काठमाडौं। संयुक्त अरब इमिरेट्स (यूएई) को दुबईमा मंसिर २१ देखि २८ गतेसम्म सञ्चालन हुने एसियन युथ पारा गेम्समा नेपालकी पारा तेक्वान्दो खेलाडी रेनु तामाङले प्रतिस्पर्धा गर्ने भएकी छन् ।
राष्ट्रिय खेलकुद परिषद्बाट सञ्चालित महत्वकांक्षी मिसन–२०२६ को विशेष प्रशिक्षणमा रहेकी रेनुले के–४४ विधाको ४७ केजीमुनिको तौल समूहमा नेपालको चुनौती प्रस्तुत गर्ने छिन् । प्रशिक्षकमा अन्तर्राष्ट्रिय लेभल टु प्रशिक्षक कविराज नेगी लामा सहभागी हुने छन् । नेपाली टोली सोमबार राति दुबई प्रस्थान गर्ने छ । उनले मंसिर २६ गते शुक्रबार प्रतिस्पर्धा गर्ने छिन् ।
नेपाली टोलीलाई नेपाल तेक्वान्दो संघका उपाध्यक्ष एवं राष्ट्रिय खेलकुद परिषद्का कार्यकारी समितिका सदस्य भानबहादुर चन्दलगायत संघका पदाधिकारीले बिदाई गरेका थिए । कार्यक्रममा संघका महासचिव हेमन्त डाँगी, केन्द्रीय सदस्य प्रेम भण्डारी, सुरेश मानन्धर, वरिष्ठ तेक्वान्दो प्रशिक्षक सुमन घलेलगायतको उपस्थिति रहेको थियो ।
रेनुले यसअघि मलेसियामा सम्पन्न भएको १०औं एशियाली पारा तेक्वान्दो प्रतियोगितामा सहभागिता जनाएकी थिइन् । उनले केही समय अघि सम्पन्न १३औं कोरियन एम्बेस्डर अन्तर्राष्ट्रिय तेक्वान्दो च्याम्पियनसिपमा स्वर्ण पदक जितेकी थिइन् ।
पारालिम्पिकको इतिहासमा नेपाललाई ऐतिहासिक पदक दिलाउन सफल प्रशिक्षक नेगीको प्रशिक्षणमा नेपालले ३ स्वर्ण, २ रजत र ७ कांस्यसहित १२ अन्तर्राष्ट्रिय पदक जितेको छ । उनकै प्रशिक्षणमा सन् २०२१ बहराइनमा भएको एसियन युथ पारा गेम्समा पारालिम्पियन खेलाडी पलेशा गोर्वधनले स्वर्ण पदक, सिर्जना घिसिङले रजत र विशाल गर्बुजाले कांस्य पदक जितेका थिए ।