बालुवाटारमा बहुपक्षीय छलफल
काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बालुवाटारमा निर्वाचनसम्बन्धी बहुपक्षीय छलफल भएको छ।
प्रधानमन्त्री सुशीला कार्कीले आजको भेला निर्वाचनको वातावरण बनाउने सन्दर्भमा अहिलेसम्मकै महत्त्वपूर्ण र उपलब्धिमूलक भएको बताएकी थिइन्। “समग्रमा निर्वाचन होस् र हुनुपर्छ भन्ने आवाज नै सबैको रह्यो। कहीँ कतै आशंकाका कारण छन् भने पनि तिनले हामीलाई सचेत गराउँछन् र अगाडि बढ्न मद्दत गर्छन्‚” उनले भनिन्।
उनले छलफलमा उठाएका विषयवस्तुलाई अन्यथा नमानेको र अहिलेको परिस्थिति के छ, व्यवधान के कस्तो छ भन्ने सही कुरा बताउनु सबैको धर्म भएको बताइन्। “२३ र २४ भदौको घटना कसले कल्पना गरेको थियो र ? देशको जीवनमा एउटा मोड आयो। संसारका सबै मुलुकको जीवनमा यस्ता अप्रत्यासित मोड र उतारचढाव आउँछन्। यस्तो समयमा हामीले एकताबद्ध भएर अगाडिको बाटो पहिल्याउनुपर्छ‚” प्रधानमन्त्री कार्कीले भनिन्।
उनले सुरक्षाको पहिलो कडी जनता र समुदाय रहेको बताइन। अहिलेको परिस्थितिमा हरेकले भनिरहेको एउटै मात्र बाटो निर्वाचन रहेको र यसबाहेक अर्को विकल्प नरहेको पनि उनले बताइन्। “हामी जेन-जी आन्दोलनबाट आयौँ तर दलका विरोधी होइनौँ। राजनीतिक दललाई स्थापित गर्न नै चुनाव चाहिएको हो भनेर यहाँहरुले बुझ्नुपर्छ‚” प्रधानमन्त्री कार्कीले भनिन्‚ “दलभित्र पनि युवाले स्थान पाउनुपर्छ भन्यौँ होला। तर कसलाई जिताउने र कसलाई हराउने भन्ने जनताको निर्णयको कुरा हुन्छ।”
उनले निर्वाचनप्रति शंका नगर्न पनि आग्रह गरिन्। “अहिले नयाँ आएकाहरूप्रति तपाईंहरुले शंका गर्नुभएको होला। तर जेनजी पनि पहिलाभन्दा धेरै फरक भएका छन्। अझै पनि राजनीतिक व्यवहार र वातावरण दिन, शिक्षा दिन हामी तयार छौँ।”
बैठकमा गृहमन्त्री अर्यालसहित चारै सुरक्षा निकायका प्रमुखहरूले निर्वाचनका सन्दर्भमा सुरक्षाको अवस्था र तयारीका विषयमा स्पष्ट पारेका थिए।

कार्यवाहक प्रमुख आयुक्त भण्डारीले आयोगले पूर्ण रूपमा निर्वाचन गराउन तयारीका साथ अघि बढिरहेको र यसबीचमा धेरै उल्लेखनीय सफलता प्राप्त गरिसकेको विवरण प्रस्तुत गरेका थिए।
बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, कानुनमन्त्री अनिलकुमार सिन्हा र सञ्चारमन्त्री जगदीश खरेलको सहभागिता थियो। राजनीतिक दलमा नेपाली कांग्रेस, नेकपा एमाले, नेपाली कम्युनिस्ट पार्टी, राष्ट्रिय स्वतन्त्र पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनता समाजवादी पार्टी नेपाल र जनमत पार्टीका नेताहरूको सहभागिता थियो।
प्रधानमन्त्रीको सचिवालयका अनुसार निर्वाचन आयोगका कार्यवाहक प्रमुख आयुक्त रामप्रसाद भण्डारीसहित तीनैजना आयुक्त, सचिव र सहसचिवसमेत गरी सातजनाको उपस्थिति थियो। बैठकमा चारवटै सुरक्षा निकायका प्रमुखहरू पनि सहभागी भएका थिए।