काठमाडौँ
००:००:००
२२ मंसिर २०८२, सोमबार

२२ मंसिर २०८२
अ+
अ-

काठमाडौं। रोटरी इन्टरनेसनलको ‘युनाइट फर गुड’ अभियानअन्तर्गत रोटरी क्लब अफ हेटौंडाको पहल तथा समन्वयमा रोटरी डिस्ट्रिक ३२९२ का १६२ क्लबमध्ये १५ वटा क्लबले पाँचदिने निःशुल्क आँखा जाँच तथा जर्सरी क्याम्प’ गरेका छन्।

१७ देखि २१ मंसिरसम्म सञ्चालन भएको पाँचदिने कार्यक्रममा स्क्रिनिङदेखि मोतियाविन्दु शल्यक्रियासम्मका सेवा प्रदान गरिएको थियो। पहिलो तीन दिन चलाएको स्क्रिनिङ अभियानमा इन्द्रसरोवर क्षेत्रका पाँच स्थानमार्फत ३५० जनाको विस्तृत आँखा परीक्षण गरिएको छ। परीक्षणका क्रममा ६७ जनामा मोतियाविन्दुको समस्या पत्ता लागेको थियो, जसमा ३ जनामा दुवै आँखामा समस्या थियो।

२० मंसिरमा कुलेखानी ३‚ खानीखेत स्वास्थ्य चौकीमा आयोजित शल्यक्रिया शिविरमा ५९ जनाको निःशुल्क मोतियाविन्दु शल्यक्रिया गरिएको थियो। तीमध्ये दुवै आँखामा समस्या भएका तीन जनाको सफल अपरेसन सामुदायिक आँखा अस्पताल हेटौंडाको नेत्र विशेषज्ञ डा. सुनील थकाली नेतृत्वको प्राविधिक टोलीले गरेको थियो।

शिविरले इन्द्रसरोवर गाउँपालिकाका ज्येष्ठ नागरिकल‍ाई गुमेको दृष्टि फर्किएको थियो। भालुखर्क २ का ८१ वर्षीय सानुकान्छा स्याङ्तान, जो दुवै आँखामा मोतियाविन्दुका कारण दुई वर्षदेखि हिँडडुल गर्नसमेत असमर्थ थिए। शल्यक्रियापछि निकै उत्साहित देखिए। “आँखा देख्न छाडिसकेको थिएँ, अहिले फेरि जीवन फर्किएको जस्तै भयो,” उनले भने।

सामुदायिक आँखा अस्पतालका प्रशासकीय अधिकृत सुधीर श्रेष्ठका अनुसार यो अभियानमा रोटरी क्लब अफ हेटौंडा, सामुदायिक आँखा अस्पताल हेटौंडा, इन्द्रसरोवर गाउँपालिका र रोटरी डिस्ट्रिक ३२९२ का १५ क्लबको सहकार्य थियो।

शिविरले मकवानपुरको इन्द्रसरोवर क्षेत्रका बासिन्दालाई निःशुल्क तथा गुणस्तरीय आँखा सेवा उपलब्ध गराएको आयोजकको भनाइ छ।