व्यक्तिवृत्त/निधनालेख

संसार जितेर पनि शासकसँग हारेका गोर्खाली सैनिकलाई आफ्नो इतिहास जोगाउनुपर्छ समर्पित थिए– सार्जेन्ट रमेश राई।

२० मंसिर २०८२
दिवंगत सार्जेन्ट रमेश राई
अ+
अ-

१२ वर्षलाई एक जुग भन्छन्। ठ्याक्कै एक जुगैअघि धरान वडा नम्बर २० स्थित गोर्खा स्मृति पार्कभित्रको मैचुङछा डाँडा घुमेर आएपछि मैले डायरीमा लेखेको रहेछु, ‘रमेश राईले चौतारामा लेखेका विचारले छुट्टिएर रहेका धेरै गोर्खाली परिवारको पीडा उजागर गरेको छ।’

व्यक्ति मरेपछि उसको सम्झनामा बाँचेकाले चौतारा बनाइदिने चलन छ। तर, रमेश मामाले आफू बाँच्दै आफ्नो परिवारका नाममा पार्कमा चौतारा बनाएका थिए र त्यहाँ कविताजस्तो केही कोरेका पनि थिए, जुन यस्तो थियो–

डाँडापारि पुग्यो घाम, घटिसक्यो दौँतरी
आफ्नै हातले बनायौँ, हाम्रो नाममा चौतारी

एक वर्षअघि मात्र धरानको उनकै निवासमा भेट्दा रमेश मामा भन्दै थिए, ‘मलाई कसैले काम लगाउन बोलायो भने कहिले मर्दिनँ, तर बोलाएन भने म मरेँ।’ हुनसक्छ, क्यान्सरसँग संघर्ष गरिरहेका मामालाई माया गरेरै धेरैले काममा बोलाउन छाडे, त्यसैले गएको ६ मंसिरमा ८० वर्षको उमेरमा उनले संसार छाडे।

२०५० सालको दशकदेखि धरानमा ‘गोभूपू’ शब्द सुनिन थाल्यो। यसको पूरा नाम थियो, गोर्खा भूतपूर्व सैनिक। तर, हामी युवा दौँतरी हाम्रै रिटायर्ड लाहुरे मामाहरूलाई जिस्क्याएर ‘गोक्ते भुँडे पुड्के’ भन्थ्यौँ।

रमेश राई स्वयंमा एक गोभूपू थिए, तर हामीले भनेजस्तो गोभूपू थिएनन्। लाहुरेहरूलाई जिउडालका आधारमा हामी यसो भन्थ्यौँ नि मामा भन्दा पनि रमेश मामा रिसाउनुको साटो मजाले हाँस्थे र लाहुरेकै थुप्रै ‘जोक’ भनेर हामीलाई नै पेट मिचिमिची हसाउँथे।

बुवा भीमबहादुर र आमा कृष्णमाया राईका पाँचौँ सन्तान थिए, रमेशकाजी राई। खोटाङबाट अक्टोबर १९६५ मा बेलायतको क्विन्स गोर्खा सिग्नलमा भर्ती भएका राई सेवाका क्रममा बेलायत, मलेसिया, सिंगापुर, जर्मनी, साइप्रस पुगे। २११५७७५८ नम्बरका पल्टने उनी सार्जेन्ट पदबाट अक्टोबर १९८३ मा रिटायर्ड भए।

रमेश मामाले रिटायर्ड जीवन धरानमै बिताए। तर, जागिरमा रिटायर्ड भए पनि उनको सक्रियता बल्ल सुरु भएको थियो। रिटायर्ड हुनुपूर्व हङकङको गोर्खा हाइस्कुलबाट एसएलसी पास गरेका उनी धरानको महेन्द्र बहुमुखी क्याम्पसमा भर्ना भए।

गोर्खा पार्कमा रमेश राई

सेनामा रहँदै रमेश मामाले के बुझे भने, बेलायतका तर्फबाट युद्ध लडेर जितेका साहसी गोर्खाली सेना यथार्थमा हारेका रहेछन्। विदेशमा पनि हारेका रहेछन्, स्वदेशमा पनि। बेलायतले २०० वर्षदेखि विभेद गरेको थियो, देशले चिनारी खोसेको थियो।

अलि बुझ्ने भएपछि गोभूपूको सांस्कृतिक अनि राजनीतिक अर्थ मैले यसरी लगाएँ। देशमा पैसा भित्र्याए पनि परदेशीजस्तो, कानुन र नीतिले नचिनेको वर्ग शासनको नजरमा ‘गोक्ते’ नै हो। विश्वमा कहलिएका उत्कृष्ट गोर्खाली सेना स्वदेश फर्किएपछि विनाउपयोग विनाकाम चुपचाप साथीभाइसँग बियर खाँदै बसेपछि ‘भुँडे’ नभई के हुन्थ्यो र? देशले भूतपूर्व गोर्खालीको सुरक्षा सीप र अन्तर्राष्ट्रिय ज्ञान उपयोग नगर्नु भनेको उनीहरूलाई बेकार ठान्नु नै थियो। आदिवासी, जनजाति यी मामाहरूले घरपरिवारमा मातृभाषा प्रयोग गर्ने हुनाले नेपाली पढाइ कमजोर हुने नै भयो, सामर्थ्य अनि राज्यको स्रोतसाधनभन्दा टाढा भएकाले उनीहरू ‘पुड्के’ पनि हुने भए। आफ्नै आँगनमा लिलिपुट हुने भए।

रमेश मामाले सेवानिवृत्त जीवन अन्यायमा परेका गोर्खाली सैनिकलाई न्याय दिलाउन समर्पण गरे। यसका लागि उनले धरानका गोर्खा भूतपूर्व सैनिकको आन्दोलनलाई अन्तर्राष्ट्रियकरण गर्न स्थानीयस्तरमा आर्थिक, भौतिक र बौद्धिक तीनै कोणबाट नेतृत्व प्रदान गरे।

बेलायती सेनामा नेपाली युवा भर्तीका लागि सन् १९५३ मा धरानमा क्याम्प खुल्यो, जसलाई घोपा क्याम्प भनिन्थ्यो। गोर्खा सैनिक जान चाहने पूर्वका युवाहरू यहीँबाट छानिएर भर्ती लाग्थे। भर्ती केन्द्रसँगै घोपा क्याम्पमा भूतपूर्व गोर्खा सैनिकहरूका लागि अस्पताल पनि बनाइएको थियो (जहाँ अहिले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान छ)।

यी गोर्खा सैनिकले बिस्तारै धरानलाई भर्ती केन्द्र मात्र होइन, बसोबासकै केन्द्र बनाउन थाले। सेवानिवृत्त भएपछिको आनन्दको जीवन बिताउन उनीहरूले धरान नै रोजे। यसले धरानलाई आर्थिक, भौतिक, सामाजिक र सांस्कृतिक रूपमा देशकै आधुनिक सहरको परिचय दिलायो। धरान ‘लाहुरेको सहर’ बन्यो।

लाहुरेको सहरमा लाहुरे थिए, सुख पनि थियो। तर, मनमा सन्तोष थिएन। विगत भएका लाहुरेसँग वर्तमान थिएन।

तर, रमेश मामालाई भविष्यको चिन्ता थियो, किनकि उनलाई थाहा थियो– वर्तमान नभएकाहरूको भविष्य पनि हुँदैन। त्यसो त बेलायती सेनामा नेपालीले देखाएको वीरता स्वयंमा गर्विलो इतिहास हो। तर, त्यो इतिहासको दस्ताबेजीकरण कसले गरिरहेको छ? भावी पुस्ताले समेत पढ्न सक्ने गरी कहाँ लेखिएको छ? कहाँ कुँदिएको छ? के आफू बसेकै ठाउँमा हामी त्यस्तो अभिलेखीकरण गर्न सक्दैनौँ?

सँगसँगै उनी बेलायती सरकारले गोर्खा सैनिकलाई गरेको शोषणविरुद्धको संघर्षमा पनि थिए। उनका लागि यो इतिहास निर्माणको अर्को कदम थियो।

डकुमेन्ट्री खिच्ने क्रममा रमेश राई लेखक जसकुमार राई र मोसेज राईसँग

धरान र पोखरा गोर्खा सैनिक भर्ती स्थल भएकाले स्वभावैले यही दुई सहरले बेलायतविरुद्ध आन्दोलनको नेतृत्व गरे। आन्दोलनको ज्यान भने धरानसँग थियो र त्यसको मियो थिए– रमेश राई। आन्दोलनकारी गोर्खाली सैनिकभन्दा उमेरले थोरै पाका राईले आफू खासै बाहिर नदेखिएरै आन्दोलनको रणनीति बुने। उनको सुझबुझपूर्ण सक्रियता, लगन अनि आर्थिक अनुशासन सबैका लागि उदाहरणीय थियो।

धरान-१० स्थित सैनिक भवन विश्रामस्थलका रूपमा मात्रै उपयोग भइरहेको थियो। तर, यसलाई व्यावसायिक रूपमा सञ्चालन गरी सबैको कार्यक्रमस्थल बनाएर गोर्खा समुदायलाई स्थानीयवासीसँग जोड्ने काममा सबैभन्दा बढी देन कसैको थियो भने उनै रमेश राईकै थियो। यलम्बर सामुदायिक वनको स्थापनामार्फत नमुना सामुदायिक वन स्थापना होस् या किरात राई यायोक्खाको भवन निर्माण समितिको नेतृत्व अनि गोर्खा सहकारी स्थापना राईकै कल्पनाको उपज थियो।

जीवनको अन्तिम दशक गोर्खा मेमोरियल पार्क निर्माणमा खटिएका थिए। धरानदेखि सात किलोमिटर उत्तरपट्टि रहेको माक्छामाराको उजाड डाँडा अहिले सुन्दर पर्यटकीय स्थल बनेको छ। कतिले यसलाई ‘लाहुरे डाँडा’ पनि भन्छन्।

पार्कमा १० फिट अग्लो गोर्खा लाहुरेको प्रतिमा पनि छ। प्रतिमामुनि १५० भन्दा धेरै देशमा रहेका गोर्खाली सैनिकको चिहानबाट ल्याइएको माटो पनि राखिएको छ। यही माटोलाई गोर्खा पितृ मानेर वर्षमा एकदिन सम्मान पनि गर्न थालिएको छ। त्यसको ठीक तल १० वटा गोर्खा रेजिमेन्टको झन्डा र छोटो इतिहास पनि लेखिएको छ। यही १३ जना भिक्टोरिया क्रस विजेता गोर्खालीको गाथा कहने सम्झना घर पनि बनिरहेको छ। १२ बिघा जमिनमा रहेको पार्कमा लाहुरेको दैनिक जीवनमा प्रयोग हुने सामान, लाहुरेसँग सम्बन्धित पुस्तकसँगै श्रव्यदृश्य सामग्री पनि राखिने तयारी छ। अत्याधुनिक अध्ययन केन्द्र पनि बनाइने योजना छ।

खासमा रमेश राईका लागि यो पार्क आफ्नै इतिहास लेख्ने एउटा कर्म थियो, र थियो युद्धमोर्चाको एउटा हतियार पनि, जसलाई बेलायतको बकिंघम प्यालेस र सिंहदरबारले देखोस्। गोर्खालीले न्याय नपाउन्जेल त्यो क्रूर वास्तविकता हेरिरहन अभिशप्त बनोस्।

गोर्खालीहरूलाई बेलायतले गरेको अन्याय र विभेदविरुद्ध संघर्षको उपलब्धि आफ्नै जीवनकालमै एकाकार गर्न चाहन्थे राई। तर, यो सम्भव भएन। “हामीले न्याय र समानताका लागि आन्दोलन गरेका थियौँ। तर, बेलायतले बेलायत बस्ने अस्थायी बसोबासको अधिकार दिएर आन्दोलनलाई सिध्यायो,” उनी भन्थे।

सार्जेन्ट रमेश राईले रोपेका बिरुवाहरूको पार्क

तर, राई न बेलायत गए, न बेलायतसँग उनको आन्दोलन टुंगिएको थियो। उनले एकदिन मित्र मोजेस राई र मलाई सैनिक भवनमा बोलाए। हामी धरानका केही साथी गोर्खा युवा मञ्च खोलेर गोर्खाहरूको आन्दोलनको दोस्रो पुस्ताको आन्दोलनमा सामेल भएका थियौँ। “इतिहासमा गोर्खालीहरू गुमनाम भएर गल्ली गल्लीमा मरिरहेका छन्। गल्ली गल्लीमा भौँतारिएर पनि जो बाँचिरहेका छन्, उनीहरूको अनुभवको आवाज र भिडिओ आर्काइभ बनाऔँ।”

हामीले केही सुरुआत पनि गर्‍यौँ। मलाई लाग्छ, अहिले पनि दोस्रो विश्वयुद्धमा, ब्रुनाई, मलेसियामा लडेर बाँचेर आएका केही गोर्खा सैनिकको भिडिओ सैनिक भवनमा सुरक्षित हुनुपर्छ।

रमेश राईको हरेक गतिविधि दोस्रो पुस्ताले अघिल्लो पुस्ताको आन्दोलन बुझून् र बेलायतले गोर्खालीलाई गरेको अन्याय चिर्न उनीहरूका सन्ततिले पुर्खाका लागि लडून् भन्ने थियो। नयाँ पुस्तामा गहिरो विश्वास पनि थियो। त्यसैले पनि उनले आफ्नै परिवारका नाममा बनाएको चौतारोमा केही हरफ लेखेर गएका थिए, जसको बाँकी पंक्ति यस्तो थियोः

कसको हो यो चौतारी, सोधे भने कसैले
बेलायतबाट फर्केपछि, उत्तर दिन्छ नातिले