दृष्टिकोण
आन्दोलन र क्रान्तिको असर संसारको एउटा कुनाबाट अर्को कुनामा पुग्नु नयाँ कुरा होइन। तर, पहिले यस्तो प्रभाव फैलिन वर्षौं लाग्थ्यो भने अहिले इन्टरनेटका कारण संक्रमणजस्तै रातारात फैलिइरहेको छ।
नेपालमा २३ र २४ भदौ (८-९ सेप्टेम्बर)मा भएको जेन-जी आन्दोलनले गरेको सत्तापलटको दुई सातापछि २४ सेप्टेम्बरमा म फिलिपिन्सको राजधानी मनिला पुगेको थिएँ। त्यहाँ पनि नेपालीकै सिको गरेर केही दिनअघि जेन-जी आन्दोलन भएको थियो। फिलिपिन्सका नेता र ठेकेदारहरूको मिलेमतोमा अर्बौंको भ्रष्टाचार भएको, बाढी नियन्त्रण गर्ने योजना बन्दै नबनेको र मिडियाले खुलासा गर्दा पनि कुनै दोषीलाई कारबाही नभएको भन्दै युवा, विद्यार्थी र नागरिक आक्रोशित थिए।
एकदिन बेलुका म ग्य्राब ट्याक्सी (अनलाइन ट्याक्सी सेवाप्रदायक कम्पनी) लिएर निस्केको घन्टौँसम्म पानी जमेको सडकमा फसेँ। चालकले ड्यासबोर्डको फोनमा आन्दोलनको भिडिओ टिकटिकमा स्क्रोल गरेर हेरिरहेका थिए। पानी जम्नुको कारण त्यही भ्रष्टाचारको कारणले बन्दै नबनेका बाढी नियन्त्रण योजनाहरू थिए। दिक्क मानेर चालकले मलाई ‘ह्वेर आर यु फ्रम?’ भनी सोधे। मैले ‘फ्रम नेपाल’ भनेपछि झसंग भएजस्तो गरेर मतिर हेरेर नेपालको जेन-जी आन्दोलनबारे बताउन थाले। फोनमा टिकटक खोलेर सिंहदरबार जलेको, सर्वोच्चमा आगो लागेको, संसद् भवनबाट निस्केको धुवाँको मुस्लोका क्लिपहरू एकपछि अर्को देखाउन थाले।
मैले नै नदेखेको नेपालका भिडिओहरू मनिलाको त्यो ट्याक्सीभित्र हेर्न पाएँ। पानी पर्न अलि थामिएपछि ट्याक्सी गुड्न थाल्यो। जाम छिचोल्दै ड्राइभरले गन्तव्यमा पुर्याएपछि भने, ‘हामीले पनि नेपालमा जस्तै संसद् भवन जलाइदिनुपर्ने!’

बाढी नियन्त्रण परियोजनामा भ्रष्टाचार भएको भन्दै फिलिपिन्समा भएको ट्रिलियन पेसो मार्च। तस्बिर : रस्को ग्रे
सामाजिक सञ्जालमा अपलोड भएका सामग्री संसारभर यति छिटो फैलिए कि नेपालजस्तै भ्रष्टाचार, कुशासन, दण्डहीनता र नातावादले ग्रस्त देशका युवाहरू जागे। केही हप्तामै माडागास्करका राष्ट्रपति आन्ड्राई राजोइलिना देशबाट भागेर दुबई पुगे। मोरक्कोमा सडक आन्दोलन सल्कियो। पूर्वी टिमोरमा पनि प्रदर्शनकारीहरू सडकमा उत्रिए। पेरुमा युवाहरूको आन्दोलनले सरकार ढाल्यो। यो हप्ता मेक्सिको सिटीमा पनि सफा शासनको माग गर्दै विद्यार्थीहरू सडकमा छन्। जर्जियाको राजधानी तिबिलिसीमा त युवा प्रदर्शनकारीले नेपालको झन्डा नै फरफराए।
नेपालको जेन-जी आन्दोलनमा विश्वको अरू ठाउँमा भएको विद्रोहको पनि प्रभाव देखियो। इन्डोनेसियामा अगस्टमा भएको संसद् घेर्ने जेन-जीहरूको मिम, भिडिओ र नाराहरू सामाजिक सञ्जालमा छ्यापछ्याप्ती थिए, र नेपालका युवा अभियन्ता त्यसबाट प्रेरित थिए। एमाले-कांग्रेस सरकारले २६ वटा सामाजिक सञ्जाल प्लेटफर्ममा लगाएको प्रतिबन्धले आगोमा घिउ थप्यो।

इन्डोनेसियाको संसद् भवनअगाडि प्रदर्शनकारी। तस्बिर : एएफपी
आन्दोलन र क्रान्तिको असर संसारको एउटा कुनाबाट अर्को कुनामा पुग्नु नयाँ कुरा होइन। रुसको अक्टोबर क्रान्तिको असर युरोप, अमेरिका र एसियाका धेरै देशहरूमा पुग्यो। चीनबाट माओवाद निर्यात भएर नेपाल, भारत, फिलिपिन्स र अरू देशहरूमा फैलियो। सोभियत संघ भताभुंग भएर पूर्वी युरोपभरि फैलिएको लोकतन्त्रको लहरले नेपालमा पनि २०४६ सालको जनआन्दोलनलाई योगदान पुर्यायो। तर, पहिलेका दशकमा यस्तो प्रभाव संसारभरि फैलिन दशकौँ अथवा वर्षौं लाग्थ्यो भने इन्टरनेटले गर्दा अहिले रातारात संक्रमणजस्तै फैलिन्छ।
हरेक पुस्तालाई आफ्नो आन्दोलन नयाँ र क्रान्तिकारी लाग्नु स्वाभाविकै हो। तर, विश्व इतिहासमा हरेक मुलुकमा युवा पुस्ता तानाशाह कि लोभीपापी नेताहरूविरुद्ध गाउँ गाउँ, बस्ती बस्तीबाट उठेकै छन्।
युवाहरूमा ऊर्जा र आक्रोश हुन्छ। र, सरकारी भ्रष्टाचार, कुशासन र दण्डहीनता खप्नै नसक्ने भएपछि त्यसको ज्वालामुखी ढिलोचाँडो फुट्छ। इन्टरनेटले यो आगोलाई छिटो र व्यापक रूपमा फैलाउन मद्दत गरिरहेको छ।
नेपालमै पनि विद्यार्थीहरू सत्ताविरुद्ध उठेर राज्य संरचना बदल्न सफल भएको यो जेन-जी आन्दोलन पहिलो होइन। सन् १९७९ मा पाकिस्तानका जुल्फिकर अली भुट्टोलाई जिया उल हकको शासनले फाँसी दिएपछि नेपालमा विद्यार्थीहरूले सडकमै उत्रेर पञ्चायतको विरोधमा आन्दोलन गरे र राजालाई जनमतसंग्रह गर्न बाध्य तुल्याए।
२०४६ र २०६३ सालका आन्दोलनहरूमा पनि विद्यार्थी र युवा नै अग्रपंक्तिमा थिए। यद्यपि, विद्यार्थी युनियनहरू पार्टीहरूकै युवा जत्था थिए। यसपालिको जेन-जी आन्दोलनमा चाहिँ नेपाली युवाहरू इन्टरनेटबाट स्वतस्फूर्त रूपमा संगठित हुँदै पार्टीहरूका कुशासनको विरोधमा उत्रिए, यसमा विद्यार्थी युनियनहरू संलग्न थिएनन्।
गत शताब्दीमा संसारभरि युवा पुस्ताले सुरु गरेका आन्दोलनहरूको सूची लामो छ– सन् १९६० को दशकमा अमेरिकाको भियतनाम युद्धविरुद्धको अभियान विश्वविद्यालयका युवाहरूले थालेका थिए, दक्षिण अफ्रिकामा अपार्थेइडको विरुद्ध १९७६ को सोवेटो अपराइजिङ स्कुल र कलेजका विद्यार्थीबाट सुरु भयो, चीनकै सन् १९८९ को तियानानमेन स्क्वायरको नरसंहार त्यहाँको सरकारले लोकतन्त्र पक्षधर विद्यार्थीहरूको आन्दोलन दबाउनका लागि गरेको थियो।
दक्षिण अफ्रिकाको अपार्थेइडविरुद्धको अभियान अमेरिकाभरि चर्किरहेका बेला म कोलम्बिया युनिभर्सिटीमा पत्रकारितामा स्नातकोत्तर गर्दै थिएँ। सन् १९८५ मा दीक्षान्त समारोह हुँदाहुँदै हामी १०/१२ जना विद्यार्थी दीक्षान्त बहिष्कार गर्दै बाहिरिएका थियौँ, विश्वविद्यालयले दक्षिण अफ्रिकामा गरेको आर्थिक लगानीको विरोध जनाउन। अहिले अमेरिका र युरोपका विश्वविद्यालयमा विद्यार्थीहरूले गाजामा भइरहेको नरसंहारको जिम्मेवारी इजरायलले लिनुपर्छ भन्ने आन्दोलन चलाइरहेका छन्।
यो नयाँ भाषा र भाष्य पुरानो पुस्ताले बुझ्न सकेको छैन। जेन-जी भनेको पहिलेको पञ्च, मण्डले, वाईसीएल अथवा राजनीतिक दलका विद्यार्थी युनियनजस्ता भन्ठानेको छ। तर, यो अर्कै किसिमको परिघटना हो।
युवाहरूमा ऊर्जा र आक्रोश हुन्छ। र, सरकारी भ्रष्टाचार, कुशासन र दण्डहीनता खप्नै नसक्ने भएपछि त्यसको ज्वालामुखी ढिलोचाँडो फुट्छ। इन्टरनेटले यो आगोलाई छिटो र व्यापक रूपमा फैलाउन मद्दत गरिरहेको छ। नेपालको २०४६ सालको आन्दोलन अथवा माओवादी विद्रोहको बेला सामाजिक सञ्जाल भएको भए र हरेकको हातमा फोन र टिकटक भएको भए त्यसले सार्वजनिक मतलाई कस्तो असर पार्थ्यो होला, अनुसन्धानको विषय हुनसक्छ।
जापानको ‘वान पिस’ भनिने ‘मांगा एनिमे’ को ‘स्ट्र ह्याट पाइरेट्स’ फैलिएर थाइल्यान्ड र इन्डोनेसियाको सामाजिक सञ्जालमा प्रवेश गर्यो। त्यस कार्टुनमा पात्रहरूले निरंकुश र दुष्टहरूको विरोधमा गरेको संघर्षले युवाहरूलाई आफ्नै देशमा भएको भ्रष्टाचार र शासकहरूको नागरिकप्रतिको बेवास्तालाई संकेत गर्यो। सामाजिक सञ्जालमा #NepoBabies भाइरल भयो। किनभने, नेताका नातेदारहरूले त्यही सामाजिक सञ्जालमा आफ्नो विलासिता घमन्डका साथ पोस्ट गरे। फिलिपिन्समा होस् वा थाइल्यान्डमा, इन्डोनेसियामा होस् या नेपालमा, नेताहरूले जनताको कर चोरेर धन कमाउने तरिका उस्तै थियो, र त्यसले सबै देशका युवामा उस्तै आक्रोश जगायो।

ललितपुरको पाटनमा वान पिसको भित्तेचित्र। तस्बिर : बिक्रम राई
यी देशहरूका भिन्नाभिन्नै इतिहास, संस्कृति, भाषा र धर्म छन्, तर टिकटक, इन्स्टाग्राममा फैलिएका र सेयर भएका मिमहरूले विभिन्न देशका युवालाई नयाँ र संयुक्त चिनारी दिए। त्यसले बल र साहस पनि दियो, युवाहरूलाई संसारभरि।
यो नयाँ भाषा र भाष्य पुरानो पुस्ताले बुझ्न सकेको छैन। जेन-जी भनेको पहिलेको पञ्च, मण्डले, वाईसीएल अथवा राजनीतिक दलका विद्यार्थी युनियनजस्ता भन्ठानेको छ। तर, यो अर्कै किसिमको परिघटना हो। यो राजनीतिमा सुधार ल्याउन गैरराजनीतिक गतिविधिबाट आएको हो। यो सीमाविहीन छ र यसलाई आन्तरिक राष्ट्रिय दृष्टिकोणले मात्र हेर्न मिल्दैन। संसारभरिका युवाले उही युट्युब हेर्छन्, उही टिकटक भिडिओ सेयर गर्छन्। भाषाले अवरोध पुर्याए यसले शब्द र वाक्यभन्दा प्रभावकारी मिम, भिडिओ र एआई भिजुअलहरूको प्रयोगमार्फत संवाद र ऐक्यबद्धता अघि बढाउँछ।
‘जेन-जी’ शब्दावली पनि अमेरिकी अंग्रेजीबाट आएको हो। यसकारण विदेशबाट प्रेरित भन्ने आलोचना पनि उठ्ने गरेको छ। तर, इन्टरनेटको भाषामा संसारभर अंग्रेजीकै वर्चस्व छ। जेन-जी अभियन्ताले इन्डोनेसिया अथवा नेपालमा अंग्रेजी भाषा प्रयोग गर्नु भनेको मिमहरूमार्फत आपसमा सञ्चार गरेजस्तै हो। यसले प्रयोगकर्तालाई तर्क, तथ्य, वास्तविकताभन्दा पनि भावनामार्फत प्रभाव पारेको हुन्छ।
बेरोजगार युवा, सरकारी कार्यालयमा सधैँ हन्डर खाएकाहरू, जताततै घुस नखुवाई कामै नहुने कुराको अनुभवले वाक्क भएर विदेश गएका अथवा विदेश जान खुट्टा उचालिसकेकाहरूका लागि जेन-जी आक्रोशले निकास दियो। यस्ता विकृतिहरूले धेरै देशका युवालाई एकै ठाउँमा ल्याइदिए। र, यो पुस्ताको संवाद गर्ने थलो बन्यो– टिकटक, इन्स्टाग्राम र विरोध कार्यक्रमको आयोजना गर्न डिस्कर्ड र वाट्सएप।
लोकतन्त्रमा चुनावहरू हुन्थे, तर तिनै तीन जना नेताहरू घुमिफिरी सत्तामा रहे। प्रेस स्वतन्त्र भएकाले उनीहरूले गरेका बेकाइदा र भ्रष्टाचार बाहिर आउन त आए, र त्यसले जनतामा आक्रोश झन् बढायो र उकुसमुकुस भएर बस्यो।
सूचना प्रविधिका नयाँ आयामहरू (जस्तै, एआई, च्याटबोट) पनि दुवैतिर धार भएका खुकुरीजस्तै हुन्। जसरी सामाजिक सञ्जालले २३ भदौमा जेन-जी युवालाई माइतीघर मण्डलमा भेला हुन मद्दत गर्यो, त्यसैगरी २४ भदौमा उही प्लेटफर्महरूले विध्वंस मच्चाउनेहरूलाई पनि आगजनी र लुटपाट गर्न सघायो, शृंखलाबद्ध तरिकाले। जस्तै, आणविक ऊर्जाको आविष्कारले अपार विद्युत् उत्पादन गर्ने क्षमता त दियो, तर संसार नै नष्ट गर्न सक्ने पनि बनायो।
प्रविधिको धर्म हुँदैन, प्रविधिले नैतिक र अनैतिक छुट्याउन सक्दैन; छुट्याउने दायित्व मानिस, समाज र सरकारहरूमा रहन्छ।
देश र समाजमा असन्तुष्टि बढ्नुको कारण आर्थिक अथवा/र राजनीतिक दुवै हुन्छन्। विभिन्न राज्यहरूले युवाको आक्रोशलाई सम्हाल्न विभिन्न उपाय अपनाउँछन्। नेपालमा भएका गत ८० वर्षका क्रान्तिहरू कुनै पनि टुंगोमा पुगेनन् अथवा पुग्न दिइएन। २००७ साल, २०१७ साल, २०४६ साल, माओवादी विद्रोह। संघीयता र गणतान्त्रिक संविधानले ल्याएको आशा पनि पलाएन। १५ वर्षमा १४ वटा सरकार आए/गए, तर नागरिकको जीवनस्तर विकास, रोजगारी र सुशासनमा आउनुपर्ने सुधार आएन।
लोकतन्त्रमा चुनावहरू हुन्थे, तर तिनै तीन जना नेताहरू घुमिफिरी सत्तामा रहे। प्रेस स्वतन्त्र भएकाले उनीहरूले गरेका बेकाइदा र भ्रष्टाचार बाहिर आउन त आए, र त्यसले जनतामा आक्रोश झन् बढायो र उकुसमुकुस भएर बस्यो। शक्तिशालीहरू भ्रष्टाचारमा मुछिए पनि दण्डहीनताले गर्दा धैरै ‘साना माछा’ मात्रै समातिए र जेल गए। रिसको डढेलो फैलिएर गएको ती नेता र पार्टीहरूले पत्तै पाएनन्, अथवा वास्ता गरेनन्। अझै गरेका छैनन्। जे गरे पनि हुने भयो, हामी धेरै वर्ष संघर्ष गरेर आएको, हामी जनताले चुनिएर आएको भन्ने घमन्ड व्याप्त छ। सामाजिक सञ्जाल बन्द गर्दा समाज र खासगरी युवा, उद्यमी र विदेशमा बसेका साथी र नातेदारहरूमा के असर पर्छ भन्ने कुरा बुझ्दै बुझेनन् र त्यो क्रोधले २३ भदौमा विस्फोटक रूप लियो।

जेन-जी आन्दोलनको पहिलो दिन २३ भदौमा संसद् भवनअगाडि भएको प्रदर्शन। तस्बिर : बिक्रम राई
अरू देशका तानाशाहविरुद्धको आन्दोलनभन्दा नेपालको अलि भिन्नै थियो। युवाहरू कुनै पनि पार्टी अथवा तिनीहरूको भ्रातृ संगठनसँग गाँसिएका थिएनन्। र, जुन सरकारको विरोधमा सडकमा उत्रिए, त्यो उत्तरदायी नभए पनि लोकतान्त्रिक चुनावको प्रक्रियाबाटै सत्तामा आएको थियो।
राजनीतिक र अभिव्यक्ति स्वतन्त्रताका लागि हुने आन्दोलनको उदाहरण चाहिँ चीनको सन् १९८९ को तियानानमेन आन्दोलन नै हो। हजारौँ चिनियाँ विद्यार्थी मारिए। र, त्यसबाट कम्युनिस्ट पार्टीका नेताहरूले तुरुन्त पाठ सिकेर आर्थिक क्रान्तिको जग बसालेर व्यापक विकास, पूर्वाधारको विस्तार र रोजगारी सिर्जना गर्नतिर लागे। ३० वर्षमा झन्डै ३० करोड चिनियाँहरू गरिबीको रेखामाथि उठ्न सके।
भएको लोकतन्त्र सपार्नेतिरै लागे हाम्रै भलो हुन्छ। भदौको नवयुवा आन्दोलनले नेपालीलाई त्यो अवसर दिएको छ।
भारतमा भने यति ठूलो उथलपुथल भएन, तर संसारकै सबैभन्दा ठूलो लोकतान्त्रिक देशका चुनिएका नेताहरूले चाहिनेजति विकास गर्नै सकेनन्। आर्थिक प्रगति भए पनि गरिबी र असमानता व्यापक रह्यो। करोडौँ युवा बेरोजगार छन्।
हाम्रो जेन-जी आन्दोलनपछि धेरै भारतीय विज्ञले त्यहाँ पनि त्यसैगरी आन्दोलन हुनसक्छ कि भन्ने आकलन गरेका थिए। तर, हुँदैन भन्ने निष्कर्षमा पुगे। यसको कारण गत १० वर्षमा नयाँ दिल्लीका शासकहरूले युवाहरूको निराशालाई चलाखीपूर्ण रूपले अर्कैतिर मोड्न सफल भएको भन्नुपर्छ। देशबाहिरका शत्रुराष्ट्रलाई देखाएर समाजलाई एकीकृत गर्न र देशभित्रका अल्पसंख्यक धर्मावलम्बी र जातजातिहरूलाई खतराको दृष्टिकोणबाट हेर्न आफूनियन्त्रित मिडियालाई प्रयोग गरे। यसले बढ्दो युवा आक्रोशलाई निकास दियो र जनताको ध्यान अर्कैतिर मोड्न सघायो।
भारतको प्रभाव प्रत्यक्ष नेपालमा पर्ने हुनाले नेपालको राज्य, जनता र प्रेस पनि यस्तो हुन नदिन अब सचेत हुनुपर्छ। चुनाव भए पनि त्यसले लोकरिझ्याइँवादी र निर्वाचित तानाशाहहरूलाई शक्तिमा पुर्याउन सक्छ। नेपालको लोकतन्त्र संकटमा परेको लोकतान्त्रिक प्रणालीको दोष होइन, राज्य हाँक्ने बूढा नेताहरू र उनीहरूको अहंका कारणले हो। लोकतन्त्रको विकल्प अझै प्रभावशाली लोकतन्त्र नै हुनुपर्छ।
तर, चीन र सिंगापुरजस्ता अधिनायकवादी देशहरूले गरेको प्रगति गर्दा कोही कोही नेपालमा लोकतन्त्र अपरिहार्य होइन भन्न रुचाउनेहरू पनि छन्। हामीमध्ये केही कोही सौम्य तानाशाह आएर हाम्रो देशलाई उचालोस् भन्ने पर्खाइमा पनि हुनसक्छौँ। विडम्बना, हामीले विगतमा धेरै किसिमको अधिनायकवाद भोगिसक्यौँ, तर विकासको मूल केही गरे पनि फुट्दै फुटेन। त्यसैले भएको लोकतन्त्र सपार्नेतिरै लागे हाम्रै भलो हुन्छ। भदौको नवयुवा आन्दोलनले नेपालीलाई त्यो अवसर दिएको छ।