शुभारम्भ भयो एमालेको नवयुग ई-बुलेटिन
काठमाडौँ। नेकपा एमालेका अध्यक्ष केपी ओलीले पुराना दल सकिए वा सकिन्छन् भन्ने नसोच्न आग्रह गरेका छन्।
च्यासलस्थित पार्टी कार्यालयमा शनिबार पार्टीको मुखपत्र नवयुग ई-बुलेटिनको शुभारम्भ गर्दै उनले पार्टीको आसन्न ११औँ राष्ट्रिय महाधिवेशनले एमालेविरुद्धको घरेबन्दी तोड्ने र पार्टी फेरि अघि बढ्ने दाबी गरे।
उनले महाधिवेशनको सफलता लोकतन्त्रको सफलता भएकाले महाधिवेशनलाई भव्य बनाउनु पर्नेमा जोड दिए। “यो महाधिवेशनको सफलता लोकतन्त्रको सफलता हो। त्यसैले यसलाई सफल बनाउनु पर्दछ‚” उनले भने‚ “महाधिवेशन नेपाली जनता र देशको भविष्यका लागि आवश्यक छ।”
उनले जनताको शक्तिलाई निर्णायक शक्तिमा बदल्न महाधिवेशन आयोजनासमेत गरिएको बताए। ओलीले स्वतन्त्र, निष्पक्ष शान्तिपूर्ण वातावरणमा चुनाव हुनुपर्नेमा जोड दिए। “हामीले चुनावलाई पर्खिरहेका छौँ। चुनावबाट आउने सरकार एमालेको हुन्छ,” उनले भने, “पुराना पार्टीमध्ये एमाले चुनावपछि उदाएर आउनेछ।”
कार्यक्रममा एमाले महासचिव शंकर पोखरेलले आजको जटिल अवस्थाको नेतृत्व गर्न सक्ने र मुलुकलाई लोकतन्त्रतर्फ फर्काउने पार्टी र नेतृत्व आवश्यक रहेको बताए। एमालेको महाधिवेशनलाई प्रतिगमनविरुद्धको सङ्घर्ष र जनसङ्घर्षको कार्यक्रमका रूपमा परिभाषित गर्नुपर्ने उनको भनाइ थियो।
महासचिव पोखरेलले राष्ट्र निर्माणको योजनाकार एमाले भएको बताउँदै उनले देशको राजनीति एमालेको वरिपरि घुमेको दाबी गरे। उनले पार्टीमा यतिबेला प्रतिस्पर्धा नभई एकता खाँचो रहेको भन्दै केपी ओलीलाई नेतृत्वमा स्थापित गरेर सबै त्यसमा एकताबद्ध हुन आवश्यक रहेको बताए।
महाधिवेशन प्रचार समितिका संयोजक पद्मा अर्यालले प्रभावकारी रूपले महाधिवेशन र पार्टीका गतिविधि प्रचार गर्न नवयुग ई-बुलेटिन प्रकाशनमा ल्याइएको बताइन्। उनले महाधिवेशनको प्रचारप्रसार अझ व्यापक बनाउनुपर्नेमा जोड दिइन्। आज सुरु गरिएको ई-बुलेटिनमा हरेक दिन बेलुका ७ बजे महाधिवेशनको गतिविधि प्रकाशित हुनेछ।