काठमाडौँ
००:००:००
२१ मंसिर २०८२, आईतवार

अपराध

हत्या गरी भारत भागेका पदम अन्ततः प्रहरीको फन्दामा

२१ मंसिर २०८२
शव भेटिएको बेलबारी–चिसाङ साझेदारी वन क्षेत्र र इन्सेटमा बलात्कारपछि हत्या गरिएकी बालिका अंशु गौतम
अ+
अ-

विराटनगर। मोरङको लेटाङ नगरपालिका-२ फडानीकी १२ वर्षीया बालिका अंशु गौतमको हत्या भएको दुई महिनापछि प्रहरीले घटनाको रहस्य सुल्झाएको छ। घरनजिकै खेलिरहेकी बालिकालाई ललाइफकाई सुनसान जंगलमा पुर्‍याएर बलात्कार गरी हत्या गरेको आरोपमा प्रहरीले छिमेकी ५९ वर्षीय पदमबहादुर अधिकारीलाई पक्राउ गरेको छ।

प्रहरीले सार्वजनिक गरेका हत्या आरोपी पदमबहादुर अधिकारी

पदमले घाँस काट्न सघाउने बहानामा अंशुलाई जंगलको चार किलोमिटरभित्र सुनसान ठाउँमा पुर्‍याएर बलात्कारपछि हत्या गरेको मोरङ प्रहरी प्रमुख एसपी कवित कट्वालले बताए।

घटनाको नालीबेली

घटना गत २१ असोजको हो। लेटाङको लक्ष्मी माध्यमिक विद्यालयको कक्षा ५ मा अध्ययनरत अंशु आफ्नी साथी युरिका महतरासँग स्कुलनजिकै खेलिरहेकी थिइन्। त्यही बेला अधिकारी आइपुग्छन्।

प्रहरी अनुसन्धानअनुसार पदमले सुरुमा अंशुकी साथी युरिकालाई पाँच रुपैयाँ दिएर ‘दिदी खोज्न जाऊ’ भन्दै त्यहाँबाट पठाउँछन् र एक्ली अंशुलाई ‘घाँस काट्न सहयोग गरिदेऊ’ भन्दै फकाउँछन्। छिमेकी हजुरबुवासमानका व्यक्तिले भनेकाले अंशु नाइँनास्ति गर्दिनन्।

योजनाबद्ध रूपमा पदमले अंशुलाई जंगलको मुखसम्म पैदलै आउन भन्छन्। आफू चाहिँ साइकलमा अघि बढ्छन्। प्रहरीका अनुसार जंगलको मुखमा पुगेपछि अंशुलाई पर्खिन्छन्। जब अंशु पुग्छिन्, आफ्नो साइकलको पछाडि राखेर लेटाङ-२ स्थित बेलबारी-चिसाङ साझेदारी वनको चार किलोमिटरभित्रको घना क्षेत्रतिर लाग्छन्। चिच्याउँदा र गुहार माग्दासमेत कसैले नसुन्ने ठाउँमा पुर्‍याएर १२ वर्षीया बालिकालाई बलात्कार गर्छन्।

तर, जघन्य अपराध गरेपछि पदममा डर पलायो। जीवितै छाडिदिए गाउँमा आफ्नो अपराधको पोल खुल्ने भय बढ्यो। यही डरले पदमलाई हत्यारा बनायो।

प्राविधिक विश्लेषण र ‘कम्युनिटी प्रोफाइलिङ’ गर्दै जाँदा घटनापछि गाउँ छाड्नेहरूको सूचीमा पदमको नाम शंकाको घेरामा पर्‍यो। झन्डै एक महिनापछि पदम जब घर फर्किए, प्रहरीले उनीप्रति निगरानी बढायो।

प्रहरीसँगको बयानमा पदमले स्वीकार गरेअनुसार उनले सुरुमा अंशुको घाँटी थिचे। त्यसपछि आफूसँग भएको हँसियाले घाँटी रेटे। हत्यापछि पदमले शव त्यहीँ झाडीमा फाले।

भोलिपल्ट २२ असोजमा अंशुका बुवा नवीन गौतमले छोरी हराएको भन्दै इलाका प्रहरी कार्यालय लेटाङमा निवेदन दिए। प्रहरी, आफन्त र स्थानीयले जंगलमा खोजबिन त गरे, तर केही पत्ता लागेन।

लेटाङ-२ मा रहेको अंशु गौतमको घर

घटनाको १८औँ दिन अर्थात् ७ कात्तिकमा जंगलमा घाँस काट्न गएका स्थानीय व्यक्तिहरूले सडेगलेको अवस्थामा एउटा शव फेला पारे। शवको कम्मरभन्दा तलको भाग र टाउको मात्र थियो।

शव यति क्षतविक्षत थियो कि पहिचान गर्न मुस्किल थियो। तर, घटनास्थलमा भेटिएको कालो हाफ पाइन्ट, चप्पल र कालो घडीका आधारमा गौतमले शव आफ्नै छोरीको भएको सनाखत गरे। डीएनए परीक्षणबाट पनि शव अंशुकै भएको पुष्टि भयो।

भारत भागेका थिए आरोपी

शव भेटिएसँगै पक्राउ पर्ने डरले पदम १९ कात्तिकमा रोजगारीको बहाना बनाएर भारतको मेघालयतर्फ भागे। छोरालाई ‘घर व्यवहार सम्हाल्नु, म कमाउन जान्छु’ भन्दै घरबाट निस्किएका थिए।

घटनाको अनुसन्धानका लागि प्रहरीले ‘अप्रेसन ज्याग’ नाम दिएर काम थालेको थियो। प्रहरीले ३०० भन्दा बढी व्यक्तिहरूसँग सोधपुछ गरी ५४ जनाको लिखित कागज गराएको थियो।

प्राविधिक विश्लेषण र ‘कम्युनिटी प्रोफाइलिङ’ गर्दै जाँदा घटनापछि गाउँ छाड्नेहरूको सूचीमा पदमको नाम शंकाको घेरामा पर्‍यो। झन्डै एक महिनापछि पदम जब घर फर्किए, प्रहरीले उनीप्रति निगरानी बढायो। अन्ततः १९ मंसिरमा लेटाङ-२ फडानीस्थित उनकै घरबाट प्रहरीले पक्राउ गर्‍यो।

सोधपुछका क्रममा प्रहरी हिरासतमा उनले पोल खुल्ने डरले हत्या गरेको स्विकारेका छन्। उनीविरुद्ध प्रहरीले ज्यानसम्बन्धी र जबर्जस्ती करणीसम्बन्धी कसुरमा मोरङ अदालतमा म्याद थप गरेर अनुसन्धान सुरु गरेको छ।

यो पनि…

त्यसदिन एक्लै पिङ खेल्न हिँडेकी अंशु घना जंगलमा टुक्रा-टुक्रा शवमा भेटिइन्