काठमाडौँ
००:००:००
४ पुष २०८२, शुक्रबार

बेथिति

उदयपुरको आयुर्वेद सेवा केन्द्रका प्रमुख गम्भीर झाले नक्कली कागजात बनाएर अनियमितता गरेको छानबिन समितिको ठहर

१७ मंसिर २०८२
उदयपुर जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र र इन्सेटमा केन्द्रका प्रमुख गम्भीर झा
अ+
अ-

विराटनगर। कोसी प्रदेशको उदयपुरस्थित जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रमा बिरामीको औषधि उपचारका लागि विनियोजित सरकारी बजेट फर्जी बिल बनाएर हिनामिना गरिएको तथ्य सार्वजनिक भएको छ। केन्द्रका प्रमुख एवं आयुर्वेद चिकित्सक गम्भीर झा नै राज्यकोष हिनामिनामा संलग्न देखिएको स्वास्थ्य निर्देशनालय धनकुटाले गठन गरेको छानबिन समितिले ठहर गरेको छ। समितिको प्रतिवेदनले झाको नेतृत्वमा आर्थिक अनियमितता भएको निष्कर्ष निकालेको हो।

आर्थिक वर्ष २०८१/८२ मा होमियोपेथिक औषधि खरिदका लागि विनियोजित बजेटमा झाले अनौठो शैली अपनाएका रहेछन्। छानबिन समितिको प्रतिवेदनअनुसार उदयपुरको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्रको सरकारी रेकर्डमा औषधि खरिद भएको देखिन्छ, बिल भर्पाई पनि दुरुस्त छ, औषधि खरिदको भुक्तानी पनि गरिएको छ। तर, कार्यालयको स्टोरमा एउटा पनि औषधि भेटिएन।

समितिको प्रतिवेदनअनुसार झाले एक लाख ११ हजार ८४८ रुपैयाँ बराबरको औषधि खरिद गरेको भन्दै बिल पेस गरेका थिए। उनले ११ जेठ २०८२ मा सुनसरीको इटहरी-८ स्थित ‘माउन्ट एभरेस्ट होमियो मेडिको प्रालि’ बाट औषधि खरिद गरेको बिल आफू प्रमुख रहेको कार्यालयमा पेस गरेका थिए।

माउन्ट एभरेस्ट होमियो मेडिकोको नाममा झाले बनाएको नक्कली बिल

तर, स्वास्थ्य निर्देशनालय धनकुटाका उपसचिव सोम अधिकारीको नेतृत्वमा खटिएको तीनसदस्यीय छानबिन टोलीले भदौको पहिलो साता कार्यालयको स्टोर निरीक्षण गर्दा खरिद गरिएको भनिएका कुनै पनि औषधि फेला पारेन। समितिको प्रतिवेदनमा भनिएको छ, ‘बिल आयो र भुक्तानी पनि भयो, तर स्टोरमा औषधि छैन। कार्यालयमा दाखिला हुनुपर्ने औषधिको नामोनिसान नभेटिनुले सीधै फर्जी बिल बनाएर राज्यको रकम दोहन गरेको पुष्टि हुन्छ।’

उदयपुरको त्रियुगा नगरपालिका-१५ स्थित रानीबास माध्यमिक विद्यालयमा १० जेठ २०८२ मा सञ्चालन गरिएको ‘निःशुल्क आयुर्वेद तथा वैकल्पिक चिकित्सा शिविर’ मा पनि झाले बदमासी गरेका थिए। शिविर सञ्चालनका लागि सरकारले दुई लाख ५० हजार रुपैयाँ बजेट विनियोजन गरेको थियो। सरकारी निर्देशिकाअनुसार त्यो रकममध्ये ६० प्रतिशत (डेढ लाख रुपैयाँ) औषधि खरिदमा र ४० प्रतिशत रकम व्यवस्थापनमा खर्च गर्नुपर्ने हुन्छ। तर, झाले शिविरमा बिरामीलाई वितरण गर्न नयाँ औषधि खरिद गरेनन्। उनले कार्यालयमा पहिल्यैदेखि निःशुल्क वितरण गर्न राखिएका औषधि शिविरमा वितरण गरे। कागजमा भने शिविरका लागि नयाँ औषधि खरिद गरेको भन्दै नक्कली बिल भर्पाई पेस गरेका थिए।

सबैभन्दा लज्जास्पद त जडीबुटी उद्यान निर्माणमा देखिएको छ। कार्यालय परिसरमा जडीबुटीका बिरुवा रोप्न गत आर्थिक वर्षमा ४५ हजार रुपैयाँ विनियोजन भएको थियो। तर, आयुर्वेदका लागि आवश्यक जडीबुटी रोप्नुपर्नेमा झाले आँप, लिची, कटहर, मेवाजस्ता फलफूलका बिरुवा रोपेको भन्दै बिल बनाए। त्यसमा पनि खरिद गरिएका यी फलफूलका बिरुवा पनि कार्यालय परिसरमा रोपिएका थिएनन्, अन्यत्रै राखिएका थिए।

जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र उदयपुरको फार्मेसीमा रहेको खाली र्‍याक

त्यस्तै, जडीबुटी उद्यानका नाममा विनियोजित ४५ हजार रुपैयाँ झाले आफ्ना सवारी चालक फाकेन चौधरीको नाममा चेक काटेर भुक्तानी दिएका थिए। छानबिन समितिले यो रकम बेरुजु देखाएपछि झाले उक्त रकम राज्यकोषमै फिर्ता गरेका छन्। झाले भने यस प्रकरणमा आफू निर्दोष रहेको दाबी गरेका छन्। उनले आफूलाई सरुवा गराउन केही गिरोह सक्रिय रहेको र बदनाम गराउन खोजिएको तर्क गरे। “मैले स्पष्टीकरणको जवाफ बुझाइसकेको छु,” डा. झा भन्छन्, “जडीबुटीको हकमा मैले खरिद गरेर ल्याएको थिएँ, तर यहाँ रोप्ने वातावरण दिइएन। त्यसपछि मेरो नाममा बेरुजु आयो, त्यो मैले तिरिसकेको छु।”

न्यूनतम सेवा मापदण्ड (एमएसएस) सुधार कार्यक्रमअन्तर्गत विनियोजित तीन लाख रुपैयाँमा पनि अनियमितता भेटिएको छानबिन समितिको प्रतिवेदनमा छ। त्यो रकम अस्पतालको सेवामा देखिएका कमीकमजोरी हटाउन खर्च गर्नुपर्ने थियो। त्यसमा पनि अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको बैठकबाट कार्ययोजना पास गराएर मात्र त्यो खर्च गर्नुपर्ने नियम छ।

तर, झाले विना कार्ययोजना आफूखुसी प्रयोगशालाका सामान खरिद गरेको भन्दै बिल पेस गरेर भुक्तानी लिएका थिए। ‘विनियोजित रकम जुन शीर्षक र प्रक्रियाका लागि आएको हो, त्यो पूरा नगरी आफूखुसी खर्च गर्नु आर्थिक अनुशासनहीनताको पराकाष्ठा हो,’ छानबिन समितिको प्रतिवेदनमा किटान गरिएको छ।

नागरिक आरोग्य सेवा केन्द्रका अभियन्ताहरूको नियुक्ति ढिलो गरी उनीहरूको बाँकी रहेको तलबभत्ता पनि झाले कार्यविधिविपरीत नक्कली बिल बनाएर आफैँले लिएको छानबिन समितिको प्रतिवेदनमा छ। त्यस्तै, उनले स्वस्थ जीवन प्रवर्द्धनका लागि योग अभ्यास कार्यक्रमको एक लाख रुपैयाँ पनि विनामापदण्ड खर्च गरेका छन्। छानबिन समितिले झाले गरेको अनियमितताको छानबिन गरी १८ भदौ २०८२ मा प्रदेशस्थित स्वास्थ्य मन्त्रालयमा प्रतिवेदन बुझाएको थियो।

सोही प्रतिवेदनका आधारमा कोसी प्रदेश स्वास्थ्य मन्त्रालयका तत्कालीन उपसचिव कुलप्रसाद गुरागाईंले २५ भदौमा झालाई सातबुँदे स्पष्टीकरण सोधेका थिए। त्यसमा भनिएको छ, ‘बजेट बराबरको औषधि खरिद नगरी बिल मात्र दाखिला गरी भुक्तानी किन गरेको? जडीबुटी नलगाई किन भुक्तानी लिएको?’

स्वास्थ्य निर्देशनालय धनकुटाको छानबिनपश्चात् झालाई स्पष्टीकरण पेस गर्न निर्देशन दिएको पत्र

झाले यसको जवाफ दिइसकेका छन्।

कोसी प्रदेशका स्वास्थ्यमन्त्री भूपेन्द्र राई मन्त्रालयले झालाई थप कारबाहीको प्रक्रिया अगाडि बढाउने तयारी गरिरहेको बताउँछन्। “यस विषयमा मन्त्रालयले थप निर्णय गर्ने तयारी गरेको छ,” उनले भने, “यसै विषयलाई लिएर अहिले बैठक जारी छ।” मन्त्रालयका सचिव डा. यदुचन्द्र घिमिरेले झाले उदयपुर कार्यालयमा अनियमितता गरिएको पुष्टि भइसकेको बताए।