काठमाडौं। जापानको उत्तर–पूर्वी क्षेत्रमा सोमबार राति गएको ७.६ म्याग्निच्युडको शक्तिशाली भूकम्पमा परी कम्तीमा ३० जना घाइते भएका छन्। भूकम्पका कारण हजारौँ मानिसले आफ्नो घर छाड्नुपरेको छ।
जापानको मौसम विज्ञान एजेन्सीका अनुसार भूकम्प स्थानीय समयअनुसार राति ११ बजेर १५ मिनेटमा गएको थियो। यसको केन्द्र आओमोरी क्षेत्रको तटभन्दा करिब ८० किलोमिटर टाढा जमिनभन्दा ५० किलोमिटर गहिराइमा रहेको थियो।
भूकम्पपछि सुनामीको चेतावनी जारी गरिएको थियो, तर अहिले उक्त चेतावनी हटाइएको छ। यद्यपि तटमा ७० सेन्टिमिटर उँचो लहर देखिएको छ। केही रेल सेवा रोकिएका छन् भने हजारौंको घरमा बिजुली गएको छ।
स्थानीय सञ्चार माध्यमका अनुसार अधिकारीहरूले थप शक्तिशाली भूकम्प आउन सक्ने चेतावनी दिएका छन्। यस कारण मानिसहरूलाई कम्तीमा एक हप्तासम्म उच्च सतर्कतामा रहन भनिएको छ।