काठमाडौँ
००:००:००
२५ मंसिर २०८२, बिहीबार

२३ मंसिर २०८२
अ+
अ-

भुवनेश्वर। ओडिसाको आदिवासीबहुल मलकानगिरी जिल्लामा दुई समुदायबीच भएको हिंसाका कारण मंगलबार साँझ ६ बजेसम्मका लागि इन्टरनेट सेवा अवरुद्ध बनाइएको छ।

प्रहरीका अनुसार महिलाको वीभत्स शव फेला परेपछि दुई गाउँबीच तनाव उत्पन्न भएको हो। एमभी-२६ र राखेलगुडा गाउँबीच तनाव कायमै छ।

राखेलगुडा गाउँकी एक महिला गत साता बेपत्ता भएकी थिइन्। ४ डिसेम्बरमा उनको शव नजिकैको नदीको किनारमा फेला परेको थियो। कुकुरसहितको प्रहरी अनुसन्धान टोलीले महिलाको शवका बाँकी अंगहरु पनि खोजिरहेका छन्।

प्रहरीले महिलाको हत्या घटनामा एक अभियुक्तलाई पक्राउ गरेको छ।

स्थानीयहरूले परम्परागत हतियारसहित धेरै ठाउँमा विरोध प्रदर्शन गरेका छन्। प्रदर्शनकारीले केही घरहरूमा तोडफोड गर्दै आगजनी पनि गरेका छन्।

घटनाको गाम्भीर्यलाई ध्यानमा राख्दै डीजीपी योगेशबहादुर खुरानियाले घटनास्थलको निरीक्षण गरे। र त्यहाँको स्थितिको समीक्षा गर्दै घटनास्थलमा प्रहरी तैनाथ बढाइएको बीबीसी हिन्दीले समाचारमा उल्लेख गरेको छ।

ओडिसको गृह विभागले जारी गरेको आदेशमा भनिएको छ- असामाजिक तत्त्वहरूले परिस्थितिको फाइदा उठाउन र गलत सूचना फैलाउनबाट रोक्न इन्टरनेट सेवा अवरुद्ध गरिएका हुन्।

मलकानगिरीका प्रहरी अधीक्षक (एसपी) विनोद पाटिलले बीबीसी हिन्दीलाई जनाएअनुसार यहाँको स्थिति नियन्त्रणमै छ। इन्टरनेट सेवाहरू बन्द छन्। आवश्यक परे यसलाई निरन्तरता दिइनेछ। उनका अनुसार घटनाबारे उच्चस्तरीय अनुसन्धान भइरहेको छ।