काठमाडौँ। नेपाल प्रिमियर लिग (एनपीएल) को पहिलो क्वालिफायरमा विराटनगर किंग्सले सुदूरपश्चिम रोयल्सविरुद्ध पहिला फिल्डिङ गर्ने भएको छ । त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा सुदूरपश्चिमविरुद्ध विराटनगरका कप्तान सन्दीप लामिछानेले टस जितेर फिल्डिङ गर्ने निर्णय लिए।
योसँगै सुदूरपश्चिम रोयल्सले पहिला ब्याटिङ गरिरहेको छ। लिग चरणमा सुदूरपश्चिमले ७ खेलमा ६ जित हासिल गरेको छ भने एक खेल विराटनगरसँग हारेको थियो । त्यस्तै विराटनगरले भने आफ्ना ७ खेलमा ५ खेलमा जित हासिल गरेको थियो र दुई खेलमा हार बेहोरेको थियो ।
यो खेलमा जित निकाल्ने टोली फाइनलमा प्रवेश गर्नेछ । एनपीएलको फाइनल २७ मंसिरमा हुनेछ । पराजित हुने टोली इलिमिनेटरको विजेता हुने टोलीसँग दोस्रो क्वालिफायर खेल्नेछ । इलिमिनेटरमा काठमाण्डु गोर्खाज र लुम्बिनी लायन्स खेल्नेछन् ।
पहिलो संस्करणको उपविजेतासमेत रहेको सुदूरपश्चिम अंक तालिकाको शीर्ष र विराटनगर दोस्रो स्थानमा रहँदै पहिलो क्वालिफायरमा पुगेका हुन् ।
टिम सुदूरपश्चिम रोयल्स : दीपेन्द्रसिंह ऐरी, आरिफ सेख, अविनाश बोहोरा, इशान पाण्डे, विनोद भण्डारी, हेमन्त धामी, मिलन बोहोरा, सेल्डन ज्याक्सन, स्कट कुग्लेन, मुख्तर अहमद र हरमित सिंह।
टिम विराटनगर किंग्स : सन्दीप लामिछाने‚ प्रतिश जीसी, लोकेश बम, बसिर अहमद, सूर्य तामाङ, नरेन भट्ट, नारायण जोशी, साम हिजलेट, फाफ डु प्लेसिस, मार्टिन गप्टिल र मर्चेन्ट डी लाङगे।