काठमाडौँ
००:००:००
२२ मंसिर २०८२, सोमबार

२२ मंसिर २०८२
अ+
अ-

विराटनगर। वृद्ध सासु-ससुरालाई विष मिसाएर खाना खुवाएको आरोपमा प्रहरीले बुहारीलाई पक्राउ गरेको छ। विषमिश्रित खाना खाएकामध्ये सासुको मृत्यु भइसकेको छ।

प्रहरीका अनुसार पक्राउ पर्नेमा बेलबारी नगरपालिका-२ की ३२ सुनिता कार्की पक्राउ परेकी छिन्। उनलाई प्रहरीले आतइबार पक्राउ गरी कर्तव्य ज्यानमुद्दामा अनुसन्धान थालिएको मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कटवालले बताए।  पक्राउ पर्ने सुनिता वृद्धवृद्धाकी भतिजी बुहारी हुन्। घटना शनिबारको हो।

दिउँसो ७० वर्षीय भक्तबहादुर राई घरनजिकको खोल्सामा बेहोस अवस्थामा भेटिएका थिए। स्थानीयले उद्धार गरेर घरमा ल्याउँदा उनकी पत्नी ७७ वर्षीया इन्द्रमाया राईसमेत बेहोस अवस्थामा ढलिरहेकी थिइन्।

“घर वरपर हेर्दा खोरमा रहेका ३ वटा कुखुरासमेत मरिरहेको अवस्थामा भेटिएका थिए,” कटवालले भने। कटवालका अनुसार बिहान ८ बजे खाना खुवाएर कार्की फरार भएकी थिइन्।

बेहोस भेटिएका वृद्ध दम्पतीलाई विराटनगरको नोबेल शिक्षण अस्पतालमा भर्ना गरिएको थियो। इन्द्रमायाको राति १०:४० बजे मृत्यु भएको थियो भक्तबहादुरको अवस्था भने गम्भीर छ।

विषादीको बट्टा अँगेनोमा हालेर जलाइएकोले खानामा कुन विष मिसाइएको हो भन्ने खुलेको छैन। “वृद्ध दम्पतीले आफूले खाएर रहेको बाँकी खाना कुखुरालाई खुवाएका थिए,” कटवालले भने।

प्रहरीका अनुसार भक्तबहादुर राई र इन्द्रमाया राईका आफ्ना सन्तान छैनन्। वृद्ध दम्पतीसँग भतिजा प्रशान राई र श्रीमती सुनीता कार्की बस्दै आएका थिए। प्रशान घरबाहिर रहेका बेला सुनीताले भने वृद्ध सासू-ससुरालाई खानामा विष मिसाएर खुवाएको पत्ता लागेको कटवालले बताए।

प्रहरीका अनुसार सुनिताले विष मिसाएर सासू-ससुरालाई खाना किन खुवाइन् भन्ने खुलेको छैन।