काठमाडौँ
००:००:००
१ पुष २०८२, मंगलवार

अन्तर्राष्ट्रिय अपांगता दिवस

अपांगता भएकालाई अक्षम देख्ने यो समाजले बुझ्नुपर्छ- अपांगता एउटा अवस्था हो, यसले नै व्यक्तिको क्षमता मापन गर्नसक्दैन।

१७ मंसिर २०८२
अ+
अ-

सबैका लागि खुलेका सार्वजनिक विद्यालयमा जब कक्षाकोठा माथिल्ला तलामा हुन्छन् र त्यहाँ लिफ्ट या र्‍याम्पको सुविधा हुँदैन, तब ह्विलचेयरबाट टुलुटुलु माथि हेर्नुपर्दाको पीडा त्यहाँ पढ्न भनेर जाने अपांगता भएका विद्यार्थीले बाहेक कसैले बुझ्दैन। अत्यावश्यक प्रशासनिक कामका लागि जानुपर्ने सरकारी कार्यालयका भवनहरू अपांगतामैत्री हुँदैनन्। त्यहाँ पुग्ने अपांगता भएका व्यक्तिलाई आफू देशकै नागरिक हुँ भनेर मन बुझाउन कति कठिन होला!

सार्वजनिक यातायातमा लामो दूरीको यात्रामा जाँदा शौचालय जानुपर्ने त्रासले घण्टौं भोकैप्यासै बस्ने अपांगता भएका यात्रुहरूसँग सिके हुन्छ धैर्यको पाठ। जन्मेदेखि उठ्नै नसक्ने र उमेर पाके पनि दिमाग कलिलै रहने ती सन्तानका बाबुआमाहरूसँग बुझे हुन्छ माया र जिम्मेवारीको परिभाषा। बौद्धिक अपांगताका कारण आफ्नो शरीर जोगाउन नसक्ने ती निर्बलिया छोरीचेलीका आमाहरूसँग सोधे हुन्छ, योनि लिएर बाँच्नु कति डरमर्दो कुरा हो भनेर।

अपांगता भएका केही सचेत नागरिकले अपांगता भएकाहरूको समग्र समुदायमा परिवर्तन ल्याउन प्रयास नगरेका होइनन्। तर तीमध्ये धेरैजसो व्यक्तिगत लाभमा केन्द्रित रहे।

हरेक वर्ष जब डिसेम्बर ३ मा अन्तर्राष्ट्रिय अपांगता दिवस आउँछ, दुई दशकभन्दा बढी समय अपांगता भएका व्यक्तिहरूको नजिक रहेर काम गरेकी मलाई भित्रैदेखि दुख्न थाल्छ। मन दुख्नु त नपर्ने हो, किनकि देशमा अपांगता भएका व्यक्तिहरूको अधिकारका लागि ऐन कानूनको कमी छैन। अपांगता भएका व्यक्तिको अधिकारसम्बन्धी ऐन, २०७४ छ। यस ऐनले अपांगता भएका व्यक्तिहरूको अधिकारको संरक्षण र प्रवर्द्धन गर्न, उनीहरूको आत्मसम्मान, समान अवसर, सहभागिता र पहुँचको सुनिश्चितता तथा अपांगता अनुकूल संरचना र सेवा प्रदानका लागि आवश्यक दिशानिर्देश गर्छ।

नेपालले अपांगता भएका नागरिकको मानवअधिकार सुनिश्चित गर्न अपांगता भएका व्यक्तिहरूको अधिकारसम्बन्धी महासन्धि २००६ र यसको स्वेच्छिक प्रोटोकल २००६ को अनुमोदनका लागि हस्ताक्षर गरेको साढे दुई दशक भइसकेको छ। यसले अपांगता भएकाहरूको अधिकार सुनिश्चित गर्न बनाइएका नीतिनियम र कानून कार्यान्वयनका लागि सरकारलाई थप उत्तरदायी बनाउँछ। तर नीतिगत व्यवस्था कागजमै सीमित हुँदा अपांगता भएका व्यक्तिहरूको जीवन अविरल पीडामै छ।

अपांगता भएका केही सचेत नागरिकले अपांगता भएकाहरूको समग्र समुदायमा परिवर्तन ल्याउन प्रयास नगरेका होइनन्। तर तीमध्ये धेरैजसो व्यक्तिगत लाभमा केन्द्रित रहे। फलस्वरूप उनीहरूको आर्थिक र सामाजिक अवस्थामा त परिवर्तन आयो, तर दूरदराजका, पहुँच बाहिर रहेका र जटिल अवस्थाका अपांगता भएका व्यक्तिहरूको जीवन र भोगाइ ज्युँका त्युँ रह्यो।

गम्भीर प्रकृतिका अपांगता भएका बालबालिकाको शिक्षाका लागि खासै प्रभावकारी कार्यक्रम छैनन्। यस सन्दर्भमा एक बालक अभिषेक तिमल्सिनालाई सम्झन्छु। मस्कुलर डिस्ट्रोफी भएका उनलाई पहिले आमाबुवाले ललितपुरको भैंसेपाटीमा रहेको आशा बालविकास सेवा नामको संस्थामा लैजान्थे। त्यहाँ सामान्य पढाइ हुन्थ्यो। जति राम्रो पढे पनि त्यहाँ कक्षा चढ्ने अवसर थिएन। छिमेकी हुनुका साथै अपांगता भएका व्यक्तिहरूको नजिक रहेर काम गर्ने मेरा लागि अभिषेकको पढाइ सोचनीय विषय बन्यो। उनी त्यतिबेला सात-आठ वर्षका थिए। उनलाई विद्यालयमा भर्ना गराउँदा राम्रो हुन्छ भनेर उनका आमाबुवासँग कुरा गरें। उनीहरू पनि छोरालाई विद्यालयमा पढाउन इच्छुक थिए, तर अपांगताका कारण विद्यालयले भर्ना नलिने हो कि भनेर हच्किरहेका थिए। किनकि, उनीहरूले उस्तै समस्या भएको जेठा छोरा जीवनका लागि त्यस्तै तीतो अनुभव बटुलिसकेका थिए।

तर पहिलेभन्दा समय बदलिसकेको थियो। सरकारी विद्यालयहरूमा अपांगता भएका बालबालिकाका लागि नि:शुल्क शिक्षाको व्यवस्था त थियो, तर त्यो सुविधा पाउन कसैले पहल गर्नैपर्ने अवस्था थियो। हाम्रो बसाइ जावलाखेल नजिकैको एकान्तकुनामा थियो। मैले त्यहीँ रहेको महेन्द्र भृकुटी माध्यमिक विद्यालयमा गएर अभिषेकको भर्नाका लागि त्यहाँका प्रधानाध्यापक लोकराज खड्कासँग कुरा गरें। उहाँले सकारात्मक भूमिका खेल्दै भर्नाको चाँजोपाँजो मिलाइदिनुभयो। बालविकास सेवामा पढेको आधारमा उनलाई कक्षा तीनमा भर्ना गरियो। अहिले अभिषेक एसईई दिने भइसकेका छन्। उनी पढ्न थालेदेखि नै उत्कृष्ट विद्यार्थीका रूपमा परिचित छन्। भविष्यमा आईटी एक्सपर्ट हुने उनको सपना छ।

उनका दाजुले पनि सोही अवसर पाएका भए अहिले उच्च शिक्षा हासिल गरेर कुनै क्षेत्रमा पोख्त भइसकेका हुन्थे। उनी राम्रो चित्र कोर्छन् र सामान्य ग्राफिक्स डिजाइनहरू पनि गर्छन्। उनीहरू प्रतिनिधि पात्रहरू मात्र हुन्। यसले के देखाउँछ भने, अवसर र सुविधा सही समयमा प्राप्त हुनसक्यो भने त्यसले सबैको जीवनमा प्रत्यक्ष प्रभाव पार्छ। यहाँ अपांगता भएका व्यक्तिहरूका लागि अवसर पाउनै समस्या छ। अवसर पाएर मात्र पनि भएन, उनीहरूको शारीरिक र मानसिक अवस्था अनुकूल सेवासुविधा र संरचना हुनुपर्‍यो। यति हुन नसके अपांगता भएका व्यक्तिहरूको मानवअधिकारमै अवरोध सिर्जना हुनजान्छ।

जब अधिकार सुनिश्चित हुँदैन, तब अवसरहरू गुमनाम हुन्छन्। अवसर गुमनाम भएपछि अद्भुत प्रतिभाहरू पनि बिस्तारै निभ्दै जान्छन्।

अपांगता भएका व्यक्तिहरूलाई हेर्ने साङ्गहरूको नजर नै गलत छ। आँखा नदेख्नेहरूले कसरी खालान्, कसरी लुगा लगाउलान्, बहिराहरूले कसरी गाउलान्, नाच्लान्, यस्तै सोचेरै बस्नेहरूको जमात छ। हात, गोडा र मुख बाङ्गिएका, भुइँमा घस्रिएर हिँड्ने, होचापुड्का, बोल्दा भकभकाउने र हिँड्दा लरखराउनेहरू समाजमा अचम्मका पात्र मानिन्छन् र सबैले क्वारक्वारती हेर्छन्। त्यहीँ सुरु हुन्छ, अपांगता भएका व्यक्तिहरूको आत्मसम्मानमा प्रहार।

अरुमा भएका भिन्नता स्विकार्न नसक्ने यो समाजले निर्माण गर्ने भाष्य नै गलत छ। समाज भन्छ, अपांगता हुनु अक्षमता हो। तर उसले बुझ्नुपर्छ- अपांगता एउटा अवस्था हो, जुन कुनै परिस्थितिले सिर्जित वा जन्मजात पनि हुनसक्छ। अपांगता हुनुले मान्छेमा भएको क्षमताको मापन गर्नसक्दैन। अपांगताको अवस्थालाई स्विकारेर व्यक्तिको क्षमता पहिचान गर्ने हो भने अपांगता भएका एकसे एक व्यक्तिहरू समाज निर्माण निम्ति योगदानका हकदार हुनेछन्।

विश्व इतिहासमा लेखिएका नामहरू वैज्ञानिक अल्बर्ट आइन्सटाइन, स्टेफन हकिङ्स, हेलेन केलर र निक वुजिकिकहरूको योगदान अपांगता भएका व्यक्तिहरूको क्षमतामा विश्वास गर्ने बलिया आधार हुन्। तर विडम्बना, हाम्रो समाजको सोच अझै पछाडि छ। अपांगता भएका व्यक्तिहरूको मानवअधिकार सुनिश्चितताका निम्ति हामी सधैं डिसेम्बर ३ पर्खन्छौं। जब अधिकार सुनिश्चित हुँदैन, तब अवसरहरू गुमनाम हुन्छन्। अवसर गुमनाम भएपछि अद्भुत प्रतिभाहरू पनि बिस्तारै निभ्दै जान्छन्।