काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

फुटबल

तीन स्टार खेलाडीको अनुपस्थितमा छोटो तयारीका बीच मैदानमा उत्रिँदै एपीएफ क्लब

१८ मंसिर २०८२
एन्फा महिला लिगमा त्रिभुवन आर्मी क्लबविरुद्धको खेलमा एफीएफ क्लबका खेलाडी। तस्बिर : एन्फा
अ+
अ-

राष्ट्रिय होस् वा अन्तर्राष्ट्रिय प्रतियोगिता– स्ट्राइकर सावित्रा भण्डारी, मिडफिल्डर प्रीति राई र गोलकिपर अञ्जिला तुम्बाप्पो सुब्बा एकसाथ मैदानमा नउत्रिँदासम्म टिमको प्रभाव कमजोर देखिन्छ।

विभागीय टिम सशस्त्र प्रहरी बल (एपीएफ) बाट फुटबल करिअर सुरु गरेकी साम्बाले अग्रपंक्ति बलियो बनाएकी थिइन्। प्रीतिले उत्कृष्ट पास दिएर उनलाई गोलका लागि अवसर सिर्जना गर्ने गरेकी थिइन्। अञ्जिला विपक्षीको प्रहार रोक्न खप्पिस मानिन्छिन्।

तर, हालका दिन यी तीन खेलाडी न घरेलु प्रतियोगितामा एकसाथ मैदानमा उत्रिन्छन्, न त अन्तर्राष्ट्रिय प्रतियोगितामै। साम्बा न्युजिल्यान्डको क्लब वेलिंगटन फिनिक्समा अनुबन्धित छिन्। प्रीति जोर्डनको क्लब अल–इतिहादबाट व्यावसायिक करिअरलाई अगाडि बढाइरहेकी छन्। राष्ट्रिय टोलीमा स्थान बनाउन नसकेकी अञ्जिला पनि भारतीय क्लब सेथु एफसीमा फर्किएकी छन्।

यी खेलाडी अनुपस्थित रहँदा विभागीय टिम एपीएफ साफ महिला क्लब च्याम्पियनसिपको तयारी गरिरहेको छ। यी खेलाडीबिना एपीएफलाई अगाडि बढ्न गाह्रो पर्ने मुख्य प्रशिक्षक जीवेशकुमार पाण्डे स्वीकार गर्छन्।

“यी तीन खेलाडी नहुँदा एपीएफलाई मात्र होइन, राष्ट्रलाई असर गरिरहेको छ,” उनी भन्छन्। एपीएफले साम्बाबिना विगत तीन वर्षयता राष्ट्रिय महिला लिगसहित मोफसलका आधा दर्जन प्रतियोगिता खेलिरहेको छ।

उनको स्थानमा प्रशिक्षक पाण्डेले रश्मीकुमारी घिसिङलाई प्रयोग गरिरहेका छन्। राष्ट्रिय लिगमा ३८ गोल गरेकी रश्मीले अन्तर्राष्ट्रिय प्रतियोगितामा खासै प्रभाव जमाउन सकेकी छैनन्। साम्बाविरुद्ध दुईपल्ट एएफसी च्याम्पियन्स लिग छनोट खेलेको एपीएफ यतिबेला लिग चरण पार गर्नु त टाढाको कुरा एक जित पनि निकाल्न सकिरहेको छैन।

एपीएफकी रश्मीकुमारी घिसिङ। तस्बिर : एन्फा

अर्कोतर्फ ६ खेल खेल्दा एक गोल मात्र गर्न सक्नुले साम्बाको अनुपस्थिति स्पष्ट देखिन्छ। यस्तो कठिन समयमा प्रीति पनि एपीएफबाट साम्बालाई नै पछ्याउँदै जोर्डनको क्लबमा पुगेकी छन्। यसले एपीएफको मिडफिल्ड क्षेत्रलाई कमजोर बनाइरहेको छ। जसको असर एपीएफ गोलकै लागि संघर्ष गर्नु परिरहेको अवस्थाले बयान गर्छ।

नेपालको महिला फुटबलमा देखिएको यो अवस्थामा दक्षिण एसियाली फुटबल महासंघ (साफ)ले महिला फुटबललाई बलियो बनाउने योजना अगाडि सारेको छ। योजनाअनुसार शुक्रबारदेखि उसले साफ महिला क्लब च्याम्पियनसिप गर्न लागेको छ। मुख्य खेलाडी नहुनु र भएका अधिकांश खेलाडी पनि इन्डोनेसियामा भएको थ्री नेसन्स कप खेलेर भर्खरै फर्किनुले एपीएफलाई थप संकटमा पारेको छ।

प्रशिक्षणको अभाव

साफ महिला क्लब च्याम्पियनसिप खेल्ने टोलीमा राष्ट्रिय टोलीबाट खेल्दै आएका एक दर्जन बढी खेलाडी छन्। यी खेलाडी गत जुनदेखि नै राष्ट्रिय ‘ड्युटी’मा व्यस्त छन्। यी खेलाडीले जुनमा थाइल्यान्डसँग दुई मैत्रीपूर्ण खेल खेलेका थिए। त्यसमा एक अनौपचारिक रहेको थियो। जुलाईमा भने लाओस, श्रीलंका र उज्बेकिस्तानसँग एएफसी महिला एसियन कप छनोट खेल्यो। त्यसपछि करिब दुई महिना आराम गरेको टोलीले अक्टोबरमा इरान र भारतसँग दुई मैत्रीपूर्णसहित तीन खेल खेल्यो।

सिलगुडी र सक्किममा भएका ती खेलपश्चात् एपीएफ झापा महिला गोल्डकप खेल्न सिधै पुगेको थियो। उक्त गोल्डकपपछि टोली इन्डोनेसियामा भएको थ्री नेसन्स कपमा व्यस्त रह्यो। घरेलु टोलीसँग २–१ र चाइनिज ताइपेइसँग १–० को हार बेहोरेर नेपाल बिहीबार मात्र स्वदेश फर्किएको हो। २४ घन्टा पनि प्रशिक्षण नगरी टोलीको एक सेट साफ महिला क्लब च्याम्पियनसिपमा उत्रिन लागेको हो।

एपीएफले शुक्रबार पहिलो खेलमा बंगलादेशी क्लब नासरिन स्पोर्ट्स एकेडेमीलाई चुनौती प्रस्तुत गर्नेछ। “विदेशी खेलाडी पनि हिजो राति १/२ बजे आइपुगेका हुन्। उनीहरूलाई पनि परिस्थिति अनुसार ढल्न गाह्रो हुन्छ,” प्रशिक्षक पाण्डे भन्छन्।

नयाँ खेलाडी अनुबन्ध, गीताको पुनरागमन

साफले सहभागी ५ क्लबलाई समान ५ विदेशी खेलाडी अनुबन्ध गर्न छुट दिएको थियो। तर, घरेलु प्रतियोगितामा कुनै विदेशी खेलाडी नउतारेको एपीएफले यो प्रतियोगितामा पनि विदेशी खेलाडी अनुबन्ध गर्ने सोच बनाएन। बरू झापा गोल्डकपको फाइनलमा एपीएफविरुद्ध निर्णायक गोल गर्दै नेपाल पुलिस क्लबलाई उपाधि जिताएकी मीना देउवालाई अनुबन्ध गरेर टिम बलियो बनाउने प्रयास गरेको छ।

गीता राना मगर। तस्बिर : एन्फा

मिना पछिल्लो समयकी उदयीमान स्ट्राइकर हुन्। बंगलादेशमा भएको साफ महिला यु–२० च्याम्पियनसिपमा ७ गोल गरेकी उनले भारतको सिलोङमा भएको थ्री नेसन्स प्रतियोगितामा घरेलु टोलीविरुद्ध अन्तर्राष्ट्रिय डेब्यु गरेकी हुन्। त्यसयता उनले प्राय: टोलीमा स्थान बनाउँदै आएकी छन्।

यता, भुटानी लिग सकेर आएकी पूजा रानासँगै अर्की डिफेन्डर विमला विकलाई भने एपीएफले अनुबन्ध गर्न सकेन। “विदेशी खेलाडी अनुबन्ध गर्ने सोच बनाएका थियौं। तर, समय पाएनौं,” प्रशिक्षक पाण्डेले भने। उनीबाहेक चर्च ब्याइज युनाइटेडबाट एन्फा महिला लिग छनोट खेलेकी गोलकिपर लिला जोशीसँगै सजनी थोकर, रोशनी बोहरा र शोभाकुमारी प्रधानलगायत केही युवा खेलाडीको साथ यसपल्ट एपीएफलाई रहने छ।

दाहिने काँधको शल्यक्रिया गराएकी गीता पनि टोलीमा फर्किएकी छन्। तर, उनी र सविता रानामगर पूर्णरुपमा फिट छैनन्।

करिअरको चिन्ता

महिला क्लब फुटबलमा साफ क्षेत्रका सदस्य राष्ट्रले राम्रो सम्भावना देखाएका छन्। बंगलादेशमा ११, भारतमा ७, नेपालमा १० र भुटानमा १० महिला क्लबले शीर्ष डिभिजन खेलिरहेका छन्। यसैको सदुपयोग गर्दै साफले सुरुमा यो प्रतियोगिता नोभेम्बरमै आयोजना गर्ने योजना बनाएको थियो। तर, सहभागी टोली पक्का नहुँदा प्रतियोगिता एक महिना पर सर्न पुग्यो।

साफले सातै सदस्य राष्ट्रको शीर्ष क्लबलाई प्रतियोगितामा उतार्ने तयारी गरेको थियो। तर, पाँच राष्ट्रले मात्र खेल्ने प्रतिबद्धता जनाए। सहभागी टिमको संख्या ६ पुगेको भए आयोजक र उच्च वरीयतामा रहेका एक राष्ट्रलाई पनि छुट्टै ‘स्लट’ दिएर कुल आठ टोली बनाउने योजना थियो।

ती आठ टोलीलाई दुई समूहमा विभाजन गर्ने र डबल राउन्ड रोबिनमा खेलाउने तयारी थियो। तर, पाकिस्तान, नेपाल, बंगलादेश, भारत र भुटानले मात्र चासो देखाउँदा साफ ‘प्लान बी’मा जान बाध्य भयो। गत अक्टोबर मध्यमा मात्र प्रतियोगितामा एपीएफसँगै बंगलादेशको नासरिन स्पोर्ट्स एकेडेमी, भारतको इस्ट बंगाल फुटबल क्लब, भुटानको ट्रान्सपर्ट युनाइटेड एफसी र पाकिस्तानको कराची सिटी एफसीले प्रतिस्पर्धा गर्ने पक्का भएको हो।

योसँगै प्रतियोगिता सिंगल राउन्ड रोबिन प्रणालीमा सञ्चालन गर्न लागिएको हो। त्यसैले एपीएफ अहिले आक्रोशमा देखिन्छ। यस्ता अन्तर्राष्ट्रिय प्रतियोगिता आयोजना गर्दा कम्तीमा तीन/चार महिना अगाडि नै थाहा दिए पनि क्यालेन्डर हेरेर समय मिलाउन नसकेको उसको गुनासो छ। यस्तो व्यस्त क्यालेन्डरले करिअरमा असर पर्ने टोलीकी कप्तान अनिता बस्नेतको भनाइ छ।

“निरन्तर खेलका कारण फिटनेसमा समस्या आएको छ। त्यसैले महत्त्वूर्ण खेलाडी नै छैनन्। यस्तो क्यालेन्डरले करिअरमा ठूलो धक्का लाग्न सक्छ,” उनी भन्छिन्।