काठमाडौँ। प्रहरीले लागुऔषध ब्राउनसुगसहित पाँच जनालाई पोखराका विभिन्न स्थानबाट पक्राउ गरेको छ।
पक्राउ पर्नेमा पोखरा महानगरपालिका ३१‚ बेगनास बस्ने ३० वर्षीय मिलन क्षेत्री, वडा ३० बेगनासतालका २१ वर्षीय अतित थापा, सोही वडाका ३० वर्षीय हसन भण्डारी, वडा २७ का उदीप गुरुङ र वडा २६ का ४३ वर्षीय विक्की परियार छन्।
पाँचै जनालाई जिल्ला प्रहरी कार्यालय कास्की, इलाका प्रहरी कार्यालय सिसुवा र लागुऔषध नियन्त्रण ब्युरोको टोलीले शुक्रबार पोखराका अलग ठाउँबाट पक्राउ गरेको हो।
कास्की प्रहरी प्रमुख प्रहरी उपरीक्षक (एसपी) नवीन कार्कीका अनुसार तीनवटा कार्यालयको संयुक्त टोलीले उनीहरूको साथबाट ३१.८ ग्राम ब्राउनसुगर बरामद गरेको छ। उनका अनुसार शुक्रबार दिउँसो प्रहरीले क्षेत्रीलाई १.८ ग्राम ब्राउनसुगरसहित पक्राउ गरेको थियो। पक्राउ परेका क्षेत्रीमाथि अनुसन्धान गर्दै जाँदा थापा पक्राउ परेका थिए।
प्रहरी अपरेसन यत्तिमै रोकिएन। यसपछि प्रहरीले भण्डारीको घरमा पुग्यो। उनको घरबाट ११ ग्राम ब्राउनसुगर बरामद भयो। “उनीमाथि अनुसन्धान गर्दै जाँदा उदीपसमेत संलग्न रहेको पत्ता लागेपछि उनी पक्राउ परे,” कार्कीले नेपालन्युजलाई भने।
यसपछि प्रहरी पोखरा २६‚ जलधारे बस्ने परियारको घरमा पुगेको थियो। उनको घरबाट १९ ग्राम ब्राउनसुगर र लागुऔषध तौलिन प्रयोग हुने डिजिटल मेसिनसमेत बरामद भयो।
“लागुऔषध ओसारपसार र बिक्री-वितरण भइरहेको जानकारी आएपछि तीन कार्यालयबाट टोली खटिएको थियो,” कार्की भन्छन्, “एकै दिनमा तीन ठाउँमा छापा मारेर संलग्न व्यक्ति पक्राउ परे।” लागुऔषध ओसारपसार र बिक्री-वितरणमा प्रहरीले कडाइ थालेको र यस्तो अपरेसन जारी रहने उनले बताए।
प्रहरीले पक्राउ परेकालाई लागुऔषध मुद्दामा जिल्ला अदालत कास्कीबाट पाँच दिन थुनामा राख्ने अनुमति लिएर अनुसन्धान थालेको छ।