काठमाडौं। सञ्जय कृष्णमूर्तिको अर्धशतकका बाबजुद जनकपुर बोल्ट्सले हारसँगै नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण समाप्त गरेको छ।
त्रिवि क्रिकेट रंगशाला कीर्तिपुरमा आइतबार भएको लिग चरणको अन्तिम खेलमा कर्णाली याक्ससँग साविक विजेता जनकपुर ३ रनले पराजित भएको हो। कर्णालीले दिएको १३० रनको लक्ष्य जनकपुरले ७ विकेट गुमाउँदै १२६ रन मात्र बनाउन सक्यो।
यद्यपि, यी दुवै टोली यसअघि नै प्लेअफ समीकरणबाट बाहिरिइसकेका थिए।
जितसँगै कर्णालीले ७ खेलबाट ४ अंक बटुल्दै छैटौं स्थानमा रहेर प्रतियोगिता सकायो। समान खेलमा २ अंक जोडेको जनकपुर भने सातौं स्थानमा रह्यो।
जनकपुरका सञ्जय कृष्णमूर्तिले सर्वाधिक ५१ रन बनाए। ३९ बल खेलेका उनले १ चौका र ४ छक्का प्रहार गरे। संगित कोरे २५ रनमा आउट हुँदा अन्यको ब्याटिङ भने चल्न सकेन।

कर्णालीका विलियन बसिस्टोले सर्वाधिक २ विकेट लिए। मार्क वाट, पवन सर्राफ, दीपेन्द्र रावत, नन्दन यादव र सोमपाल कामीको नाममा समान १ विकेट रह्यो।
त्यसअघि टस हारेर पहिला ब्याटिङ थालेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १२९ रन बनाएको थियो।
कर्णालीका ओपनर इमरान सेखले सर्वाधिक ३३ रन बनाए। ३२ बल खेलेका उनले समान एक चौका र छक्का प्रहार गरे।
गुल्सनकुमार झा १९, प्रियांक पन्चाल १८, विलियम बसिस्टो १५ रनमा आउट हुँदा कप्तान सोमपाल कामीले अविजित १८ रनको योगदान दिए। अन्य ब्याटरले भने राम्रो प्रदर्शन गर्न सकेनन्।
जनकपुरका ललितनारायण राजवंशी र आदित्य महताले समान २ विकेट लिए।