प्रविधि
चितवनका नौ जना चेपाङ विद्यार्थीले बनाएको यो भू-उपग्रह भोलि बिहान ८:४५ मा अन्तरिक्षमा प्रक्षेपण गरिँदै
चितवनका चेपाङ विद्यार्थीले बनाएको नानो भू-उपग्रह भोलि (बुधबार) बिहान चीनबाट प्रक्षेपण हुने भएको छ।
नेपाली समयअनुसार बिहान ८ बजेर ४५ मिनेटमा प्रक्षेपण हुने यो भू-उपग्रह चितवन, खैरहनीस्थित नवोदय र अन्त्योदय जनजाति आवासीय विद्यालयका चेपाङ बालबालिकाले निर्माण गरेका हुन्।
स्लिपर्स टु स्याट परियोजनाअन्तर्गत निर्माण गरिएको यो भू-उपग्रह चीनको इनर मंगोलियास्थित जिउक्वान स्याटेलाइट लन्च सेन्टरबाट काइनेटिका वान रकेटबाट प्रक्षेपण गरिने परियोजना प्रबन्धक ऋषभ अधिकारी बताउँछन्।
“मौसम सामान्य रहे भोलि बिहान प्रक्षेपण गरिने जानकारी आएको छ,” अधिकारी भन्छन्, “प्रक्षेपण भएको ८०० देखि ९०० सेकेन्डमा यो भू-उपग्रहलाई अन्तरिक्षमा छाडिनेछ।” यो क्युबस्याट भू-उपग्रहको लम्बाइ, चौडाइ र उचाइ सबै १० सेन्टिमिटर रहेको छ।

नेपाली विद्यार्थीले बनाएको स्याटेलाइट
स्लिपर टु स्याट परियोजना अमेरिकाको एमोच्योर रेडियो डिजिटल कम्युनिकेसन्सको आर्थिक सहयोगमा सञ्चालनमा आएको हो।
चेपाङ विद्यार्थीलाई भू-उपग्रह बनाउन नेपाल अन्तरिक्ष प्रतिष्ठानले तालिम दिएको थियो। यसरी तालिमप्राप्त विद्यार्थीहरू अमृत चेपाङ, सुहान प्रजा, रणसिङ प्रजा, बिनामाया प्रजा, एलिसा चेपाङ, शीतल प्रजा, सजिना चेपाङ, शिवकुमार चेपाङ र सुमिना तितुङले १६ महिना लगाएर भू-उपग्रह बनाएका थिए।

बुटक्याम्पमा विद्यार्थी
यो भू-उपग्रह गत चैतको अन्तिम साता काठमाडौँमा भएको स्पेस कन्फरेन्समा सार्वजनिक गरिएको थियो। भू-उपग्रह निर्माणदेखि प्रक्षेपणसम्म तीन करोड रुपैयाँ खर्च भएको परियोजनाका प्रबन्धक अधिकारी बताउँछन्।
नेपालीनिर्मित यो भू-उपग्रहको भारतको ब्याङ्लोरस्थित अनन्त टेक्नोलोजीमा भाइब्रेसन प्रोफाइल र मर्थल भ्याकुम साइकलहरूको परीक्षण अक्टोबर २०२४ मा गरिएको थियो। भाइब्रेसन प्रोफाइलमा अन्तरिक्षमा प्रक्षेपण हुँदा रकेटभित्र उत्पन्न कम्पन भू-उपग्रहले थेग्न सक्छ/सक्दैन भनेर हेरिएको थियो भने थर्मल भ्याकुम साइकलमा अन्तरिक्षजस्तै वातावरणमा भू-उपग्रहले काम गर्न सक्छ कि सक्दैन भनेर हेरिएको थियो। यी दुवैमा सफल भएपछि यसलाई गत सेप्टेम्बरमा बेइजिङमा एक्सेप्टेन्स टेस्टिङ गरिएको थियो।

चिनियाँ प्राविधिकलाई स्याटेलाइट हस्तान्तरण गर्दै नेपाली टोली
प्रतिष्ठानका संस्थापक आभास मास्के यो भू-उपग्रह ‘नेपाल स्याटवान’ कै निरन्तरता भएको बताउँछन्। “अहिले सोलार साइकल बढी हुने समय भएकाले पहिलेभन्दा १५० किलोमिटर टाढा पृथ्वीबाट ५५० किलोमिटरमाथि यो भू-उपग्रह राख्न खोजेका हौँ,” उनी भन्छन्।
मास्के र हरिराम श्रेष्ठले अध्ययनका क्रममा जापानमा निर्माण गरेको नेपाल स्याटवान भूउपग्रह सन् २०१९ मा अमेरिकाबाट प्रक्षेपण गरिएको थियो। पृथ्वीबाट ४०० किलोमिटरमाथि अन्तरिक्षमा राखिएको यो भू-उपग्रह २८ महिना सञ्चालनमा आएको थियो। प्रक्षेपण हुन लागेको यो भू-उपग्रहलाई खुमलटारस्थित नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)को परिसरमा रहेको ग्राउन्ड स्टेसनमार्फत निगरानी गरिनेछ।

स्याटेलाइट निर्माणको क्रममा
नेपाल अन्तरिक्ष प्रतिष्ठानकै सहयोगमा काभ्रेका विद्यार्थीले निर्माण गरेको मुनाल भू-उपग्रह पनि प्रक्षेपणको तयारीमा छ। तर, भारत सरकारको सहयोगमा भारतमै प्रक्षेपण गर्न खोजिए पनि समय भने पटक पटक सर्दै आएको छ।