काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१६ मंसिर २०८२
अर्जुन कार्की। फाइल तस्बिर
अ+
अ-

काठमाडौं। सर्वोच्च अदालतले दरमार्गस्थित नेपाल ट्रस्टको जग्गाभाडा दिने प्रकरणमा अनुसन्धानका लागि पक्राउ परेका पूर्वसचिव अर्जुनकुमार कार्कीलाई थुनामुक्त गर्न अस्वीकार गरेको छ।

न्यायाधीशहरु अब्दुल अजिज मुसलमान र श्रीकान्त पौडेलको संयुक्त इजलासले कार्कीलाई छोड्न भन्दै दर्ता भएको बन्दी-प्रत्यक्षीकरणको रिट निवेदन आज (मंगलबार) खारेज गरिदिएको छ।

कार्कीलाई गैरकानुनी रुपमा थुनामा राखिएको दाबीसहित उनका दाजु केशवकुमार कार्कीले ७ मंसिरमा सर्वोच्चमा रिट निवेदन दर्ता गराएका थिए।

नेपाल ट्रस्टको जग्गा थामसेर्कु कम्पनीलाई भाडामा लगाउँदा अनियमितता गरेको भन्दै अनुसन्धानका लागि प्रहरीको अनुसन्धान ब्युरोले पक्राउ गरेको थियो। त्यसपछि काठमाडौं जिल्ला अदालतले उनलाई अनुसन्धानका लागि हिरासतमा राख्ने अनुमति दिँदै म्याद थपेको थियो।

त्यसविरुद्ध उनका दाजु सर्वोच्चमा पुगेका थिए। ८ मंसिरमा सर्वोच्चले उनलाई बन्दीसहित उपस्थित गराउन आदेश गरेको थियो। कार्कीलाई अब अदालतमा मुद्दा दर्ता भएपछि मात्रै पुर्पक्ष सुनुवाइ भएर थुन्ने छाड्‌ने आदेश हुनेछ।