काठमाडौँ
००:००:००
२२ मंसिर २०८२, सोमबार

२१ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। गृहमन्त्री ओमप्रकाश अर्यालले सिंहदरबारमा निर्माणाधीन सङ्घीय संसद् भवनको निरीक्षण गरेका छन्।

उनले आज (आइतबार) संसद् भवन परिसरभित्र ‘जेन-जी सहिदका सालिक’ का लागि निर्माण गर्न आवश्यक ठाउँको अवलोकन पनि गरेको उनको सचिवालयले जनाएको छ।

जेन-जी सहिदका परिवार र मन्त्रालयसम्बद्ध केही कर्मचारी तथा सचिवालय सदस्यसहित सालिक निर्माणका लागि आवश्यक ठाउँको उपलब्धताबारे र त्यहाँको वस्तुस्थिति बुझ्न मन्त्री अर्याल संसद् भवनको निरीक्षणमा पुगेका थिए।

सरकारले गत ३० भदौको मन्त्रिपरिषद् बैठकको निर्णयअनुसार जेन-जी आन्दोलनमा ज्यान गुमाएकाहरूको सम्झनामा ‘जेन-जी स्मारक पार्क’ बनाउने निर्णय गरेको थियो। साथै गत १७ कात्तिकमा बसेको मन्त्रिपरिषद् बैठकले आन्दोलनमा मारिएका ४२ जना जेन-जी युवा र तीन प्रहरीलाई सहिद घोषणा गर्ने निर्णय गरेको थियो।

भवन निरीक्षण गर्दै गृहमन्त्री अर्यालले निर्माणाधीन भवनभित्र प्रतिनिधिसभा र राष्ट्रिय सभाको मुख्य बैठक बस्ने ग्यालरी कक्षको प्रगति तथा प्राविधिक पक्षबारे समेत जानकारी लिएका थिए। इन्जिनियरहरूसँग कुरा गर्दै उनले थपिएको समयभित्रै संसद् भवन निर्माण परियोजनाको काम सकिने वा नसकिनेमा चासो जनाएका थिए।