२० मंसिर २०८२
धादिङको धुनिबेँसी नगरपालिका ६‚ चालिसेमा भएको दुर्घटना। तस्बिर : रासस
अ+
अ-

धादिङ। पृथ्वी राजमार्गअन्तर्गत धादिङको धुनिबेँसी नगरपालिका ६ चालिसेमा भएको दुर्घटनामा ३५ जना घाइते भएका छन्।

सातवटा सवारीसाधन आपसमा ठोक्किँएर भएको दुर्घटनामा चारवटा सवारीसाधनका ३५ जना घाइते भएका हुन्। दुर्घटनामा परेका सबैको स्थानीय अस्पताल र काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक प्रकाश दाहालले जानकारी दिए।

काठमाडौँबाट गजुरी जाँदै गरेको बा.प्र००१ क ००११ नम्बरको स्कुल बस, एनएल ०१ बीए ४६५४ नम्बरको गाडी (डिब्बा), ना.४ख ७१५ नम्बरको ट्रक, लु.९५प ३०७ नम्बरको मोटरसाइकल, जीजे ०३ ए के ३२३१ नम्बरको बस र काठमाडौँ जाँदै गरेको ग.१ख ८५५१ नम्बरको बस, बा.१प ९१७ नम्बरको पर्यटक बस आपसमा ठोक्किएका थिए।

घाइते हुनेमा अधिकांश स्कुल बसमा चढेका विद्यार्थी छन्। चितवनको स्कुल बसमा सवार २५ जना, गोरखाबाट काठमाडौँतर्फ जाँदै गरेको बसमा सवार आठजना, मोटरसाइकलमा सवार एकजना र डिब्बा गाडीमा सवार एकजना घाइते भएका जिल्ला प्रहरी कार्यालयले जनाएको छ।