काठमाडौँ
००:००:००
२३ मंसिर २०८२, मंगलवार

२२ मंसिर २०८२
अ+
अ-

काठमाडौं। नेकपा एमालेको ११औँ महाधिवेशन नजिकिँदै गर्दा प्रगतिशील इन्जिनियर एसोसिएसन नेपाल (पिन) का अध्यक्ष भेषराज थापाले आफ्नो उम्मेदवारी औपचारिक रूपमा घोषणा गरेका छन्। स्वच्छ, पेसागत र विकासमुखी राजनीति संस्थागत गर्न युवा पुस्ताको निर्णायक भूमिका आवश्यक रहेको उनको जोड छ।

थापाले दुई दशकभन्दा बढी समय नेपालको विकास, पूर्वाधार निर्माण र नीति निर्माणमा योगदान दिँदै आएका छन्। उनी सिँचाइ, जलस्रोत, जलविद्युत्, विपद् जोखिम व्यवस्थापन, पूर्वाधार योजना तथा नीतिको डिजाइन, निर्माण र सुपरिवेक्षणमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन्। बहुपक्षीय संस्था, दातृ निकाय र सरकारी परियोजनासँगको सहकार्यमा उनी संलग्न रहेको अनुभव छ।

२०५० देखि नै वाम राजनीतिमा सक्रिय उनले टेक्निकल स्टुडेन्ट्स एसोसिएसन नेपाल (सान) तथा अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) मा नेतृत्व तहमा रहेर काम गरिसकेका छन्। महाधिवेशनमा उम्मेदवारी घोषणा गर्दै थापाले देशलाई इमानदार, दूरदर्शी र उत्तरदायी नेतृत्वको आवश्यकता थप बढेको बताए। “राजनीतिमा अब इमानदारी, पारदर्शिता र विकास-प्रेरित सोचको टड्कारो खाँचो छ। इन्जिनियर, चिकित्सक, अर्थशास्त्रीलगायत प्राविधिक क्षेत्रका युवा पनि अब अगाडि बढेर सुशासन, दिगो विकास र समृद्ध राष्ट्र निर्माणमा नेतृत्व लिनुपर्ने समय आएको छ,” उनले भने।

२०७७ सालमा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नाष्ट) बाट ‘युवा वैज्ञानिक पुरस्कार’ले सम्मानित थापा पेसागत क्षेत्रमा प्रतिस्पर्धी तथा बौद्धिक व्यक्तिका रूपमा चिनिन्छन्। एमालेको ११औँ महाधिवेशनले युवा नेतृत्व, नीति आधुनिकीकरण र पेसागत सहभागितामा जोड दिने अपेक्षा गरिएको छ।