काठमाडौँ
००:००:००
२२ मंसिर २०८२, सोमबार

२१ मंसिर २०८२
अ+
अ-

बिर्तामोड। झापामा सम्पन्न अर्जुनधारा खुला महिला भलिबल प्रतियोगिताको च्याम्पियन नेपाल पुलिस क्लब बनेको छ।

आज (आइतबार) भएको फाइनलमा अर्को विभागीय टोली सशस्त्र प्रहरीको एपीएफ क्लबलाई हराउँदै पुलिसले उपाधि उचालेको हो।

प्रतिस्पर्धात्मक खेलमा पुलिसले एपीएफलाई ३-१ को सेटमा पराजित गर्दै उपाधि उचालेको हो। उपाधिसँगै पुलिसले नगद दुई लाख, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ।

उपविजेतामा सीमित एपीएफले नगद एक लाख, ट्रफी, मेडल र प्रमाणपत्रमा चित्त बुझायो।

पुलिसले फाइनल खेलमा पहिलो, तेस्रो र चौथो सेट जित्यो भने एपीएफले दोस्रो सेट जितेको थियो। पुलिसले पहिलो सेट २५-२३, तेस्रो सेट २५-१८ र चौथो सेट २५-२१ ले जितेको हो। एपीएफले दोस्रो सेटमा पुलिसलाई २५-२० ले हराएको थियो।

प्रतियोगिताकी सर्वोत्कृष्ट खेलाडी पुलिसकी आशिका क्षेत्री भइन्। उनले नगद १५ हजार र ट्रफी पाइन्। बेस्ट कोच पुलिसका रुपेश विष्ट भए। उनले नगद १० हजार रुपैयाँ र ट्रफी पाए।

त्यस्तै बेस्ट स्पाइकर एपीएफकी सृष्टि खड्गी, बेस्ट ब्लकर पुलिसकी मनीषा चौधरी, बेस्ट सर्भर एपीएफकी जोस्ना महतो, बेस्ट सेटर पुलिसकी कमला पुन र बेस्ट लिबेरो एपीएफकी जमुना रसाइली भए। उनीहरुले नगद १० हजार रुपैयाँ र ट्रफी प्राप्त गरे।