नयाँदिल्ली। भारतको ठूलो विमान सेवा इन्डिगोले केही दिनयता देशभर १२ सयभन्दा बढी उडान रद्द गरेपछि भारतीय विमानस्थलहरू अस्तव्यस्त भएका छन्। ठूलो सङ्ख्यामा उडान रद्द भएपछि हजारौँ यात्रु अलपत्र परेका छन्।
इन्डिगोले अवरोधलाई प्राविधिक त्रुटि, प्रतिकूल मौसमी अवस्था र कामदारहरूका लागि नयाँ नियमलगायत ‘अप्रत्याशित परिचालन चुनौती’ का कारण आएको समस्या भनेको छ।
भारतको उड्डयन निगरानी निकायले अनुसन्धान गर्न आदेश दिएको छ। सोमबारदेखि जारी अवरोधलाई कम गर्ने योजनाका साथ इन्डिगोलाई प्रतिक्रिया दिन निर्देशन गरेको भारतीय सञ्चारमाध्यमहरुले समाचार लेखेका छन्।
उडान अवरुद्ध भएपछि बिहीबार हजारौँ यात्रु तथा उनीहरूका आफन्तले आफ्नो आक्रोश सामाजिक सञ्जालमार्फत सार्वजनिक गरेका छन्। उनीहरुले विमानस्थलको अवस्था ‘पूर्ण अस्तव्यस्त’ बनेको प्रतिक्रिया दिएका छन्।
बिहीबारसम्म इन्डिगोका एक हजार २३२ उडान रद्द गरिएको कम्पनीले जनाएको छ। तर कति विमानको उडानमा ढिलाइ भयो भन्नेबारे कुनै सङ्ख्या स्पष्ट छैन।

इन्डिगोले आफ्ना यात्रुलाई वैकल्पिक यात्राको व्यवस्था मिलाउन भनेको छ। कम्पनीले ‘उल्लेख्य रूपमा’ यसका विमानको उडान कार्यक्रम अवरोध हुनुमा आंशिक रूपमा नयाँ ‘क्रू रोस्टरिङ’ नियमसँगसँगै अन्य प्राविधिक कारण जिम्मेवार रहेको उल्लेख गरेको छ।
यात्रु सुरक्षा बढाउन चालक र चालक दललाई बढी आराम दिने लक्ष्य राखिएको यो नियम गत महिनादेखि सुरु भएको थियो। यो अवरोध समयनिष्ठतामा आफ्नो प्रतिष्ठा निर्माण गरेको ‘नो-फ्रिल्स क्यारियर’को लागि अर्को झट्का हो।
गत साता एयरबसले विश्वभर ६ हजार विमानको तत्काल अपग्रेडका लागि अलर्ट जारी गरेपछि इन्डिगोका २०० विमान प्रभावित भएका थिए। एक दिनमा करिब पाँच लाख यात्रुलाई हवाई सेवा दिने भारत विश्वको सबैभन्दा द्रुत वृद्धि भइरहेको उड्डयन बजारहरूमध्ये एक हो।