काठमाडौँ। खराब ब्याटिङसँगै विराटनगर किंग्सले नेपाल प्रिमियर लिग (एनपीएल)मा सदूरपश्चिम रोयल्सलाई लगातार दोस्रोपल्ट फाइनलमा पुग्ने कीर्तिमान दिलाइदिएको छ।
त्रिवि क्रिकेट रंगशाला कीर्तिपुरमा मंगलबार भएको क्वालिफायर-१ मा सुदूरले लिग चरणमा बेहोरेको ६ विकेटको हारको बदला लिएको हो। यसपल्ट सुदूरपश्चिम ७८ रनले विजयी भयो। १५६ रनको लक्ष्य पछ्याएको विराटनगर १४.१ ओभरमा सबै विकेट गुमाउँदै ७७ रनमै समेटियो।
योसँगै सुदूरले उपाधिका लागि क्वालिफायर-२ को विजेतासँग खेल्नेछ। सुदूर पहिलो संस्करणको फाइनलमा जनकपुर बोल्ट्ससँग पराजित भएको थियो। विराटनगरले भने लुम्बिनी लायन्स र काठमान्डु गोर्खाजबीचको इलिमिनेटरको विजेतासँग खेल्नेछ।
विराटनगरका फाफ डु प्लेसिसबाहेक अन्यले राम्रो प्रदर्शन गर्न सकेनन्। २९ बल खेलेका उनले ३ चौका र १ छक्कासहित ३६ रन बनाए।
बसिर अहमद १२ रनमा आउट हुँदा विराटनगरलाई अन्य खेलाडीले निराश बनाए।
सुदूरका हर्मित सिंह, अविनाश बोहोरा र स्कट कुगलेइनले समान २ विकेट लिए। हेमन्त धामी र दीपेन्द्रसिंह ऐरीले समान १-१ विकेट राखे।
त्यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिला ब्याटिङ थालेको सुदूरले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १५५ रन बनाएको थियो।

सुदूरका विनोदले सर्वाधिक ६३ रन बनाए। ५२ बल खेलेका उनले ३ चौका र २ छक्का प्रहार गरे। जारी प्रतियोगितामा यो उनको दोस्रो अर्धशतक हो। यसअघि उनले लुम्बिनी लायन्सविरुद्ध पनि अर्धशतक बनाएका थिए।
सेल्डन ज्याक्सन २०, आरिफ सेख २०, हर्मित सिंह १४, इशान पाण्डे १३ र मुख्तर अहमेद १० रनमा आउट भए।
विराटनगरका मर्चेन्ट डे लिङ्गे र प्रतिश जीसीले समान २ विकेट लिए। सूर्य तामाङ र साम हेजलेटले समान १-१ विकेट राखे। कप्तान सन्दीप लामिछाने भने पहिलोपटक विकेटविहीन रहे।
