काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१८ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। दोस्रो संस्करणको नेपाल प्रिमियर लिगमा सुदूरपश्चिम रोयल्सले लगातार छैटौँ जित दर्ता गरेको छ।

त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा बिहीबार भएको खेलमा चितवन राइनोजलाई सुदूरपश्चिमले ४९ रनले पराजित गर्‍यो।

सुदूरले दिएको १७० रनको लक्ष्य १७.१ ओभरमा सबै विकेट गुमाएर चितवन १२० रनमै समेटियो। चितवनका लागि रवि बोपराले सर्वाधिक २९ रन बनाए। उनले २३ बलमा एक चौका र दुई छक्का प्रहार गरे।

ओपनर अर्जुन साउदले १६, कप्तान कुशल मल्ल १५, देव खनालले २८ रन बनाए। अमर राउटेला ९ रनमै पभेलियन फर्किए।

सुदूरका लागि पुनित मेहराले सर्वाधिक ३ विकेट लिए। कप्तान दीपेन्द्रले एक विकेट हात पारे।

जितसँगै ६ खेलमा शत्‌प्रतिशत जित निकालेको सुदूर १२ अंकसहित शीर्ष स्थानमा छ। चितवनले भने ६ खेलबाट ४ अंक मात्र जोड्न सक्यो।

त्यसअघि टस हारेर पहिले ब्याटिङ थालेको सुदूरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर १७९ रन बनाएको थियो। सुदूरका लागि ओपनर क्रिस लिनले ७५ रन बनाए।

अर्का ओपनर विनोद भण्डारीले १७ बलमा २१ रन बनाए। कप्तान दीपेन्द्रसिंह ऐरी र आरिफ शेखले समान २४ रन बनाए।

चितवनका लागि बलिङतर्फ साफ जैबले दुई, रन्जित कुमार, जर्ज स्क्रिमसाले समान एक विकेट लिए।