काठमाडौँ
००:००:००
२२ मंसिर २०८२, सोमबार

एनपीएल मध्यावधि समीक्षा

एनपीएलमा विराटनगर, लुम्बिनी र काठमान्डुले उत्कृष्ट पुनरागमन गर्दा कर्णाली, जनकपुर र चितवनले बिर्सिए लय, पोखरा भने पुनः अभागी

२१ मंसिर २०८२
तस्बिर : नेपाल प्रिमियर लिग
अ+
अ-

काठमाडौँ। पहिलो संस्करणको एनपीएल (नेपाल प्रिमियर लिग) मा लगातार दुई हार बेहोरेको कर्णाली याक्सले अविश्वसनीय ‘कमब्याक’ गर्ने क्रममा चार खेल जितेर एलिमिनेटरको टिकट काटेको थियो। तर, भाग्य सधैँ स्थिर हुँदैन।

हाल त्रिवि क्रिकेट रंगशालामा जारी दोस्रो संस्करणको एनपीएलमा लुम्बिनी लायन्सलाई नौ विकेटले हराएपछि धेरैले आशा राखेका थिए, कर्णाली याक्सले यसपालि पनि त्यस्तै ‘कमब्याक’ गर्नेछ। तर, पहिलो संस्करणको इतिहास दोहोर्‍याउन सोमपाल कामीको टिम पूर्णतः असफल रह्यो। र, लगातार चार खेल गुमाउँदै प्रतियोगिताबाट बाहिरिने पहिलो टोली बन्यो।

कर्णाली मात्र होइन, यसपालि साबिक विजेता जनकपुर बोल्ट्ससँगै पहिलो संस्करणमा क्वालिफायर खेलेका दुई फ्रेन्चाइजी क्लब चितवन राइनोज र पोखरा एभेन्जर्स पनि समूह चरणबाटै बाहिरिएका छन्।

सुदूरपश्चिम रोयल्स भने गत वर्षझैँ शीर्ष स्थानमा रहेर क्वालिफायर–१ मा पुगिसकेको छ। पहिलो संस्करणमा लिग चरणबाटै बाहिरिएको विराटनगर किङ्स, काठमान्डु गोर्खाज र लुम्बिनी लायन्स भने उत्कृष्ट लयका साथ शीर्ष चारमा छनोट भएका छन्। विराटनगर १० अंकसहित फाइनल प्रवेशका लागि सुदूरपश्चिमसँग भिडन्तका लागि तयारीमा रहँदा लुम्बिनी र काठमान्डुले पनि अन्तिमसम्म आफ्नो उपस्थिति जनाउन एलिमिनेटरमा भिड्दै छन्।

कर्णालीमा लयको अभाव

कागजमा कर्णाली याक्स बलियो देखिएको थियो। अस्ट्रेलियन अलराउन्डर विलियम बसिस्टो, न्युजिल्यान्डका म्याक ओ’डाउन, स्कटिस मार्क वाट, अफगानिस्तानका नजिबुल्लाह जाद्रान र भारतका प्रियांक पन्चाललाई भित्र्याएको यो टोली सन्तुलित देखिन्थ्यो। यसबाहेक घरेलु खेलाडी सोमपाल कामी, गुल्सनकुमार झा, आसिफ शेख, नन्दन यादव र पवन सर्राफले टिमलाई थप बलियो बनाएका थिए।

युवा खेलाडी युवराज खत्री, दीपक डुम्रे र विपिन शर्माको उपस्थिति पनि कम तगडा थिएन। तर, घरेलु र अन्तर्राष्ट्रिय क्रिकेटमा राम्रो प्रदर्शन गरिरहेका एक दर्जन स्वदेशी र विदेशी खेलाडीको राम्रो साथ पाउँदा पनि कर्णालीले प्रतियोगिताको सुरुआत राम्रो गर्न सकेन। एकै शब्दमा भन्नुपर्दा उसले पूरै खेल अवधिभर राम्रो लय समाउन सकेन।

कर्णाली याक्सको टोली। तस्बिर : एनपीएल

चितवनविरुद्ध जित्नुपर्ने पहिलो खेल गुमाउनु नै कर्णालीका लागि घातक साबित भयो। उक्त खेलमा कर्णालीले उत्कृष्ट ब्याटिङ गर्दै तीन विकेटको क्षतिमा १६७ रनको लक्ष्य दिएको थियो। भारतीय खेलाडी प्रियांक पन्चालले डेब्यु खेलमै ९० रनको इनिङ्स खेले। डाउन २० र बाट १६ रनमा आउट हुँदा सर्राफ २७ र जाद्रानले चार रनको अविजित योगदान दिए।

तर, बलिङ पक्ष कमजोर रहँदा कर्णालीले १९.१ ओभरमा नतिजा चितवनलाई सुम्पिनुपर्‍यो। दोस्रो खेलमा वाटले प्रतियोगिताकै पहिलो शतक प्रहार गर्दा कर्णालीले पुनरागमनको झल्को देखाएको थियो। यस खेलमा कर्णालीले नौ विकेटको विशाल जित निकाल्यो। उनले ४४ बलमा ६ चौका र १२ छक्कासहित अविजित ११४ रनको इनिङ्स खेले। बसिस्टोले पनि अविजित रहँदै २९ रनको योगदान गरे। यति राम्रो खेलका बाबजुद कर्णालीले लय समात्न सकेन। सुदूरपश्चिमबाहेक अन्य खेलमा कर्णाली अन्तिम अन्तिम ओभरतिर पुगेर हारेको देखिन्थ्यो।

हारमा बलिङ र फिल्डिङ नै प्रमुख समस्या रहेको मुख्य प्रशिक्षक राजु बस्न्यात स्वीकार गर्छन्। “नेपाली राष्ट्रिय टिमका तीनजना फास्ट बलरसँगै स्पिनरमा पनि धेरै विकल्पहरू थिए। तर, हामीले जुन स्तरको बलिङ फ्याँक्नु पर्थ्यो, त्यो भएन। ब्याटिङ र फिल्डिङमा पनि जुन योजना बनाएका थियौँ, त्यो अनुसार कार्यान्वयनमा आएन,” उनी गल्ती कोट्याउँछन्।

कप्तान सोमपालसँगै गुल्सन र नन्दन लगातार राष्ट्रिय टोलीबाट खेलिरहेका खेलाडी हुन्। तर, नन्दनबाहेक अन्यको प्रदर्शन राम्रो हुन सकेन। उनले सात इनिङ्समा २५ ओभर बलिङ गर्दै १० विकेट लिए। तर, २०१४ देखि राष्ट्रिय टोलीबाट खेल्दै आएका अनुभवी बलर सोमपालले भने आफ्नो अनुभव देखाउन नै सकेनन्। उनी नौ विकेटमै रोकिए।

अर्कोतर्फ गुल्सनलाई बलिङमा थोरै प्रयोग गरियो। १० ओभर बलिङ गरेका उनले मात्र तीन विकेट मात्र लिए। ब्याटिङमा बढी समय खर्चिए पनि उनले काठमान्डुसँग अविजित ४९ रनको इनिङ्स खेल्नुबाहेक अन्यमा राम्रो प्रदर्शन गर्न सकेनन्। यसबाहेक युवा स्पिनर पनि चल्न सकेनन्।

गुल्सन झा। तस्बिर : एनपीएल

सन्दीप लामिछाने र सहब आलमजस्ता स्पिनरले एनपीएलमा प्रभुत्व जमाइरहँदा युवराज र विपिनजस्ता उदयमान बलरले आशा जगाउन सकेनन्। “क्याचहरू पनि शतप्रतिशत लिन सकेनौँ। फिल्डिङमा त्यो खालको भोक देखिएन,” उनी भन्छन्।

विदेशीकै भरमा चितवन

जारी एनपीएलमा चितवन एउटा यस्तो टोली हो, जसले एक मात्र विदेशी खेलाडीको भरमा पहिलो संस्करणमा क्वालिफायरसम्मको यात्रा तय गर्‍यो। ती विदेशी खेलाडी थिए, इङ्ल्यान्डका रवि बोपारा। तीन अर्धशतकसहित २८६ रन बनाएका उनले बलिङमा पनि १४ विकेट लिए। ब्याटिङतर्फ उनी शीर्ष रनकर्ताको सूचीमा दोस्रो र बलिङतर्फ तेस्रो स्थानमा रहे।

यसपल्ट पनि ब्याटिङमा उनै चम्किए। सात इनिङ्समा उनले तीन अर्धशतकसहित २३७ रन बनाए। उनकै ब्याटिङको दममा चितवनले पहिलो खेलमा कर्णालीलाई चार विकेट र तेस्रो खेलमा विराटनगरलाई ४८ रनले हरायो। यी दुई खेलमा उनले क्रमशः ५२ र ६४ रन बनाए। तर, बलिङमा पहिले जस्तो जम्न सकेनन्। सात इनिङ्समा आठ ओभर बलिङ गरेका उनले जम्मा दुई विकेट मात्र हात पारे। चितवन पछिल्लो चार खेलमा पराजित हुँदै प्लेअफ समीकरणबाट बाहिरियो।

रविबाहेक यस टोलीमा सैफ जैब, सोहेल तन्विर मात्र चले। नेपाली खेलाडी चल्न सकेनन्। कप्तान कुशल मल्ल खराब प्रदर्शनको विषयमा भन्छन्, “विदेशी खेलाडीलाई दोष दिन मिल्दैन। म आफैँ पनि चल्न सकिनँ।”

चितवन राइनोजका कुशल। तस्बिर : एनपीएल

अघिल्लो संस्करणमा कुशलले एक अर्धशतकसहित १८४ रन र नौ विकेटको योगदान गरेका थिए। तर, यसपल्ट उनी दुवै विधामा चल्न सकेनन्। सात इनिङ्समा उनले कुल १३५ रन मात्र बनाए। कुनै बेलाको उत्कृष्ट स्पिनर रहेका शक्ति गौचनका चेलासमेत रहेका कुशलले जम्मा एक विकेट लिए। अन्य खेलाडीको प्रदर्शन मध्यम रहँदा चितवनले पहिलो संस्करणको गर्विलो इतिहास दोहोर्‍याउन सकेन।

“ब्याटिङ, फिल्डिङ र बलिङ सबै राम्रो भएन। सुरुआत त राम्रो पाएको हो तर मुख्य कुरा मैरै कारणले राम्रो भएन,” कुशलको प्रतिक्रिया थियो।

‘टप अर्डर’ बाट धोका पाएको जनकपुर

जनकपुरलाई पहिलो संस्करणमा विजेता बनाउन ‘टप अर्डर’ ले ठूलो योगदान गरेका थिए। यसमा पनि श्रीलंकाली मूलका अमेरिकी ब्याटर लाहिरु मिलन्था र जिमी निसमको योगदान उत्कृष्ट रहेको थियो। लाहिरु, आरिफ शेख, हर्ष ठाकर र अनिलकुमार साहबीच पहिलो संस्करणमा राम्रो तालमेल देखिएको थियो। यी चार ब्याटरले कुल ७२५ रन बनाएका थिए। अझ लाहिरुले एक्लै २९३ रन बनाए। उनी प्रतियोगिताको सर्वाधिक रनकर्ता थिए। यसपालि न लाहिरु चलेको देखियो, न आसिफ र अनिल नै। प्रायः खेलमा लाहिरु र अनिल नै ‘ड्रप’ भएको देखियो।

जनकपुर बोल्ट्सका खेलाडी। तस्बिर : एनपीएल

यसपल्ट मध्यक्रमका सञ्जयप्रसाद कृष्णमूर्तिले जनकपुरबाट सर्वाधिक १६७ रन बनाए। ओपनरद्वय आसिफले १०५ र माज सदाकले ११३ रनको योगदान दिँदा कप्तान अनिलले भने ७३ रन मात्र बनाएका छन्। ब्याटिङ लाइन ‘फ्लप’ हुँदा जनकपुरले ६ मध्ये एक खेलमा मात्र जित हात पार्‍यो। त्यो जित चितवनविरुद्ध (६ विकेट) थियो। बाँकी खेलमा फराकिलो हार मात्र बेहोर्‍यो। अनिल भन्छन्, “प्रतियोगितामा उत्रिँदा हामी सबै सकारात्मक भावले नै उत्रिएका थियौँ। तर, टप अर्डरबाट राम्रो सुरुआत हुनुपर्ने, त्यो हुन सकेन।”

पहिलेभन्दा सुधारिएको पोखरा

दुई संस्करणको खेलको लेखाजोखा पोखरा मात्र यस्तो अभागी टोली बन्यो, जसले प्लेअफको अनुभव गर्न पाएको छैन। पहिलो संस्करणमा सुदूरपश्चिम, जनकपुर, चितवन र कर्णालीले प्लेअफ खेले। यसपल्ट सुदूरपश्चिमबाहेक विराटनगर, काठमान्डु र लुम्बिनीले सुधारिएको प्रदर्शन गर्दै त्यो उपलब्धि हात पारेका छन्। यसमा पोखरा मात्र अभागी बनेको छ।

लुम्बिनी पहिलो संस्करणमा बाहिरिने पहिलो टोली थियो। पहिलो संस्करणमा लुम्बिनीलाई १० विकेटले हराएको पोखराले भने त्यस्तो उपलब्धि हासिल गर्न सकेन। पहिलो संस्करणमा लुम्बिनीबाहेक विराटनगरलाई सुपर ओभरमा पराजित गरेको पोखराले यसपल्ट सुधारिएको प्रदर्शन गर्दै तीन जित हात पार्‍यो।

पोखराका कुशल भुर्तेल र अर्जुन कुमाल। तस्बिर : एनपीएल

जनकपुरलाई २५ र कर्णालीलाई ३४ रनले हराएको यो टोलीले अन्तिम खेलमा चितवनलाई आठ विकेटले स्तब्ध बनायो। तर, पाएको मौका सदुपयोग गर्न नसक्दा प्लेअफ खेल्न नपाउने एक मात्र टोली पोखरा बनेको स्विकार्छन्, कप्तान कुशल भुर्तेल। “काठमान्डु र लुम्बिनीसँगको महत्त्वपूर्ण खेल गुमाउन पुग्यौँ। त्यो जितेको भए, हामी प्लेअफमा पुग्न सक्थ्यौँ। तर, पहिलोभन्दा यसपल्ट राम्रो खेलेका छौँ,” उनी भन्छन्।

लुम्बिनीविरुद्धको चौथो खेलमा पोखरा अन्तिम दुई बल बाँकी रहँदा तीन विकेटले नतिजा सुम्पिन बाध्य बन्यो। जित्नैपर्ने अर्को खेलमा भने काठमान्डुसँग १३ रनले पराजित भयो। लुम्बिनीविरुद्ध रोसिङटनले ८१ र निसमले अविजित ५१ रन बनाएका थिए। काठमान्डुविरुद्ध भने ऋषि धवनले ५४ रनको इनिङ्स खेले। तर, स्पिनर सहाब आलमले चार ओभरमा २५ रन खर्चेर ६ विकेट लिएपछि पोखराको यात्रा भने टुंगियो।