काठमाडौँ
००:००:००
२१ मंसिर २०८२, आईतवार

२१ मंसिर २०८२
अ+
अ-

काठमाडौं। शिक्षा तथा विज्ञान प्रविधिमन्त्री महावीर पुनले नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीका लागि बनाउने भनिएको ‘ओलीकुटी’ प्रति कटाक्ष गरेका छन्।

उनले पूर्वप्रधानमन्त्री एवं एमाले अध्यक्ष केपी शर्माको प्रस्तावित निवासको डिजाइनप्रति व्यंग्य गरेका हुन्।

आज बिहान सामाजिक सञ्जाल फेसबुकमा एक स्ट्याटस लेख्दै उनले पति–पत्नी मात्रै रहेको परिवारलाई विलासी प्रकृतिको निवासको डिजाइन गरिएको भन्दै त्यसको नक्सा कोर्ने इन्जिनियरलाई कारबाही हुनुपर्ने भन्दै व्यंग्य गरेका हुन्।

उनले लेखेका छन्, ‘यो नक्सा डिजाइन गर्ने इन्जिनियरलाई सख्त कारबाही गर्नुपर्छ। अनि घोर बेइज्जती तथा मानहानिको मुद्दा लगाउनुपर्छ भन्ने मेरो भाग छ। हाकिमले दुई जना बस्ने कुटीको नक्सा बनाएर ल्याऊ भनेपछि यत्रो ठूलो दरबारको नक्सा बनाई दिनुहुन्छ त उसले? कहाँसम्मको लापरबाही हो यो ? एक छिन रमाइलो’।

जेन-जी आन्दोलनको क्रममा गत २४ भदौमा बालकोटस्थित ओलीनिवास जलेपछि भक्तपुरको गुन्डुमा नयाँ निवास बनाइँदै छ। ‘ओली कुटी’ नाम दिइएको भवनको शिलान्यास यही १८ मंसिरमा ओलीपत्नी राधिकाले गरेकी थिइन्।