सात सवाल
रंगमञ्च र सिनेमामा सशक्त अभिनय गर्ने दिव्यदेवको परिचयमा उनको उचाइले पनि काम गरेको छ। ६ फिट दुई इन्च अग्ला उनी भिडमा पनि आफ्नो उचाइका कारण चिनिन्छन्। उनको ओजिलो आवाजका प्रशंसकहरूको पनि कमी छैन।
लुक ब्याक इन एन्गर, सेम टाइम नेक्स्ट इयर, ट्रान्जिट जस्ता नाटकमा अभिनयको जादु देखाएका दिव्यदेव रंगमञ्च हुँदै सिनेमामा सक्रिय बनेका हुन्। चिसो एस्ट्रे, महाजात्रा, हिजो आजका कुरा उनका केही प्रमुख सिनेमा हुन्। उनी रियालिटी सो द पोअल आइडल प्रस्तोताका रूपमा पनि चिनिन्छन्। छायांकनका क्रममा उचाइकै कारण खुट्टा खुम्च्याएर होचो देखिनुपर्ने अनुभव भोगेका दिव्यदेवसँग अग्लो मान्छेको दु:ख-सुखबारे गरिएको संवाद–
पहिलोपटक अरू धेरै मान्छेभन्दा अग्लो रहेछु भन्ने लागेको क्षण?
किशोरावस्थामा छरछिमेकका सबैले अहो कति अग्लो भन्दै उचाइ दाँज्न आउँथे। त्यहीबेला अरूभन्दा अग्लो रहेछु भन्ने थाहा भयो।
अग्लो भएकैले हुने केही फाइदा?
एक किसिमको आत्मविश्वास बढ्ने रहेछ। भिडमा छुट्टिने, अरूभन्दा अलग देखिने परिचय बन्छ।
अग्लो भएकै कारण हुने सबैभन्दा ठूलो घाटा?
मेरो हकमा ढाडको समस्या बढ्ने भएकाले कुप्रो देखिन्छु कि भनेर सतर्क हुनुपर्ने रहेछ। जिम गर्दा लोअर ब्याक इन्जुरी बढ्नसक्छ।

कलाकार दिव्यदेव
आफ्नो र अरूको घरमा टाउको कत्तिको ठोकिएको छ?
होचो ढोका भएको घरमा टाउको ठोक्किनु सामान्य हो। गाउँघरको घर होचो हुन्थ्यो, दिनदिनै ठोकिन्थ्यो।
लुगाफाटा र जुत्ता किन्दा साइज खोज्न झमेला भोग्नुपर्छ?
जुत्ता मन पर्ने, साइज नमिल्ने। पेन्ट किन्दा कम्मर नमिल्ने, कम्मर मिले लम्बाइ नमिल्ने। कैयौँपटक मन परेको जुत्ता-लुगा लगाउन नपाइने हुन्छ।
डेटमा जाँदा उचाइबारे पाएको कुनै टिप्पणी?
आई लाइक योर हाइट!
फ्यानले तपाईंको उचाइबारे दिएको सबैभन्दा रमाइलो प्रतिक्रिया?
आई विस इफ आई वाज योर जया बच्चन!