काठमाडौँ। बीपी राजमार्गमा लागुपदार्थ सेवन गरेर सवारीसाधन चलाएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ।
सिन्धुली प्रहरीका अनुसार बीपी राजमार्गमा बिहीबार साढे ३ देखि साढे ४ बजेसम्म एक घण्टा चालकमा लागुपदार्थ सेवन परीक्षण गरिएको थियो। बस, ट्रक, माइक्रो, सुमो, इलेक्ट्रिक भ्यान, पिकअप र मोटरसाइकल चालकको परीक्षण गरिएको थियो।
बीपी राजमार्गको सिन्धुली कमलामाई ७‚ गडौली पुलमा परीक्षण गर्न जिल्ला जनस्वास्थ्य कार्यालयका एक, जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक प्रहरी कार्यालयका गरी १९ जना खटिएको सिन्धुली प्रहरी प्रमुख प्रहरी उपरीक्षक लालध्वज सुवेदीले बताए।
टोलीले लागुपदार्थ जाँचको किट बोकेर सडकमा परीक्षण गर्न खटिएको थियो। परीक्षणमा लागुपदार्थ सेवन गरेको भेटिएका ६ जनालाई कारबाही थालिएको सुवेदी बताउँछन्।