आवरण
स्वदेशमै उत्पादन बढे पनि चार महिनामै भित्रियो १० अर्बको
बाँकेको राप्ती सोनारी गाउँपालिकाका सिपाहीलाल पाण्डेले यो वर्ष ६० क्विन्टल धान उत्पादन गरेका थिए। त्यसमध्ये ४० क्विन्टल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडलाई बेचे। बाँकी भने स्थानीय व्यापारीलाई सस्तैमा दिए।
सरकारले यस वर्ष मोटा धानको मूल्य प्रतिक्विन्टल तीन हजार ४६३ रुपैयाँ ८१ पैसा र मध्यम धानको मूल्य तीन हजार ६२८ रुपैयाँ ३३ पैसा तोकेको छ। तर, किसानले व्यापारीलाई झन्डै एक हजार रुपैयाँ कम अर्थात् २५ सय र २६ सयका दरले धान बिक्री गर्न बाध्य हुनुपरेको राप्ती सुनारीकै अर्का किसान महादेव पाण्डे बताउँछन्।
पछिल्ला केही वर्षको तथ्यांक हेर्दा नेपालमा धान खेती गर्ने क्षेत्र घटिरहेको तर उत्पादन बढिरहेको देखिन्छ। उत्पादन बढे पनि आयात भने घटेको छैन।
गत वर्ष नेपालमा ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन भएको थियो। यस वर्ष पनि सोही परिमाणमा धान उत्पादन हुने अनुमान कृषि तथा पशुपन्छी विकास मन्त्रालयको छ। तर, मन्त्रालयले अहिलेसम्म धान उत्पादनको तथ्यांक संकलन गरिसकेको छैन। देशभरबाट तथ्यांक प्राप्त भइरहेको र सबै तथ्यांक एकीकृत गरेर विश्लेषण गर्न अझै केही साता लाग्ने मन्त्रालयका वरिष्ठ कृषि अर्थविज्ञ महानन्द जोशी बताउँछन्।
गत वर्षकै परिमाणमा धान उत्पादन भए पनि सरकारी स्वामित्वको खाद्य व्यवस्था तथा व्यापार कम्पनीले खरिद गर्ने भनेको चाहिँ एक लाख ८० हजार मेट्रिक टन मात्रै हो। किसानले उपभोग गरेर बाँकी रहेको धान स्थानीय व्यापारीले नै खरिद गर्ने हो।

धान काटिरहेका धनुषाका किसान। तस्बिर : वीरेन्द्र रमण
स्वदेशमै किसानले धानको उचित मूल्य नपाइरहेको यही बेला देशमा १० अर्ब रुपैयाँभन्दा बढी मूल्यको धान र चामल आयात गरिएको छ। भन्सार विभागको तथ्यांकअनुसार चालु आर्थिक वर्षको साउनदेखि कात्तिकसम्म धान, चामल र कनिकासमेत गरेर १० अर्ब १८ करोड ४८ लाख रुपैयाँ बराबरको खाद्यान्न आयात भएको छ। आव २०८१/८२ मा धान र चामल गरेर ४० अर्ब १८ करोड ९७ लाख १६ हजार रुपैयाँ बराबरको आयात भएको भन्सार विभागको तथ्यांक छ।
आव २०८०/८१ का केही महिना भारतले नेपालमा धान-चामल निर्यातमा रोक लगाएको थियो। त्यो वर्ष २२ अर्ब २३ करोड नौ लाख ४३ हजार रुपैयाँ बराबरको धान-चामल आयात भएको सरकारी तथ्यांक छ। त्यसबेला पनि किसानले सबैजसो धान व्यापारीलाई नै बिक्री गरेका थिए। खाद्य कम्पनीले बल्लतल्ल ४० हजार क्विन्टल धान पाएको थियो।
पछिल्ला केही वर्षको तथ्यांक हेर्दा नेपालमा धान खेती गर्ने क्षेत्र घटिरहेको तर उत्पादन बढिरहेको देखिन्छ। उत्पादन बढे पनि आयात भने घटेको छैन।
गत आव २०८१/८२ मा ५९ लाख ५५ हजार मेट्रिक टन धान उत्पादन भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयको तथ्यांक छ। अघिल्लो आव २०८०/८१ मा १४ लाख ३८ हजार ९८९ हेक्टर क्षेत्रफलमा गरिएको धान खेतीबाट ५७ लाख २४ हजार २३४ मेट्रिक टन धान उत्पादन भएको थियो।
किसानले धानको उचित मूल्य नपाउनुमा भारतको सस्तो निर्यात कारक बनिरहेको छ। भारतले हरेक वर्ष पुरानो चामल लिलामीमा बिक्री गर्छ र नयाँ धान सञ्चय गर्छ।
खेती लगाउने क्षेत्रफल घट्दा पनि उत्पादन बढ्नुको मुख्य कारण रासायनिक मल, औषधि र हाइब्रिड बीउको प्रयोग नै हो। धेरै उत्पादन हुने धानको बीउको अत्यधिक प्रयोगले रैथाने प्रजाति मासिँदै गएका छन्।
धान नेपालको प्रमुख बाली हो। धानको उत्पादनले नेपालको कुल गार्हस्थ्य उत्पादन (जीडीपी)लाई नै प्रभाव पार्छ। जीडीपीमा धानको योगदान करिब १५ प्रतिशत छ। जीडीपीमा समग्र कृषि क्षेत्रको योगदान करिब २४ प्रतिशत छ।

तनहुँको व्यास नगरपालिका-५, साँगेफाँटस्थित बरबोटेको खेतमा धान भित्र्याउँदै किसान। तस्बिर : सागर गिरी/रासस
५० वर्षअघिको अवस्था नियाल्ने हो भने नेपालले धान आयात होइन, निर्यात गर्ने गरेको देखिन्छ। २०३० सालको दशकमा नेपालको चामल दक्षिण एसियाली मुलुकसहित दक्षिण कोरिया, मलेसिया, चीनलगायत देशमा पुगेको भेटिन्छ। पञ्चायत रजत जयन्तीका अवसरमा २०४३ सालमा प्रकाशित पञ्चायत स्मारिका का अनुसार आव २०३०/३१ मा नेपालले दुई करोड ९७ लाख रुपैयाँ बराबरको र आव २०३५/३६ मा २४ करोड ३९ लाख रुपैयाँको चामल निर्यात गरेको तथ्यांक छ। नेपालमा उत्पादन हुने धानको परिमाण बराबर नै धान-चामल आयात हुने गरेको छ।
नेपालको तराई क्षेत्रमा बढी मात्रामा धान उत्पादन हुने र बिक्रीका लागि पनि त्यहीँको धान बजार पुग्ने गरेको छ। मध्यपहाडमा उत्पादित धानमध्ये धेरै किसानले नै खपत गर्ने गरेका छन्।
किसान महादेव पाण्डे सरकारले राम्रो मूल्य दिए पनि थोरै मात्र किन्ने गरेका कारण धेरै धान व्यापारीलाई नै बिक्री गर्नुपरिरहेको बताउँछन्। “सरकारले दिएको मूल्य त राम्रो छ, तर खाद्य कम्पनीले तोकेको मापदण्डले किसानलाई समस्या परेको छ,” पाण्डे भन्छन्, “मध्यम धानलाई पनि मोटा धानको मूल्यमा बिक्री गर्न बाध्य हुनुपरेको छ।”

किसानले धानको उचित मूल्य नपाउनुमा भारतको सस्तो निर्यात कारक बनिरहेको छ। भारतले हरेक वर्ष पुरानो चामल लिलामीमा बिक्री गर्छ र नयाँ धान सञ्चय गर्छ। त्यसरी बिक्री गरिएको चामल नेपाली व्यापारीले खरिद गरेर ल्याउँछन्, जसको मूल्य नेपाली चामलभन्दा सस्तो पर्छ।
“अहिले पनि प्रतिक्विन्टल चार हजार रुपैयाँका दरले भारतबाट व्यापारीले चामल ल्याइरहेका छन्। नेपालमा धान नै तीन हजार ६२८ रुपैयाँ ३३ पैसामा किनिरहेका छौँ,” खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका नेपालगन्जस्थित कार्यालयका प्रमुख रामशरण लामिछाने भन्छन्, “भारतबाट सस्तोमा भित्रिएको चामलसँग यहाँ उत्पादित धानले प्रतिस्पर्धा गर्नै सक्दैन।”
मधेस प्रदेश कृषि उत्पादनका लागि उर्वर मानिन्छ, तर समयमै मल नपाइने, सिँचाइ अभावका कारण यहाँ पनि भारतीय चामलको खपत बढ्न थालेको छ।
भारतीय धान आयातले नेपाली किसान कसरी सस्तैमा धान बेच्न बाध्य हुन्छन् भन्ने बुझ्न बाँकेको यही उदाहरण पर्याप्त छ।
बाँकेमा यस वर्ष १५ लाख क्विन्टल धान फलेको अनुमान छ। तर, खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले किन्ने धान भनेको २० हजार क्विन्टल मात्र हो, जसका लागि प्रतिकिसान ४० क्विन्टलका दरले किन्ने गरी ६५५ जना किसानलाई कुपन दिएको छ। “हामीले ४० क्विन्टलको दरले ५०० जना किसानबाट मात्रै धान किन्ने हो। सबैले धान नल्याउलान् भनेर धेरै कुपन बाँडेका हौँ। सबैले ४० क्विन्टलका दरले धान ल्याए भने ५०० जनाको मात्रै धान किन्छौँ, बाँकीको पालो आउँदैन भनिदिएका छौँ,” लामिछाने भन्छन्, “हामीले आठ हजार क्विन्टल धान किनिसकेका छौँ।”

संखुवासभाको चैनपुर नगरपालिका–७ पञ्चेदोबाटोका किसानले धान काटेपछि दाइँ गर्नका लागि तयार पारिएको कुन्यु तथा पृष्ठभूमिमा मकालु हिमाल। तस्बिर : सुजन बज्राचार्य/रासस
देशभरबाट खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले भने ८० हजार ८३८ क्विन्टल धान किनिसकेको कम्पनीका खरिद प्रमुख अनन्त पौडेल बताउँछन्। भन्छन्, “कम्पनीले अब एक लाख क्विन्टल मात्रै धान खरिद गर्छ।”
मधेसमै बढ्दो आयात
मधेस प्रदेश कृषि उत्पादनका लागि उर्वर मानिन्छ, तर समयमै मल नपाइने, सिँचाइ अभावका कारण यहाँ पनि भारतीय चामलको खपत बढ्न थालेको छ।
मधेस प्रदेशमा पाँच लाख ४२ हजार ५८० हेक्टर खेतीयोग्य जमिन छ, जसमध्ये पाँच लाख दुई हजार २२४ हेक्टरमा खेती हुने गरेको छ। तीन लाख ६२ हजार ३४४ हेक्टरमा बर्खे धान र २० हजार ८३९ हेक्टरमा चैते धान लगाइने गरेको छ।
धनुषा, लक्ष्मीनियाँ गाउँपालिका-३ का कारी मण्डल जग्गा भाडामा लिएर खेती गरिरहेका छन्। तर, सीमापारि भारतमा जस्तो मल र सिँचाइमा सरकारी सुविधा उनीसँग छैन। धनुषाकै नगराईन नगरपालिकाका विपत साह भने नेपाली किसानले धानबाट राम्रो चामल बनाउन नसकेका कारण पनि चामल आयात बढेको बताउँछन्। “उताबाट राम्रो फिनिसिङ गरेको चामल आउँछ,” साह भन्छन्, “स्वादिलो हाम्रै चामल भए पनि बानी परेपछि भारतीय चामल नै पाक्न थालेको छ।”
कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख डा. रामचन्द्र यादव पनि यसमा सही थाप्छन्। उनको भनाइमा धानबाट चामल बनाउन धेरै मिहिनेत लाग्ने भएकाले चोरबाटोबाट नेपाली धान भारत पुग्ने र त्यहाँबाट किसानले चामल किनेर ल्याउने गरेको पनि पाइएको छ। “गाउँमा पहिलेजस्तो मजदुर पनि पाइन छाडेको छ, त्यसैले पनि किसानहरू धान उब्जाएर चामल आयात गर्न थालेका छन्,” उनी भन्छन्।
धनुषा, औरही गाउँपालिका-१ का किसान भागवत मण्डल आफूले खानेजति धान राखेर बाँकी बेच्ने गरेको कारण पनि पारिबाट आयात बढेको बताउँछन्। “चामल बनाउने मजदुर पनि हुँदैनन्, फेरि लामो समय चामल राख्दा बिग्रने डरले पनि बेचिदिन्छौँ,” उनी भन्छन्।

भारतीय कम्पनीका चामल
मधेस प्रदेशमा पाँच लाख ४२ हजार ५८० हेक्टर खेतीयोग्य जमिन छ, जसमध्ये पाँच लाख दुई हजार २२४ हेक्टरमा खेती हुने गरेको छ। तीन लाख ६२ हजार ३४४ हेक्टरमा बर्खे धान र २० हजार ८३९ हेक्टरमा चैते धान लगाइने गरेको छ।
प्रदेश भूमि व्यवस्था, कृषि, सहकारी मन्त्रालयका अनुसार बर्खे धानको उत्पादन एक लाख २७० मेट्रिक टन र उत्पादकत्व प्रतिहेक्टर ४.८१ मेट्रिक टन छ भने चैते धानको उत्पादन १२ लाख ३७ हजार ४०१.९ मेट्रिक टन र उत्पादकत्व प्रतिहेक्टर ३.४१ मेट्रिक टन छ।
– साथमा वीरेन्द्र रमण, जनकपुर