काठमाडौँ। विशेष अदालतमा नागरिक उड्डयन प्राधिकरण (क्यान) का महानिर्देशक प्रदीप अधिकारीलाई पोखरा विमानस्थलको अनियमितता जोडिएको मुद्दामा पाँच लाख रुपैयाँ धरौटी माग गरेको छ। अधिकारीलाई नलिनचोक हेलीपोर्ट निर्माणमा भएको भ्रष्टाचारसम्बन्धी मुद्दामा भने अदालतले यसअघि थुनामा पठाउने आदेश गरेका कारण उनी छुट्न भने सकेनन्।
विशेषका अध्यक्ष एवं न्यायाधीश सुदर्शनदेव भट्ट र न्यायाधीश डिल्लीरत्न श्रेष्ठको इजलासले थुनामुक्त गर्न आदेश गरेको हो।
अधिकारीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा विमानस्थलको भ्रष्टाचार मुद्दामा पनि अनियमितताको आरोपमा आठ अर्ब रुपैयाँ बढी बिगो माग गर्दै आइतबार मुद्दा दर्ता गरेको थियो। त्यसै मुद्दामा आज (मंगलबार) थुनछेक बहसपछि अधिकारीलाई धरौटीमा छाड्ने आदेश भएको विशेष अदालतका प्रवक्ता कृष्णशरण लामिछानेले बताए।
अख्तियारले भक्तपुरको नलिनचोक हेलिपोर्टमा अनियमितता अभियोगमा १७ मंसिरमा अधिकारीसहित सात जनाविरुद्ध भ्रष्टाचार मुद्दा दर्ता गरेको थियो। त्यसै मुद्दामा न्यायाधीशहरू हेमन्त रावल, डिल्लीरत्न श्रेष्ठ र विदुर कोइरालाको संयुक्त इजलासले आइतबार पुर्पक्षको सुनुवाइपछि थुनामा पठाउने आदेश गरेको थियो।
अख्तियारले प्रदीप अधिकारीसहित निर्देशक मुरारी भण्डारी, उपप्रबन्धक इन्जिनियर समृद्धि श्रेष्ठ, प्रबन्धक नवलविक्रम थापा, अभियन्त्र कन्सल्टिङ प्रालि र कम्पनी प्रमुख विजय थापा, निजी इन्जिनियर गुरुदत्त अधिकारीलाई प्रतिवादी बनाएको छ।
६ जनालाई जनही र कम्पनीलाई छुट्टाछुट्टै १३ करोड ५७ लाख ४६ हजार २१३ रुपैयाँ बिगो तथा सजाय माग गरी मुद्दा दर्ता भएको हो। भक्तपुरको नलिनचोकमा रहेको हेलीपोर्ट निर्माणका क्रममा अनियमितता गरेको अधिकारीमाथि आरोप लागेको छ।
त्यो आदेश बदर र थुनामुक्त आदेश माग गर्न पाउने उनको अधिकार बाँकी नै छ। विशेषको आदेश बदरको माग गर्दै उनी सर्वोच्च अदालत जाँदै छन्।
यो पनि…
क्यानका महानिर्देशक अधिकारीसहितको हिरासत बसाइ लम्बियो
क्यानका महानिर्देशक अधिकारीलाई थुनामा पठाउने विशेषको आदेश
विशेष अदालत पुगे क्यानका महानिर्देशक प्रदीप अधिकारी [तस्बिरसहित]