काठमाडौँ
००:००:००
२१ मंसिर २०८२, आईतवार

२१ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। प्रधानमन्त्री सुशीला कार्कीले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निर्वाचनको वातावरण निर्माणका लागि आफ्नो ठाउँबाट भूमिका खेलिदिन आग्रह गरेकी छन्।

सिंहदरबस्थित प्रधानमन्त्री कार्यालयमा आइतबार कार्की र भण्डारीबीच भेट भएको हो। भेटमा प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रण र आगामी २१ फागुनका लागि निर्धारित निर्वाचनको तयारीलाई समान प्राथमिकताका साथ सरकारले काम गरिरहेकाले यसमा सकारात्मक भूमिकाका लागि आग्रह गरिन्।

गत २३ र २४ भदौ भएको जेन-जी प्रदर्शनपछि उत्पन्न परिस्थितिका कारण आफूले जिम्मेवारी सम्हाल्नुपरेको उनको भनाइ छ। उनले सरकारले ती घटनाका विषयमा छानबिनलाई प्राथमिकतामा राखेर काम गरिरहेको पनि बताइन्।

पूर्वराष्ट्रपति भण्डारीले जेन-जी प्रदर्शनका क्रममा भएका घटनाका दोषीलाई कारबाहीको दायरामा ल्याउन सरकार सक्षम रहेको विश्वास व्यक्त गरिन्। उनले हालको परिस्थितिको निकासका लागि निर्वाचनभन्दा अर्को विकल्प नरहेकाले सबै पक्षले निर्वाचनलाई अर्जुनदृष्टि बनाएर अघि बढ्नुपर्ने धारणा राखिन्।

पूर्वराष्ट्रपति भण्डारीले प्रधानमन्त्री कार्कीको नेतृत्वमा सरकारले स्वच्छ, निष्पक्ष र भयरहित निर्वाचन सम्पन्न गर्न सक्नेमा आफू विश्वस्त रहेको बताएको प्रधानमन्त्री कार्कीको सचिवालयले जनाएको छ।