काठमाडौँ। मार्गशीर्ष शुक्ल पूर्णिमाका दिन अर्थात आज धानको विधिपूर्वक पूजाआजा एवं दान गरी धान्यपूर्णिमा पर्व मनाइएको छ।
मङ्सिरमा धान भित्र्याएपछि शुक्ल पूर्णिमामा धान, गणेश, कुलदेवता, गैडु देवता, गोठ देवता, महारुद्र, महालक्ष्मीलगायत देवताको पूजा गरी नयाँ भित्रिएको धान कुटेर चामल बनाउने त्यसबाट पीठो पिँधेर सेल, बाबर, पुरी मालपुवा र नेवार समुदायले योमरी बनाएर चढाउने परम्परा छ।
नयाँ धान भित्र्याएको खुसियालीमा उपत्यका लगायत देशभरका नेवार समुदायले यो:मरि पूर्णिमा पर्वका साथै राष्ट्रिय ज्यापु दिवस हर्षोल्लासका साथ मनाएका छन्।
यस वर्षको यो:मरि पूर्णिमा एबं राष्ट्रिय ज्यापु दिवसको र्याली काठमाडौं ५ हाँडीगाउँबाट निकालिएको छ र्याली हाँडिगाउँ बाट सुरु हुदै टंगाल गणेश, नक्साल भगवती मन्दिर, प्यगं:था, नाग पोखरी, नारायण हिटी, कशर महल, ठँबही त्रिदेवी चोक, ज्याठा,त्य:र, असं,बालकुमारी,केलत्वा: , वंघ: , मरुत्वा, कालभैरव, हनुमान ध्वाका हुदै बसन्तपुरमा समाप्त हुने आयोजकले जानकारी दिएको छ।
यो:मरि पूर्णिमालाई योमरी पुन्हि पनि भनिन्छ। नेवार समुदायको ठूलो चाडका रूपमा मनाउने यस चाडलाई खाद्यपदार्थको रसिलो चाडका रूपमा पनि लिइन्छ। योमरी नयाँ धानबाट बनेको चामलको पीठो, चाकु र तिलबाट बनाइन्छ।
काठमाडौं उपत्यकाका नेवार समुदाय अन्तर्गतका ज्यापुहरुले एक साथ योमरी पुन्ही र राष्ट्रिय ज्यापु दिवस मनाएका छन्।