रामेछाप। सिन्धुली र रामेछापको सीमा रहेको सुनकोसी नदीको खैरेनीघाटमा बेली ब्रिज (फलामे पुल) जडान सुरु भएको छ।
गत वर्षको असोजमा रोशीखोला र सुनकोसीमा आएको बाढीले नेपालथोकनजिक खैरेनीघाटको पक्की पुललाई क्षति पुर्याएपछि बेली ब्रिज जडान गर्न लागिएको हो। यहाँ ७० मिटर लम्बाइ भएको बेली ब्रिज जडान हुनेछ। सिंगल लेन पुलको भार वहन क्षमता २० टन छ।
विपद्बाट क्षति पुगेका सडक सञ्जाललाई नियमित रुपमा सञ्चालनका लागि सरकारको अनुरोधमा भारतले उक्त बेली ब्रिज अनुदानमा उपलब्ध गराएको हो। भारतले अनुदानमा उपलब्ध गराएका १० बेली ब्रिजमध्ये एउटा खैरेनीघाटमा जडान गर्न लागिएको हो।
बेली ब्रिज खैरेनीघाटसम्म ढुवानी भइसकेको छ। जडानका लागि भारतबाट प्राविधिकहरु निर्माणस्थल पुगिसेकका छन्। बाढीले पुलसम्म पुग्ने सडक क्षति पुर्याएको थियो। उक्त स्थलसम्म पुग्ने सडकको ट्रयाक खोलिसकिएको छ।
सहरी विकासमन्त्री कुलमान घिसिङले बिहीबार खैरेनीघाट क्षेत्रको स्थलगत निरीक्षण गरी बेली ब्रिज जडानबारे जानकारी लिएका छन्। उनले विपद्का कारण पुलमा क्षति पुग्दा रामेछापका सुनापति, खाँडादेवी, दोरम्बा, काभ्रेको चौंरीदेउरालीलगायत क्षेत्रको तराई-काठमाडौंसँगको सडक सम्पर्क टुटेको छ। जसले आउजाउमा कठिनाइ भएकाले पुल जडान जतिसक्दो चाँडो सक्न घिसिङले निर्देशन दिए।