काठमाडौँ
००:००:००
२२ मंसिर २०८२, सोमबार

२१ मंसिर २०८२
अ+
अ-

काठमाडौं। विशेष अदालतले नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई थुनामा पठाउने आदेश गरेको छ।

न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले आज (आइतबार) पुर्पक्षको सुनुवाइपछि थुनामा पठाउने आदेश गरेको हो। अधिकारीसँगै पक्राउ परेका मुरारी भण्डारीलाई भने पाँच लाख रुपैयाँ धरौटीमा छाड्ने आदेश गरेको विशेषका सहप्रवक्ता यज्ञराज रेग्मीले जानकारी दिए।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भक्तपुरको नलिनचोक हेलीपोर्टमा अनियमितता अभियोगमा १७ मंसिरमा अधिकारीसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो।

अख्तियारले प्रदीप अधिकारीसहित निर्देशक मुरारी भण्डारी, उपप्रबन्धक इन्जिनियर समृद्धि श्रेष्ठ, प्रबन्धक नवलविक्रम थापा, अभियन्त्र कन्सल्टिङ प्रालि र कम्पनी प्रमुख विजय थापा, निजी इन्जिनियर गुरुदत्त अधिकारीलाई प्रतिवादी बनाएको छ।

६ जनालाई जनही र कम्पनीलाई छुट्टाछुट्टै १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ बिगो तथा सजाय माग गरी मुद्दा दर्ता भएको हो। भक्तपुरको नलिनचोकमा रहेको हेलीपोर्ट निर्माणका क्रममा अनियमितता गरेको आरोप लागेको छ।

अख्तियारले पोखरा विमानस्थलको भ्रष्टाचार मुद्दामा पनि अधिकारीलाई अनियमितताको आरोपमा आज (आइतबार) मुद्दा दर्ता गरिसकेको छ।