काठमाडौँ
००:००:००
२४ मंसिर २०८२, बुधबार

२३ मंसिर २०८२
अ+
अ-

काठमाडौं। प्रधानमन्त्री सुशीला कार्कीले पितृशोकमा रहेका पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठसँग भेट गरेकी छन्।

कुपन्डोलमा रहेको श्रेष्ठको निवासमा आज (मंगलबार) दिउँसो प्रधानमन्त्री पुगेकी हुन्।

प्रधानमन्त्रीका प्रेस संयोजक रामबहादुर रावलका अनुसार श्रेष्ठका बुबाको निधनमा कार्कीले निवासमै पुगेर समवेदना व्यक्त गरिन्।

श्रेष्ठका बुबा पूर्वन्यायाधीश कुलबहादुर श्रेष्ठको यही १६ मंसिरमा ९५ वर्षको उमेरमा नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको थियो ।

भेटका क्रममा श्रेष्ठसँग पारिवारिक र समसामयिक राजनीतिक कुराकानी पनि भएको रावलले जनाए। श्रेष्ठले आफूबारे बजारमा चलेको हल्ला भ्रम मात्र भएको भन्दै मुलुकमा चाँडो निर्वाचन गरेर लोकतान्त्रिक पद्धति बसाउन आवश्यक रहेको बताएका थिए।

रावलका अनुसार यसअघि प्रधानमन्त्री कार्कीले बुबाको शोकमा रहेका काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) शाहसँग पनि भेट गरेकी थिइन्।