तस्बिरमा पिस्कर हत्याकाण्ड
गाउँलेहरू सामूहिक रूपमा गाउँदै, नाच्दै सत्तालाई प्रश्न गर्नु तत्कालीन राज्यसत्ताका लागि अकल्पनीय थियो।
सिन्धुपाल्चोकमा रहेको मेरो गाउँ पिस्करले राजनीतिक संघर्षको इतिहास बोकेको छ। २०४० सालको माघे संक्रान्तिको दिन त्यहाँ एउटा क्रूर घटना भयो, जुन ‘पिस्कर हत्याकाण्ड’ भनेर चिनिन्छ। आफूले भोगेका अन्याय-अत्याचारलाई स्थानीय किसानहरूले सांस्कृतिक कार्यक्रममार्फत प्रतिरोध गर्दा राज्यको बर्बर दमन र ज्यादती खेप्नुपरेको थियो।
माघे संक्रान्तिको मेलामा विभिन्न गाउँबाट भेला भएका दुई हजारभन्दा बढी मानिसका बीच सांस्कृतिक कार्यक्रम प्रस्तुत गर्ने तयारी थियो। तर, त्यस कार्यक्रमलाई सांस्कृतिक उत्सवको बहानामा राजतन्त्रविरोधी गतिविधि भन्दै स्थानीय ठालु देवीजंग पाण्डेले दरबारका सचिवलाई रिपोर्ट गरेका थिए। उक्त कार्यक्रमलाई नेकपा (माले)का समर्थकको ‘उग्रवादी कार्यक्रम’ भन्ने आरोप लगाइएको थियो।

कृषि तालिम सत्रको क्रममा किसानहरूको समूह। तस्बिर स्रोत : जगतबहादुर थामी संग्रह
पञ्चायती व्यवस्थाको आडमा गाउँघरमा क्रूर आतंक मच्चाउने गरिएको थियो। शासक वर्गको अत्याचार र थिचोमिचोको विरोध गर्दै जनतामा राजनीतिक चेतना फैलाउने भएकाले पिस्कर गाउँमा जनवादी गीत मनोरञ्जनसँगै विद्रोहको आवाज बन्यो। सांस्कृतिक कार्यक्रमले उत्सवको माध्यमबाट जनतामा चेतनाको बीज रोपेको कुरा मलाई शक्तिशाली लाग्यो। संस्कृति त प्रतिरोधको माध्यम बन्नसक्ने रहेछ भन्ने लाग्यो।

पिस्कर हत्याकाण्डबारे त्यसबेलाका पत्रपत्रिकामा प्रकाशित समाचार
तर, निर्दलीय शासन हाँकिरहेका राजा र तिनका मानिसहरूलाई गीतसंगीत मन परेन।

लुकमान (काइँला) थामी जतनसाथ राखिएको कम्युनिस्ट विचार पुस्तक ‘द रेड बुक’ निकालेर हेर्छन्। यो पुस्तक उनलाई विसं. २०३० को दशकको सुरुआतमा नेकपा (माले)ले उपलब्ध गराएको थियो।

द रेड बुकको प्रतिलिपिमा लेखिएको छ- ‘सबै देशका मजदूरहरू हो, एकगठ होऊ!’
गाउँलेहरू सामूहिक रूपमा गाउँदै, नाच्दै सत्तालाई प्रश्न गर्नु तत्कालीन राज्यसत्ताका लागि अकल्पनीय थियो। त्यसैले माघे संक्रान्तिको दिन मिर्मिरेमै सांस्कृतिक कार्यक्रममा प्रहरी हस्तक्षेप भयो। बन्दुक चल्यो। निहत्था जनतालाई गोली बर्साइयो। मेला भर्ने र नाच्ने मैदान छिनभरमै रगताम्मे बन्यो। केहीको मृत्यु भयो, कैयौँ घाइते भए। ‘उग्रवादी’ वा ‘उग्रपन्थी’ को आरोपमा किसान तथा बालिकाहरूसमेत पक्राउ परे।

पिस्करको छिमेकी गाउँ टेकनपुरका कम्युनिस्ट सदस्यहरू जगतबहादुर बोहरा तथा कर्णाकुमारी बोहराको पोट्रेट चित्र। पिस्करमा भएको गोलीकाण्डमा जगतबहादुर गोली लागेर घाइते भएका थिए। उनलाई तत्कालै समातेर उपचार नगरी कारागार पठाइएको थियो। त्यसलगत्तै उनकी श्रीमती कर्णाकुमारी, छोरी सावित्री, छोरा कृष्णलाई पनि कारागारमा राखिएको थियो। तस्बिर स्रोत : सुशीला एवं तारा पन्त संग्रह
पिस्कर हत्याकाण्डबारे मैले सानैदेखि फाट्टफुट्ट सुन्दै आएको थिएँ। कसैले गोली चलेको, कसैले जंगल र गुफामा बसेको अनि कसैले जेलजीवन भोगेको अनुभव सुनाउँथे। तर, यो घटना किन, कसरी, के के भयो भन्नेबारे बुझ्ने मौका मिलेन। मानिसहरूले सुनाएका अधुरा कथाबारे मेरो मनमा जिज्ञासा र प्रश्न थिए, जुन अनुत्तरित रहिरहे।

प्रहरीद्वारा गोली हानी पक्राउ गरिएकी पाल्कमाया थामी
यो कलामार्फत पिस्करको त्यो दर्दनाक ऐतिहासिक घटनालाई सम्बन्धित व्यक्तिहरूको माध्यमबाट फेरि सुन्न र बुझ्न खोजेको छु। त्यसबेला गाउँलेहरूले भोगेका पीडा र गरेका आँटलाई अभिलेखमा रहेका कागजपत्र, तस्बिर र आवाजको माध्यमबाट स्मरण गरेको छु।

सिन्धुपाल्चोक पिस्करस्थित थामी संग्रहालयमा राखिएको सहिद वीरबहादुर थामीको सालिक

– मनोज बोहरा सिन्धुपाल्चोक पिस्करका दृश्य कथाकार हुन्। उनी मानिस र ठाउँलाई प्रभाव पार्ने ऐतिहासिक, राजनीतिक र सामाजिक विषयमा रुचि राख्छन्। उनको यो कला काठमाडौँमा जारी ‘फोटो काठमाडौँ’ महोत्सवअन्तर्गत बबरमहलस्थित नेपाल कला परिषद्मा प्रदर्शनीमा राखिएको छ। ‘भूमिले समेटेका सबैथोक’ विषयको यो प्रदर्शनी १४ डिसेम्बरसम्म चल्नेछ।