राम्रो गर्न चाहन्छन्। कहिलेकाहीँ दबाबयुक्त स्वतन्त्रता पनि चाहिन्छ। दिमागमा प्रेसर हुँदा झन् गाह्रो हुन्छ। जहाँसम्म ललितको कुरा छ, उनको राम्रो भइरहेको छैन। त्यसैले यस सिजनमा कसले राम्रो गर्‍यो, कसलाई ब्याक गर्ने भन्ने कुरा अब टिमले निर्णय गर्नेछ।”