काठमाडौँ
००:००:००
२२ मंसिर २०८२, सोमबार

२१ मंसिर २०८२
अ+
अ-

चितवन। स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री डा. सुधा शर्मा गौतमले सरकारले एसईई परीक्षापछिको नर्सिङ पढाइ (पीसीएल) लाई निरन्तरता दिने तयारी गरेको बताएकी छन्।

भरतपुर अस्पतालको ट्रमासेन्टर तथा कम्पाउन्डिङ फार्मेसीको आज (आइतबार) उद्घाटनपछि आयोजित कार्यक्रममा उनले अहिले अस्पतालमा आवश्यक स्टाफ नर्सको सङ्ख्या कम भएकाले पीसीएल नर्सिङ कार्यक्रम सञ्चालन गर्ने गरी तयारी थालिएको बताइन्।

उनले भनिन्, “ठूला मेडिकल कलेज र आफ्नै अस्पताल भएका कलेजहरूलाई एसईईपछिको नर्सिङ पढाइको अनुमति दिनेगरी काम गरिरहेका छौँ।” अध्यादेशमार्फत एउटा बुँदा थपेर भए पनि पढाइ सुरु गर्ने योजनामा सरकार र मन्त्रालय रहेको उनले उल्लेख गरिन्। अहिले मन्त्रालयले विषयगत रूपमा सातवटा विषयमा सुधार गर्ने गरी काम गरेको उनको भनाइ छ।

मन्त्री गौतमले सेवातर्फ मानसिक स्वास्थ्य, श्रमिक स्वास्थ्य, महिला स्वास्थ्य र बालबालिका स्वास्थ्यमा केन्द्रित गरिएको जानकारी पनि दिइन्। सुधारका क्षेत्रमा स्वास्थ्य बिमा सुधार, औषधिमा गुणस्तरीयता र खरिद प्रक्रियालाई सहजीकरण गर्दै भ्रष्टाचारमुक्त बनाउने गरी काम भइरहेको उनले बताइन्।

मन्त्री गौतमले भनिन्, “हामीले प्रतिवेदन तयार पारी कार्ययोजना बनाइरहेका छौँ। शीघ्र यसको नतिजा आउनेछ।” उनले आफ्नो सरकारी जागिरको सुरुआती अस्पताल भरतपुर अस्पतालमा भएको स्मरण गर्दै यहाँको प्रगतिले आफू सन्तुष्ट रहेकोसमेत बताइन्।

त्यसअवसरमा बागमती प्रदेशका पूर्वस्वास्थ्यमन्त्री एवं प्रदेशसभा सदस्य उत्तम जोशीले स्वास्थ्य क्षेत्रको सुधारका लागि नीतिगत सुधार गर्दै अघि बढ्नुपर्ने आवश्यकता औँल्याए। उनले भने, “सरकारी अस्पताल सुधार गर्नुछ भने नीतिगत रूपमै सुधार गर्न आवश्यक छ।”

भरतपुर अस्पताल विकास समिति अध्यक्ष राजु पौडेलको अध्यक्षतामा भएको कार्यक्रममा अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट प्रा.डा. कृष्णप्रसाद पौडेलले अस्पतालमा भएका सुविधा र अस्पतालको समस्याबारे जानकारी दिएका थिए।

ट्रमासेन्टर निर्माणका लागि ११ करोड रुपैयाँ खर्च भएको जनाउँदै समिति अध्यक्ष पौडेलले उपकरणका लागि दुई करोड ५० लाख रुपैयाँ खर्च भएको उल्लेख गरे। उनका अनुसार सेन्टर अहिले १५ शय्याबाट सुरु गरिएको छ। आगामी दिनमा ५० शय्या पुर्‍याउने लक्ष्य राखिएको छ।