काठमाडौँ
००:००:००
१९ मंसिर २०८२, शुक्रबार

१९ मंसिर २०८२
पूर्वप्रहरी हवल्दार सीता कँडेल
अ+
अ-

काठमाडौँ। पूर्वप्रहरी हवल्दार सीता कँडेलको हत्या आरोपमा प्रहरीले एकजनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा चितवन रत्ननगर नगरपालिका-६ का ४७ वर्षीय बुद्धिराम दराई रहेका छन्।

उनलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले बिहीबार रूपन्देहीको सिद्धार्थनगर नगरपालिका-१ बेलहियाबाट पक्राउ गरिएको ब्युरो प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक शिवकुमार श्रेष्ठले बताए।

लमजुङ बेँसीसहर नगरपालिका-२ भकुन्डेकी पूर्वप्रहरी हवल्दार ४५ वर्षीय कँडेलको आफ्नै घरमा ३१ चैत २०८१ मा शव फेला परेको थियो। घरमा दुर्गन्ध फैलिएपछि स्थानीय व्यक्तिले प्रहरीलाई खबर गरेका थिए। प्रहरीले घरको तालाचाबी फोडेर हेर्दा पलङमुनि त्रिपालले बेरेको अवस्थामा कँडेलको शव फेला परेको थियो।

घटनाको अनुसन्धान गर्दै जाँदा दराई संलग्न रहेको ब्युरोले पत्ता लगाएको थियो। दराईविरुद्ध जिल्ला अदालत लमजुङबाट १५ वैशाख २०८२ मा पक्राउ पुर्जी जारी भएको थियो।

जेलमा चिनजान, लिभिङ टुगेदरमा विवाद

ब्युरोका अनुसार दराई कर्तव्य ज्यान मुद्दामा सर्वस्वसहित जन्मकैद सजाय भुक्तान गरेर छुटेका व्यक्ति हुन्। १३ मंसिर २०६७ मा गोरखा साबिक फिनाम गाविस-५ की ५३ वर्षीया चिनिमाया पाण्डेको हत्या आरोपमा उनी पक्राउ परेका थिए।
छोरी सम्झनासँग विवाह गर्ने विषयमा विवाद हुँदा चिनिमायालाई दराईले घाँटी थिचेर हत्या गरेका थिए। २० असार २०६८ मा उनलाई जिल्ला अदालत गोरखाले सर्वस्वसहित जन्मकैद सजाय तोकेको थियो।

जेल परेका दराई र कँडेलबीच भीमफेदी कारागारमा परिचय भएको थियो। दराईले कैद भुक्तान गरिरहँदा कँडेल भीमफेदी कारागारमा ड्युटी गर्थिन्। त्यहीबेला उनीहरू नजिकिए।

२०७८ सालमा दराई छुटे। कँडेल अविवाहित थिइन्। छुटेपछि कँडेलसँगै लिभिङ टुगेदरमा बस्न थाले। उनीहरू दुवै मदिरा सेवन गर्थे। त्यसैक्रममा विवाद हुँदा दराईले कँडेलको हत्या गरेको ब्युरोका एक अनुसन्धान अधिकृतले बताए।

हत्यापछि घरको ढोकामा चाबी लगाएर दराई फरार भएका थिए। घरबाट दुर्गन्ध फैलिन थालेपछि स्थानीयले प्रहरीलाई खबर गर्दा घरभित्र शव फेला परेको थियो। दराईलाई अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय लमजुङ पठाइएको ब्युरो प्रवक्ता श्रेष्ठले बताए।