अपराध
भारतीय ५१७ जना र अन्य देशका ९४ जना कैदीबन्दी कारागारबाहिरै
जेन-जी आन्दोलनका क्रममा २४ भदौमा भएको विध्वंस र आगजनीपछिको भद्रगोल अवस्थाको फाइदा उठाउँदै देशभरका कारागारबाट कैदीबन्दी भागे। त्यसक्रममा अदालतबाट गम्भीर अपराधमा दोषी ठहर भई सजाय भोगिरहेका विदेशीसमेत जेलबाट भागेका थिए।
कारागार व्यवस्थापन विभागका अनुसार २४ भदौपछि देशभरका कारागारबाट १४ हजार ५५४ कैदीबन्दी भागेका थिए। तीमध्ये आत्मसमर्पण गरेका र प्रहरीले पक्राउ गरेकासमेत गरी हालसम्म १० हजारभन्दा बढी कैदीबन्दीलाई जेल फर्काइएको छ। चार हजार ५०५ कैदीबन्दी अझै सम्पर्कमा नआएको विभागको ११ मंसीरसम्मको तथ्यांकले देखाएको छ। तिनमा तीन हजार ८९४ जना नेपाली छन् भने ६११ जना विदेशी छन्। फरार विदेशीमध्ये ५१७ भारतीय तथा ९४ जना चीन, दक्षिण अफ्रिकालगायत मुलुकका छन्।
फरार भएकाहरूको अभिलेखमा उनीहरूको ठेगाना र लागेको अभियोग पनि उल्लेख छ। भागेका विदेशी कैदीबन्दीको सूचीमा लागुऔषध बेचबिखन तथा ओसारपसार, जबर्जस्ती करणी, कर्तव्य ज्यानसम्बन्धी गम्भीर मुद्दामा दोषी ठहर भइसकेकाहरू पनि छन्। यसका साथै, मानव बेचबिखन, अपहरण तथा शरीर बन्धक, मुद्रासम्बन्धी, ठगी, चोरीलगायत आपराधिक गतिविधिमा संलग्नहरू फरार छन्। भागेका विदेशी कैदीबन्दीमध्ये विभिन्न अपराधमा अदालतले दोषी ठहर गरी तोकेको कैद सजाय भोगिरहेका र केही पुर्पक्षका लागि थुनामा थिए।
भागेकाहरूलाई खोजी गरेर पक्राउ गर्ने अभियान थालिएको छ। हरेक जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ‘फरार कैदीबन्दी खोजी तथा पक्राउ कार्यदल’ बनाइएको छ।
विदेशी कैदीबन्दी कारागार फर्कने सम्भावना न्यून रहेको कारागार व्यवस्थापन विभागकै अधिकारीहरू बताउँछन्। किनकि, खुला सिमानाका कारण उनीहरू भारत हुँदै तेस्रो मुलुक गएको हुनसक्छ। कैदीबन्दी भागेपछि विभागले कारागारमा फर्काउन केही ढिलो गरी पहल थालेको थियो।
विभागका निर्देशक चोमेन्द्र न्यौपाने भने भागेका कैदीबन्दी फर्काउन प्रहरी प्रशासन र स्थानीय निकायसँग समन्वय भइरहेको बताउँछन्। “फरार कैदीबन्दीको नाम, ठेगानासहित ७७ वटै जिल्लाका प्रशासन कार्यालय, प्रहरी र स्थानीय तहका सेवाप्रदायक संस्थामा पठाइसकेका छौँ,” न्यौपाने भन्छन्, “दसैँतिहार मनाएर फर्कने गरी सुविधा दिँदा पनि नफर्किएपछि हामीले नामावली नै सार्वजनिक गरेर खोजी थालेका हौँ।” विभागले सार्वजनिक सूचना नै जारी गरेर २० कात्तिकसम्म आफैँ फर्कन कैदीबन्दीलाई आग्रह गरेको थियो।

डिल्लीबजार कारागारबाट भाग्न खोजेका कैदीलाई रोक्दै सेना। तस्बिर : बिक्रम राई
न्यौपानेका अनुसार फरार कैदीबन्दीको तस्बिरसहितको विवरण अध्यागमनमा पनि पठाइएको छ। भागेका विदेशी कैदीबन्दीको नामावली परराष्ट्र मन्त्रालयमार्फत पनि पठाइएको छ। सामाजिक सञ्जालमा पनि नामावली राखिएको उनी बताउँछन्। “फरार विदेशी कैदीबन्दीमध्ये भारतीय बढी छन्। लुकिछिपी आफ्नो देश फर्कने सम्भावना भएकाले अध्यागमन विभागमा नामावली पठाइएको हो। सम्बन्धित देशमा पनि जानकारी गराइएको छ। विदेश भाग्न त्यति सजिलो छैन,” न्यौपाने भन्छन्।
फरार ६११ जना विदेशी कैदीबन्दीमध्ये ५१७ भारतीय छन्। यस्तै, चीनका २२, बाङ्लादेशका १५, दक्षिण अफ्रिकाका ११, म्यानमारका पाँच, उज्वेकिस्तान, थाइल्यान्ड र पाकिस्तानका चार चार, मलेसिया, तान्जानिया, भुटान र सुडानका तीन तीन, बोलिभियाका दुई जना तथा कंगो, केन्या, संयुक्त राज्य अमेरिका, भेनेजुएला, युगान्डा, युक्रेन, इजिप्ट, ब्राजिल, रुस, नाइजेरिया, भियतनाम, ताइवान, क्यानडा र अमेरिकी सामोआका एक एक जना छन्।
भागेकाहरूलाई खोजी गरेर पक्राउ गर्ने अभियान थालिएको छ। हरेक जिल्लामा सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा ‘फरार कैदीबन्दी खोजी तथा पक्राउ कार्यदल’ बनाइएको छ। कार्यदलमा जिल्लास्थित सुरक्षा निकायका प्रतिनिधि, कारागार प्रमुखसहित समावेश छन्।
२४ भदौको जेन-जी आन्दोलनमा सरकारी र निजी सम्पत्तिमा तोडफोड र आगजनी भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नख्खु कारागारबाट निस्केका थिए। उनी निस्केको थाहा पाएपछि देशभरका कारागार तोडेर कैदीबन्दी भागेका थिए।
भागेका विदेशी कैदीबन्दी नेपालमै छन् भन्ने झिनो आशा विभागको छ। किनकि, उनीहरूलाई ट्राभल डकुमेन्ट, पासपोर्ट, भिसा चाहिने हुनाले नेपाल छोड्न सहज छैन।
अर्कातर्फ, भारतसँगको खुला सिमानाको फाइदा उठाएर बाहिरिएको हुनसक्ने आकलन पनि छ। भारतीय कैदीबन्दीलाई भाग्न सहज देखिएको छ। विभागले तराईका विभिन्न जिल्ला पुगेर निरीक्षण र अनुगमन गरेको निर्देशक न्यौपाने बताउँछन्। काठमाडौँबाट भागेर झापा, कैलालीलगायत जिल्ला पुगेका हुनसक्ने भएकाले हरेक जिल्लामा खोजी कार्य तीव्र पारिएको उनको भनाइ छ।
निर्देशक न्यौपानेका अनुसार भागेका कैदीबन्दीको विषयमा चीन र भारतका प्रहरी प्रशासनसँगको बैठकमा पनि छलफल भइरहेको छ। भन्छन्, “यहाँबाट अपराध गरेर भागेका व्यक्ति सम्बन्धित देशलाई टाउको दुखाइको विषय पक्कै हुन्छ। भारतीय प्रहरी, प्रमुख जिल्ला अधिकारीलगायतसँगको समकक्षी बैठकमा पनि फरार व्यक्तिहरूको नामावली आदानप्रदान गरिरहेका छौँ।”
२४ भदौको जेन-जी आन्दोलनमा सरकारी र निजी सम्पत्तिमा तोडफोड र आगजनी भएपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने नख्खु कारागारबाट निस्केका थिए। उनी निस्केको थाहा पाएपछि देशभरका कारागार तोडेर कैदीबन्दी भागेका थिए। केही कारागारमा स्थिति नियन्त्रणमा लिन सेनाले गोलीसमेत चलाएको थियो। भाग्ने क्रममा १५ जना कैदीबन्दीले ज्यान गुमाएका थिए।