काठमाडौँ
००:००:००
२२ मंसिर २०८२, सोमबार

२१ मंसिर २०८२
अ+
अ-

काठमाडौँ। स्पेनको भ्यालेन्सिया म्याराथन २०२५ मा नेपालकी सन्तोषी श्रेष्ठले २ मिनेट २७ सेकेन्डले आफ्नै नाममा रहेको राष्ट्रिय कीर्तिमान भंग गर्दै नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी छन्। आज (आइतबार) बनेको यो कीर्तिमानसँगै उनले यसै वर्ष पछिल्लो आठ महिनाभित्र पाँचवटा राष्ट्रिय कीर्तिमान कायम गरेकी छन्।

स्पेनको भ्यालेन्सिया म्याराथन विश्वकै प्रमुख म्याराथनमध्येको एक हो। उनले २ घण्टा ४० मिनेट २३ सेकेन्डमा म्याराथन (४२.२ किमि) पूरा गर्दै गत वैशाखमा लन्डन म्याराथन (२:४२:५०)मा बनाएको राष्ट्रिय कीर्तिमानलाई थप सुधार गरेकी हुन्।

लन्डन म्याराथनमा सन्तोषीले आफ्नो डेब्यु बंगलादेशको बंगबन्धु म्याराथन (२:४६:२६) मा बनाएको राष्ट्रिय कीर्तिमान भंग गरेर नयाँ कीर्तिमान बनाएकी थिइन्।

यससँगै उनी विश्वभरका आठ हजार नौ सय २१ महिला एलिट रनरहरु सहभागिता रहेको यस म्याराथनमा ८०औं स्थान हासिल गरिन्।

त्यस्तै गत असोजमा सन्तोषीले दिल्ली हाफ म्याराथनमा राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। साथै यही कात्तिकमा साउथ एसियन सिनियर एथलेटिक्स च्याम्पियनसिप, राँचीमा पाँच हजार मिटर र १० हजार मिटर दौडमा पनि दुई कास्य पदकसहित राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्।

नेपाल यूके रनको पहल र प्रवर्द्धनमा सन्तोषी भ्यालेन्सिया म्याराथनमा सहभागी भएकी हुन्। ग्लोबल स्पोर्ट्स कम्युनिकेसन नेदरल्यान्डको फेलोसिपमा रहेकी सन्तोषीले भ्यालेन्सिया म्याराथनका लागि त्यहीँको अन्तर्राष्ट्रिय प्रशिक्षकको प्रशिक्षणमा थिइन्। साथै नेपालमा उनी मिसन २०२६ अन्तर्गत पनि प्रशिक्षणमा छिन्।

सन् २०१९ मा १३औं सागमा नेपालका लागि ऐतिहासिक रुपमा एथलेटिक्सतर्फ स्वर्ण पदक दिलाउने पहिलो नेपाली महिला खेलाडीका रुपमा इतिहास बनाएपछि सन्तोषी नेपाली एथलेटिक्समा गोल्डेन गर्लका उपमाले चिनिन्छन्।

मध्यम दूरीबाट अन्तर्राष्ट्रिय यात्रा सुरु गरेकी सन्तोषीले १३औं सागयता घरेलु मैदानमा सबै प्रतियोगितामा स्वर्ण पदक जित्दै आएकी छन्। नयाँ राष्ट्रिय कीर्तिमान बनाएपछि सन्तोषीले यो कीर्तिमान सम्पूर्ण कर्मठ तथा संघर्षशील महिलाप्रति समर्पित गरेकी छन्।

उनले महिला हिंसाविरुद्धको १६ दिने विश्वव्यापी अभियान तथा कार्यक्रम चलिरहेका बेला बनाएको कीर्तिमानलाई महिलाप्रति समर्पण गर्न चाहेकी हुन्।